आइतबार, असार ८, २०८२

आन्दोलनले थलिँदै वीर अस्पताल, प्रशासन बन्यो लाचार

मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पतालकाे प्रशासन कर्मचारी आन्दोलनका कारण ठप्प छ। अस्पताल प्रशासन कर्मचारीको माग सम्बोधन गर्नुको सट्टा लाचार बनेर होटलबाट सञ्चालन हुन थालेको छ।
 |  आइतबार, मंसिर १४, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, मंसिर १४, २०७७

कोभिड महामारीका बेला नागरिकको स्वास्थ्य उपचारमा बढी नै संवेदनशील हुनुपर्नेमा मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पतालकाे प्रशासन कर्मचारी आन्दोलनका कारण ठप्प छ। अस्पताल प्रशासन कर्मचारीको माग सम्बोधन गर्नुको सट्टा लाचार बनेर होटलबाट सञ्चालन हुन थालेको छ।

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्वास्थ्यकर्मी तथा कर्मचारी ४३ दिनदेखि आन्दोलनमा छन्। अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले आफ्ना माग सम्बोधन हुन नसकेपछि आन्दोलन चर्काउँदै लगेका हुन्। 

गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ता पाउनुपर्ने माग कर्मचारीको छ। स्वास्थ्यकर्मी तथा कर्मचारीले माग सम्बोधन गर्न प्रशासनले ध्यान नदिएको आरोप लगाएका छन्। 

न्याम्सअन्तर्गत खटिएका ज्यालादारी र करार सेवाका स्वास्थ्यकर्मीले अघिल्लो वर्षदेखि तलब पाएका छैैनन्। अस्पतालले भने साउनदेखि मात्रै तलब रोकिएको जनाएको छ।  

महामारीको समयमा स्वास्थ्यकर्मी तथा कर्मचारीले जोखिममा काम गरेबापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्तालगायत पनि नपाएको कर्मचारीको गुनासो छ। 

आन्दोलनको डेढ महिना हुनै लाग्दासमेत अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै कर्मचारीले मंसिर ४ देखि पदाधिकारीको कार्यकक्षमा ताला लगाई अस्पतालमा प्रवेश गर्न दिएका छैनन्। 

मंसिर ७ मा अस्पतालले आन्दोलनरत कर्मचारीलाई वार्तामा बोलायो। वार्तामा अस्पताल प्रशासनले कर्मचारीको तलब भत्ता, सेवा विस्तार भत्ता, चाडपर्व भत्ता, औषधि खरिद खर्चलगायत कोभिड महामारीका कारण उपलब्ध गराउन नसकिएको अस्पतालले स्वीकारेको थियो। 

अस्पतालले स्रोतसाधन सुनिश्चित भए मात्र अतिरिक्त भत्ता लगायतका सुविधा उपलब्ध गराउन सकिने, अस्पतालको नियमित सेवा सञ्चालनमा नआउँदासम्म सबै भत्ताको व्यवस्थापन गर्न असमर्थ रहेको स्पष्ट पारेको छ। 

आन्दोलनरत कर्मचारी भने सरकार र अस्पतालका पदाधिकारीबाट महामारीको अवस्थामा कर्मचारीको मनोबल गिराउने काम भएको र समस्या समाधानका लागि कुनै प्रयास नगरेको बताउँछन्। 

आन्दोलनकर्मीका तर्फबाट बार्तामा बसेका नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले महामारीका समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नुपर्नेमा कर्मचारीको मनोबल गिराउने काम भएको बताए। 

'समस्या समाधानतर्फ भन्दा पनि कर्मचारीलाई धम्क्याउने, थर्काउने लगायत मनोबल गिराउने काम भयो', आचार्यले नेपाल समयसँग भने, ‘अस्पतालले अन्य देशमा पनि स्वास्थ्यकर्मीको तलब कटौती भएको छ। तपाईंहरुलाई हामी दिन सक्ने अवस्थामा छैनौं। २० औं वर्षअगाडिदेखिको मेलम्ची खानेपानी योजना त अहिलेसम्म सफल भएको छैन, तपाईंहरुले भन्नेबित्तिकै सम्बोधन हुन्छ? भन्नेजस्ता अभिव्यक्ति प्रस्तुत गर्‍यो। त्यसपछि वार्ता स्थगित भएको हो।' 

कर्मचारी तथा स्वास्थ्यकर्मीले स्तरीय सेवा प्रवाह प्रदान गर्नुपर्ने मुद्दा पनि अघि सारका छन्।

आचार्य भन्छन्, ‘वीर अस्पताललाई खिचडी अस्पताल बनाइएको छ। कोभिडबाहेकका अन्य बिरामीलाई सेवा दिन्छु भनेर बेड खाली राखिएको छ। यसरी चलाउने हो भने बिरामीले कसरी सेवा पाउँछन्?’

अस्पतालको सर्जिकल भवनलाई कोभिड अस्पताल बनाएर वीर अस्पताललाई पहिलाकै अवस्थामा सञ्चालन गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ। 

अस्पताललाई कोभिड अस्पताल बनाउने अनि अन्य खर्च तथा कर्मचारीलाई आफंै व्यवस्थापन गर्न लगाउनु भन्ने सरकारको नीतिले पनि यस्तो अवस्था आएको युनियनका सचिव दीपक मुडभरी बताउँछन्। 

पदाधिकारीलाई अस्पतालमा प्रवेश नदिएपछि अस्पताल प्रशासन होटल एलो प्यागोडाबाट सञ्चालन भएको छ। कर्मचारीहरुले भने स्रोत छैन भन्दै दिनरात काम गरेका कर्मचारीको बेवास्ता गर्ने अस्पताल प्रशासनलाई होटलमा बसेर अफिस चलाउने पैसा कहाँबाट आयो भनेर प्रश्न उठाएका छन्। 

काम देऊ : कर्मचारी 

कर्मचारीको आन्दोलनले एक महिनादेखि अस्पतलाको काममा समेत प्रभाव पारेको निर्देशक केदार सेन्चुरी बताउँछन्। उनका अनुसार आन्दोलन गरेका कर्मचारीले काम गर्न नमान्दा व्यवस्थापनमा झनै सकस भएको छ। 

आन्दोलनरत पक्षले भने कुनै पनि सेवा प्रभावित भएको नभएको बताएको छ। सेवा प्रभावित भएको छ भने पदाधिकारीकै कारण भएको स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष आचार्य बताउँछन्।

उनी भन्छन्, ‘अस्पतालले कर्मचारीलाई काम दिन सकेको छैन। ४०० बेडमा १०० जना मात्रै कोभिडका बिरामी राखेर बाँकी ३०० बेड खाली छन्। उपकरणहरु बन्द छन्। अनि अस्पतालमा खर्च उठेन भनेर कर्मचारीलाई तलब नखुवाएर हुन्छ?’

कर्मचारीहरु फुर्सदिला भएकाले काम दिनुपर्ने उनको माग छ। 

अस्पतालको आन्दोलनप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवास्ता गरेको कर्मचारी बताउँछन्। पदाधिकारीसमेतलाई निषेध गरे पनि किन गरेको भनेर सोध्न वा छानबिन गर्न कोही आएका छैनन्।

युनियनका सचिव मुडभरी भन्छन्, ‘मन्त्रालयको आसय पनि कर्मचारीकै आन्दोलनले हालका पदाधिकारीलाई निकाल्न पाए हुन्थ्यो भन्ने हो जस्तो लाग्छ।’ 

आन्दोलनरत कर्मचारीले समस्या समाधान गर्न नसक्ने पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका छन्। पदाधिकारीले राजीनामा नदिएसम्म आन्दोलन चर्काउँदै जाने आचार्य बताउँछन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वायत्त अस्पताल भएकाले आन्तरिक समस्या आफैंले समस्या गर्नुपर्ने बताए। 

