काठमाडौं– नेपाल र भारतका परराष्ट्र सचिवबीचको दुईपक्षीय वार्ता सम्पन्न भएको छ।
दुई दिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्रसचिव भरतराज पौडेलबीच होटल याक एण्ड यतिमा वार्ता भएको हो।
वार्तामा द्विपक्षीय हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वार्तापछि नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘दुवै पक्षले द्विपक्षीय पहल र परियोजनाहरूमा भएको प्रगतिको सराहना गर्नुभयो। ’
आपसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरू चाल्ने सहमति पनि भएको दूतावासले जनाएको छ।
श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटवार्ता गरेका छन्।
मन्त्री ज्ञवालीसँगको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको बताइएको छ।
भेटमा विदेशसचिव श्रृंगलाले मन्त्री ज्ञवालीलाई कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने दुई हजार भाइल्स रेम्डेसिभिर हस्तान्तरण गरेका छन्।
नेपाल–भारतबीच सीमा विवाद रहेका बेला सम्बन्ध सुधारका लागि विदेश सचिव श्रृंगला नेपाल भ्रमणमा आएको बताइएको छ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन्।