आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालमा आईसीयू र भेन्टिलेटर पाइँदैन, मन्त्रालय भन्छ– ४० प्रतिशत खाली छन्

अस्पतालमा आईसीयू र भेन्टिलेटर पाइँदैन, मन्त्रालय भन्छ– ४० प्रतिशत खाली छन्

अहिले २० हजार ७६५ आइसोलेसन बेड, २ हजार ६०० आईसीयू संख्या र ९०० भेन्टिलेटर छन्। त्यसमध्ये पनि १ हजार ६९ वटा आईसीयू बेड र ५१५ भेन्टिलेटर कोरोना संक्रमितको मात्रै उपचारका लागि छुट्याइएको छ। 
 |  सोमबार, कात्तिक २४, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत राजाराम इटनी धादिङ घरमा दसैं मनाएर काठमाडौं फर्किए। काठमाडौं फर्किएपपछि उनलाई चिसोले समात्यो। स्वास्थ्य केही असहज भएपछि उनी होम आइसोलेसनमा बसे।

तर गत सोमबार स्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याए। उनलाई आईसीयू चाहिने चिकित्सकले बताए तर अस्पतालले आईसीयू खाली नभएको बताएपछि परिवारले उनलाई करुण अस्पतालमा लगे। त्यहाँ पुर्याउँदा उनको अवस्था नाजुक भइसकेको थियो। अस्पताल पुर्याएको करिब दुई घण्टामा उनको मृत्यु भयो। 

काठमाडौंका बैकुण्ठ अधिकारी (नाम परिवर्तन) सहित परिवारका अन्य ४ जनालाई कोरोना पुष्टि भयो। सुरुमा होम आइसोलेसनमा बसेका उनलाई स्वास्थ्यमा समस्या हुँदै गएपछि पाटन अस्पताल पुर्याइयो। अन्य रोगसमेत भएका उनको अवस्था नाजुक हुँदै गयो तर अस्तपालमा भेन्टिलेटर उपलब्ध नभएपछि अन्य अस्पतालमा सम्पर्क गरे तर अन्य अस्पतालमा पनि भेन्टिलेटर खाली नभएको बताए।

अधिकारी ३६ घण्टा अस्पतालमा छटपटाइरहे। ३६ घण्टापछि उनलाई सोही अस्पतालमा नै भेन्टिलेटर मिलाइयो। तर भेन्टिलेटरमा राखेको दुई दिनमा नै उनको मृत्यु भयो। 

यी दुई घटना प्रतिनिधि घटना हुन्, जसले कोभिडका गम्भीर बिरामीले पनि सहजै आईसीयू नपाउने अवस्था झल्काउँछ ।  नेपालमा कोरोना संक्रमितको संख्या बढिरहँदा आईसीयू र भेन्टिलेटरको माग पनि बढेको छ।

तर माग अनुसार भेन्टिलेटर र आईसीयू उपलब्ध नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन्। अस्पतालमा आईसीयू र भेन्टिलेटर छैन भन्ने जानकारी दिन थालेका छन्। त्यसैमाथि कोरोना संक्रमण पुष्टि भएका बिरामी भनेपछि अस्पतालहरुले आईसीयू भएर पनि नभएको जानकारी दिएका छन्। 

नेपालमा लकडाउन सुरु हुँदा (चैत ११)मा जम्मा दुई जना कोरोना संक्रमित थिए। भर्खर कोरोना संक्रमित भेटिन सुरु गरेको अवस्थामा सरकारले १३ सय आइसोलेसन बेड र ७७० भेन्टिलेटर तयार रहेको जनाएको थियो। अहिले २० हजार ७६५ आइसोलेसन बेड, २ हजार ६०० आईसीयू संख्या र ९०० भेन्टिलेटर छन्। त्यसमध्ये पनि १ हजार ६९ वटा आईसीयू बेड र ५१५ भेन्टिलेटर कोरोना संक्रमितको मात्रै उपचारका लागि छुट्याइएको छ। 