उनले नेपाल समयसँग भने, 'कर्मचारी व्यवस्थापनमा अस्पतालले नै गर्नुपर्छ। वीर अस्पताल स्वायत्त प्रतिष्ठान हो। त्यसैले मन्त्रालयले हस्तक्षेप गर्न मिल्दैन।' 

उनले ऐनबाट गठित संस्थाले गर्न काम सक्दिनँ भनेर आग्रह गरेमा मात्रै मन्त्रालयले समस्या समाधानका लागि पहल गर्न सक्ने बताए। 

अधिकारीले भने, 'मन्त्रालयले मिल्ने कुराहरुमा निजी क्षेत्रलाई त सहजीकरण गरेको छ भने वीर अस्पताललाई नगर्ने भन्ने कुरा हुँदैन। ऐनले नदिएका कुरामा हामीले केही गर्न सक्दैनौं।' उनले कोभिडका लागि सबै अस्पताललाई उपचार खर्च पठाइसकेको पनि स्पष्ट पारे। 
 

अस्पतालमा प्रवेश नदिएपछि होटलबाट काम गर्दै छौं –केदार सेन्चुरी

कार्यकक्षमा ताला लगाएर हामीलाई प्रवेश गर्न दिइएको छैन। प्रवेश नदिएपछि हामीले राष्ट्रिय ट्रमा सेन्टरमा बसेर काम गर्‍यौं तर आन्दोलनरत कर्मचारीहरु ट्रमा सेन्टरमै गएर काम गर्न नदिएपछि हामीले होटलबाट काम सञ्चालन गरेका छौं। हामी होटलमा रमाइलो गर्न आएको हैनौं।  कार्यकक्षमा जान नदिएपछि काम कहाँबाट गर्नु त?   

कोभिडका कारण अस्पतालले तलबभत्ता तथा जोखिमभत्ता दिन नसक्ने स्थिति आएको छ। अहिले आम्दानी छैन। आन्तरिक स्रोत न्यून छ। भत्ता कहाँबाट खुवाउने? कर्मचारीको माग एकोहोरो छ। भत्ता पनि वर्षौंदेखि दिँदै आएको हो। वर्षको अन्तिममा प्रत्येक कर्मचारीलाई औषधि खरिद खर्च भनेर दिने गरेका थियौं। तर आम्दानी नभएपछि कसरी दिने?  

आन्दोलनरत पक्षले भनेको झैं अस्पतालमा अन्य सेवा सञ्चालन नभएका होइनन्। अस्पतालमा हाल ननकोभिडका बिरामी पनि उपचाररत छन्। कोभिडका बिरामीभन्दा ननकोभिडका बिरामी अस्पतालमा धेरै छन्। तर कोभिड अस्पताल भएपछि बिरामी आउन डराउँछन्। बिरामीको संख्या कम हुँदा आम्दानी कम छ। 

हिजो कोभिड अस्पताल किन बनाइएन भन्नेहरु आज किन कोभिड अस्पताल बनाइयो भनेर आन्दोलन गर्छन्। दुवै कुरा कसरी सम्भव हुन्छन्?

मन्त्रालयले अस्पतालबाट नै मिलाउनू, हामी दिन सक्दैनौं भनेको छ। झन् गाह्रो हुने स्थिति आयो। कर्मचारीका माग जायज हुन् तर  यो आन्दोलन गर्ने समय होइन। आन्दोलनरत पक्षसँग पटकपटक वार्ता पनि भएको हो तर उपाय निस्किएन। सामान्य अवस्था भएपछि दिन्छौं भनेका छौं। उहाँहरू चाहियो भन्नुहुन्छ। कसरी सल्टाउने? 

(वीर अस्पतालका निर्देशक सेन्चुरीसँगकाे कुराकानीमा आधारित)

प्रकाशित: Nov 29, 2020| 11:06 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।