धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका-१०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार धनगढी उपमहानगरपालिका-१०, चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई फूलबारीबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज बिहान १० बजे पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त रानालाई सार्वजनिक गर्ने तयारी गरेको छ।
कैलाली प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले राना पक्राउ परेकोबारे बोल्न चाहेनन्।
असई विक र जवान साउँदको कात्तिक १ गते गस्तीमा गएका बेला तस्कर समूहले हत्या गरेको थियो।
असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको थियो भने त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो ।
यसअघि सो घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। तर, मुख्य अभियुक्त भनिएका राना भने फरार थिए।
राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।
राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको थियो।
पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए। त्यही मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वमा रहेको टोलीले असई र जवानको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो।