आइतबार, असार ८, २०८२

अस्पताल जान छाडे कोरोना संक्रमित, गम्भीर बिरामीलाई बचाउन कठिन

सरकारले कोरोना संक्रमणको परीक्षण र उपचारमा शुल्क लिन थालेपछि परीक्षण गराउन अस्पताल जानेको संख्या घटेको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– सरकारले कोरोना संक्रमणको परीक्षण र उपचारमा शुल्क लिन थालेपछि परीक्षण गराउन अस्पताल जानेको संख्या घटेको छ। 

यस्तै कतिपय संक्रमित सहरबजारमा निस्कन थालेका छन्। गम्भीर बिरामी भएपछि मात्र अस्पताल जाने प्रवृत्तिका कारण मृत्युदर बढ्न थालेको सम्बन्धित चिकित्सक बताउँछन्। 

संक्रमितको उपचार तथा परीक्षण निःशुल्क हुन्जेल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक कोरोना परीक्षण गर्नेको संख्या १५ सय हाराहारीमा हुन्थ्यो। 

परीक्षणका लागि सर्वसाधारण घण्टौंसम्म लाइन बस्थे। कतिपयले त अस्पताल परिसरमै रात बिताउँथे। तर पछिल्लो समय अस्पतालमा यस्तो अवस्था छैन। 

कोरोना परीक्षणका लागि शुक्रराज अस्पताल पुग्नेको संख्या दैनिक तीन सयको हाराहारीमा मात्र छ। 

सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार टेकु अस्पतालमा निःशुल्क हुँदा परीक्षण गराउन दुई–तीन दिन पालो कुर्नुपर्थ्यो। अहिले यो संख्या कम भएको छ। 

वीर अस्पतालमा पनि परीक्षण गराउनेको संख्या घट्न थालेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरी बताउँछन्। 

निजी र सरकारी अस्पतालमा परीक्षण शुल्क एउटै भएपछि मानिस निजी ल्याबमा गएको हुन सक्ने उनको अनुमान छ। सरकारीको तुलनामा निजी ल्याबले चाँडो रिपोर्ट दिन्छन्। निजीमा पालो पर्खनु पनि पर्दैन। उनी भन्छन्, ‘परीक्षण र उपचार शुल्क तोकेपछि पनि अस्पताल आउने घटेका हुन्।’ 

सरकारले कोरोना परीक्षण गर्न दुई हजार रुपैयाँ तोकेको छ। विपन्नका लागि यो शुल्क निकै महँगो हो। विपन्न नागरिकलाई निःशुल्क उपचार भने पनि यसका लागि प्रभावकारी मापदण्ड नहुँदा झन् समस्या देखिएको छ।

कोरोना पोजेटिभ रिपोर्ट आए सरकारले कुनै व्यवस्था गर्दैन, आफंैले व्यवस्था गर्नुपर्छ भन्ने मानसिकताले गर्दा पनि कतिपय मानिस परीक्षण गर्न जान छाडेका छन्। 

संक्रमण झन् फैलने चेतावनी 

सरकारले कोरोना संक्रमण भएर सामान्य अवस्थामा रहेका मानिसलाई होम आइसोलेसनमा बस्न भनेको छ। त्यसैले संक्रमितहरू हत्तपत्ति अस्पताल जाँदैनन्। लक्षणसहित निकै गाह्रो भएपछि अस्पताल पुग्ने गरेका छन्। मध्यम लक्षण भएका मानिसले पनि घरमै बसेर उपचार गराइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन्। 

‘कतिपय संक्रमित त परीक्षण नै नगरी घरमै बस्ने र बाहिर पनि हिँड्ने गरेको भन्ने सुनिएको छ’, डा. बास्तोला भन्छन्, ‘परीक्षण नै नगराई हिँड्दा झनै संक्रमण फैलने खतरा छ।’

कतिपयलाई कोरोना पोजेटिभ देखिएमा कहाँ जाने, कसरी बस्ने भन्ने सजगता छैन। यस्तो अवस्थामा  संक्रमितले बाहिर हिँडेर झन् फैलाउन सक्ने जोखिम उच्च छ। अलिअलि खोकी लाग्दैमा किन परीक्षण गर्ने भनेर घरमै बस्ने पनि धेरै छन्।  

डा. दास सर्वसाधारणले सरकारले भनेको होम आइसोलेसनको सन्देशलाई गलत बुझेको बताउँछन्। उनी भन्छन्, ‘सरकारले त लक्षण नभएकालाई होम आइसोलेसनमा बस्न भनेको हो। तर मानिसहरु आफूलाई गाह्रो हुँदा पनि होम आइसोलेसनमा नै बसेको पाइएको छ।’ 

उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्तपाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्तपालमा पछिल्लो समय कोरोना संक्रमित गम्भीर अवस्थामा मात्रै पुग्ने गरेका छन्। 

डा. बास्तोला भन्छन्, ‘संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका मानिस निमोनिया भइसकेपछि वा अक्सिजनको लेभल कम भएपछि अस्पताल आइपुग्छन्। त्यतिबेला उनीहरुको अवस्था गम्भीर भइसकेको हुन्छ।’ 

त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. दासका अनुसार ज्वरोखोकीको समस्या लिएर आउनेहरु बिरामी छैनन्। उनले भने, ‘सास फेर्न गाह्रो भएपछि आउनेहरु बढी छन्।’ सिकिस्त बिरामी मात्रै अस्पताल पुग्ने हुँदा मृत्युदर बढेको उनी बताउँछन्। 

हाल अस्पतालमा भएका सबैजसो बिरामीलाई अक्सिजन चाहिने अवस्था छ। कोरोनाको लक्षण बढ्दै गएमा निकै छिटो असर गर्छ। त्यसैले लक्षण देखिनेबित्तिकै अस्पताल जान सुझाव दिन्छन् डा. दास। 

अहिलेसम्म मृत्यु हुनेमा भेन्टिलेटरमा पुगेका बिरामी बढी छन्। डा. दास भन्छन्, ‘बिरामी भेन्टिलेटरबाट फर्किन सक्ने अवस्था निकै कम छ। बिरामी अस्पताल पुग्दा शरीरमा अक्सिजन कम हुने, निमोनिया हुने र गम्भीर अवस्थामा पुग्छन्। उनीहरुलाई सीधै भेन्टिलेटरमा राख्नुपर्छ। यस्ता बिरामी बाँच्ने सम्भावना निकै कम हुन्छ।’ 

वीर अस्पतालका निर्देशक डा. सेन्चुरी पनि वीर अस्पतालमा कोभिडका सामान्य बेडहरु खाली देखिन थालेको बताउँछन्। उनका अनुसार आईसीयू र भेन्टिलेटर भने खाली हुन पाउँदैन। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजारभन्दा बढी परीक्षण गर्न सक्ने क्षमता भएको दाबी गरे पनि हाल १३ हजारको हाराहारीमा मात्रै परीक्षण गरिरहेको छ।

अस्पताल ढिला पुग्दा मृत्युदर बढ्दो 

बढ्दो संक्रमणसँगै मृत्युदरसमेत बढेको छ। मंगलबारमात्र कोभिडबाट २० जनाको मृत्यु भएको छ। मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ।  संक्रमितमध्ये एक हजार चारजनाको मृत्यु भएको छ। यो कुल संक्रमितको ०.६ प्रतिशत हो। 

कोभिड–१९ले मृत्यु भएका ७५ प्रतिशतमा पहिलेदेखि नै अन्य रोग देखिएको छ भने २५ प्रतिशतमा कुनै रोग नदेखिएकोे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

प्रकाशित: Nov 04, 2020| 06:00 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्