आइतबार, असार ८, २०८२

सरकारी उर्दीले झन् अत्याउँछ संक्रमितलाई

संक्रमितको संख्या र लक्षणसहितका बिरामीको संख्या बढ्दै गएपछि अस्पतालमा आईसीयू र भेन्टिलेटर सहजै पाउन छोडेको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– बालाजु बस्ने एक युवालाई असोज २५ गते कोरोना संक्रमण भएको पुष्टि भयो। उनलाई स्वास्थ्यमा खासै समस्या देखिएको थिएन।

सरकारले कोरोना संक्रमण हुँदैमा आत्तिनु पर्दैन, होम आइसोलेसनमा बस्न सकिन्छ भनेकोले घरमै बसेका उनलाई कोरोना पुष्टि भएको पाँचौं दिनमा छाती दुख्न थाल्यो, सास फेर्न गाह्रो भयो। कहाँ जाने, कसलाई भन्ने उनी आत्तिन थाले। त्यसअघि खासै समस्या नदेखिएकाले स्वास्थ्यमा समस्या भयो भने के गर्ने भन्ने बारेमा उनले त्यति ध्यान दिएका थिएनन्। 

कलंकीकी एक युवतीलाई दुई दिन ज्वरोसँगै कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि पीसीआर परीक्षण गराइन्। रिपोर्ट पोेजेटिभ आयो। उनलाई कोरोना पुष्टि भएपछि परिवारका सबै सदस्य आत्तिए। अस्पतालमा लैजान विभिन्न अस्पतालमा फोन गरे तर बेड छैन भन्ने जवाफ आयो। करिब २४ घण्टापछि मात्रै उनी एक अस्पतालमा भर्ना भइन्। 

यी दुईजना यो समयका प्रतिनिधिमात्रै हुन्। कोरोना संक्रमण भए व्यक्ति वा परिवारले के गर्ने, कसरी व्यवस्थापन गर्ने भन्नेबारे जानकारी नहुँदा संक्रमितहरु मानसिक समस्यामा पर्ने गरेका छन्।

सरकारले सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस होला जस्तो भएमा मात्र अस्पताल जान ‘उर्दी’ जारी गरेको छ। साथै अबदेखि सरकारले उपचार खर्च पनि संक्रमित आफैंले बेहोर्नुपर्ने बताएको छ। सरकारका यस प्रकारका उर्दीले संक्रमितहरुलाई झनै मानसिक समस्या थपिदिएको छ।

नेपालमा हालसम्म १ लाख ३२ जनार २४६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३६ हजारभन्दा धेरै सक्रिय संक्रमित अझै आइसोलेसनमा छन्। त्यसमध्ये आधाभन्दा धेरै होम आइसोलेसनमा छन्। होम आइसोलेसनमा बस्न सम्भव नभएकाहरुलाई सरकारले संस्थागत आइसोलेसनमा राखेको छ। 

सरकारले हात उठाएपछि रोगविरुद्धको लडाइँसँगै अनेक तनाव झेल्नुपरेको संक्रमितहरु बताउँछन्। सरकारले के गर्छ, हामी के गर्ने, गाह्रो हुँदा कसलाई जानकारी गराउने भन्नेबारे आफूलाई केही जानकारी नभएको धेरै संक्रमितले बताएका छन्। कोरोना लाग्दैमा आत्तिनु पर्दैन, घरमै आइसोलेसमा बस्दा सुरक्षित भइन्छ भन्दै आएको छ सरकारले।  तर संक्रमितहरु भने सरकारको प्रभावकारी समन्वय नहुँदा तनाव हुने बताउँछन्। 

एक त आफूलाई कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी नहुँदा समस्या भोगिरहेका छन् भने अर्कोतर्फ सरकारको यस्ता अभिव्यक्तिले अत्याएको छ। त्यसमा अझ आईसीयू छैन, भेन्टिलेटर छैन भनेर सरकारी अधिकारीले नै डर बढाइदिएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्छन्, ‘संक्रमित भएमा के गर्ने, कहाँ जाने, कसलाई सम्पर्क गर्ने भन्नेबारेमा थाहा पाइराख्नुपर्छ। आवश्यक परामर्शका ११३३, १११५ नम्बरको हटलाइनमा सम्पर्क गर्नुस्।’