उपत्यकाका अस्पतालमा मात्रै २०७ कोभिड आईसीयू र ८२ भेन्टिलेटर छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्ममा ३९८ जना संक्रमित आईसीयूमा र ८२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। जसअनुसार हाल ६७१ आईसीयू र ४३३ कोभिडका लागि छुट्याइएको भेन्टिलेटर खाली छन्। तर जब बिरामीलाई आईसीयू भेन्टिलेटर आवश्यक परी सोध्दा कुनै पनि अस्पतालले खाली भन्दैनन्।

यसबारे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘मानिसहरुलाई पायक पर्ने ठाउँमा आईसीयू, भेन्टिलेटर नभेटिन सक्छ, एकै ठाउँमा बिरामीको चाप धेरै हुँदा बेड पाउन गाह्रो हुन्छ। बेड पाउन अस्पताल जानुपर्ने र चिकित्सकले आवश्यक परेमा मात्रै आईसीयू, भेन्टिलेटरमा राख्छन्। आफूलाई पायक पर्ने ठाउँमा बेड नपाएपछि बेड पाइएन भन्छन्, घरमा बसेर अस्पतालमा फोन गरेर भेन्टिलेटर पाइँदैन।’

गौतमले थपे, ‘अस्पतालले फोन गरेकै आधारमा भेन्टिलेटर भए पनि छ भन्ने जवाफ दिँदैनन्, किनकी बिरामीलाई आईसीयू मात्रै भए हुने हो कि, भेन्टिलेटरकै आवश्यकता पर्ने हो त्यसको पहिचान गर्नुपर्छ त्यसको लागि अस्पतालमा नै जानुपर्छ। इमर्जेन्सीमा गएपछि चिकित्सकले आईसीयू, भेन्टिलेटरमा राख्ने–नराख्ने निर्णय गर्छन्। त्यहाँ नभए अस्पतालले अन्य अस्पतलामा समन्वय गर्छन्।’

अहिले आईसीयू र भेन्टिलेटरको कुनै समस्या नरहेको दाबी गौतमले गरे। भने, ‘४०  प्रतिशत आईसीयू र भेन्टिलेटर खाली छन्। दसैंसम्म समस्या थियो अहिले छैन।’

मन्त्रालयलसँग यकिन तथ्यांक छैन। 

पछिल्लो समय उपत्यकामा मात्र होइन, देशभर नै आईसीयू र भेन्टिलेटरको माग बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ६९ वटा आईसीयू बेड र ५१५ भेन्टिलेटर कोरोना संक्रमितको लागि मात्रै छुट्याइएको छ ।

निजी अस्पतालले उपत्यकामा कोभिडका लागि ७२ आईसीयू र २८ भेन्टिलेटर छुट्याएका छन्। तर, कुन अस्पतालमा कति आईसीयू र भेन्टिलेटर भरिएका छन्, कति खाली छन् भन्ने एकीकृत हिसाब मन्त्रालयसँग छैन । 

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार कतिपय अस्पतालहरु आफैंले आईसीयू, भेन्टिलेटर राखेका छन्, त्यसैले पनि मन्त्रालयलाई यकिन तथ्यांक उपलब्ध नभएको डा. अधिकारी बताउँछन्।

अधिकारीले भने, ‘अस्पतालहरुले भेन्टिलेटर तथा आईसीयू खाली भए पनि समयमै खाली भएको जानकारी दिँदैनन्। हामीले सिस्टममा अपडेट गर्न आग्रह गरेका छौं तर अस्पतालहरुले अपडेट नगर्दा यो समस्या भएको हो। कोभिडका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटर पनि भरिएको छैन, तर अस्पतालहरुले खाली छैन भन्नु दुखद् हो,’ उनले भने। 

प्रकाशित: Nov 09, 2020| 09:40 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।