अधिकारी थप्छन्, ‘धेरैजसो संक्रमित र तिनका परिवारलाई अहिलेसम्म मन्त्रालयले सञ्चालन गरेको हटलाइन सेवाकै बारेमा जानकारी छैन। आफूलाई नपरेसम्म कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सोचेका हुँदैनन्।’ 

डरसँगै अरु तनाव पनि 

एकातिर कोरोना संक्रमित भएपछि के गर्ने, कहाँ जाने भन्नेबारे मानिसहरु पूर्णरुपमा जानकार छैनन् भने अर्कोतिर समाजले गर्ने व्यवहार अझै परिवर्तन हुन सकेको छैन। अझ डेरा गरेर बस्नेलाई त झन् गाह्रो छ।

‘कोरोना पोजेटिभ भएको थाहा पाएपछि घरबेटीले डेरामा बस्न दिएनन्। होम आइसोलेसनमा बस्न मापदण्ड पुगेको भए पनि घरबेटीले हेयको दृष्टिले हेर्न थालेपछि बल्लबल्ल भनसुन गरेर आइसोलेसन सेन्टरमा पुगेँ,’ एक संक्रमितले सुनाए, ‘आफ्नै घरपरिवार, आफन्त, साथीहरुले पनि के भन्लान् भन्नेखालको तनाव हुने रहेछ। कतिपयले सिधा भन्दैनन्, तर फरक व्यवहार गर्छन्।’

शुक्रराज टपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी सरकारले कोरोना रोकथामसँगै कोरोना संक्रमितको व्यवस्थापनमा ध्यान नदिएको बताउँछन्। संक्रमितलाई आइसोलेट गर्नेबारे सरकारी स्तरबाट व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।

डा. राजभण्डारीका अनुसार कोरोना पोजेटिभ देखिएमा के गर्ने भन्नेबारेमा मानिसहरु जानकार छैनन्। त्यसैले यस विषयमा सरकारले जानकारी दिनुपर्छ।  संक्रमितलाई लक्षित कार्यक्रम नहुँदा पनि संक्रमित र उनीहरुका परिवारलाई झन् डर, त्रास र तनावमा पारेको डा. राजभण्डारी बताउँछन्। 

अस्पतालमा बेड पाउन गाह्रो 

काठमाडौं रानीवनका ५८ वर्षीय एक पुरुषलाई कोरोना पुष्टि भयो। उनी अन्य रोगबाट पनि पीडित थिए। सुरुमा होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुपर्ने भयो। पुरुषका आफन्तले उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर, पाटन, त्रिवि शिक्षण अस्पताल लगायतका सबै सरकारी अस्पतालमा सम्पर्क गरे तर बेड खाली नभएको जवाफ पाए। 

सरकारी अस्पतालमा नपाएपछि निजी अस्पतालमा पनि कोसिस गरे। तर समयमा आईसीयू पाउन सकेनन्। भोलिपल्ट मात्रै पाटन अस्पतालमा बेड भएको जानकारी पाए र भर्ना गरे। 

संक्रमितको संख्या र लक्षणसहितका बिरामीको संख्या बढ्दै गएपछि अस्पतालमा आईसीयू र भेन्टिलेटर सहजै पाउन छोडेको छ। स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार हालसम्म उपत्यकाका अस्पतालमा मात्रै २४१ आईसीयू र १०७ भेन्टिलेटर कोभिडका बिरामीका लागि छुट्याइएको छ। सरकारी अस्पतालमा १२४ वटा आईसीयू र ६७ वटा भेन्टिलेटर छन् भने निजी अस्पतालमा ११७ वटा आईसीयू र ४० वटा भेन्टिलेटर कोभिडका बिरामीका लागि छुट्याइएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘अस्पतालहरुले मन्त्रालयलाई पनि आईसीयू र भेन्टिलेटर खाली छैन भनेर ढाँटिरहेका हुन्छन्। अस्पतालमा कोभिडका बिरामी कति छन् र कति बेड खाली छन् भनेर सिस्टममा राख्न भनेका छौंं। तर उनीहरुले सही तथ्याकं नराख्दा समस्या देखिएको छ।’

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेड खाली हुँदाहुँदै छैन भनेर उपचार नगर्ने अस्पताललाई कारबाही गरिने बताए।

प्रकाशित: Oct 19, 2020| 03:00 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।