आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'भ्रष्टाचार गर्न महामारीले रोक्दैन, गरिबको उपचारमा उपयुक्त समय चाहिने ?'

'भ्रष्टाचार गर्न महामारीले रोक्दैन, गरिबको उपचारमा उपयुक्त समय चाहिने ?'

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बसेको १९ दिन पुगिसकेको छ। 
 |  शुक्रबार, असोज १६, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, असोज १६, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बसेको शुक्रबार १९ दिन पुगिसकेको छ। 

अस्पतालमा डा. केसीलाई भेट्न त्यति सहज छैन। त्यसैमाथि पत्रकार भनेपछि गेटबाट छिर्न पनि दिइँदैन। ‘पत्रकारलाई आउन नदिनू भन्ने माथिको आदेश छ', सुरक्षाकर्मीले भने, ‘तपाईंहरु माथि जाने हो भने निर्देशकलाई सोधेर आउनुहोला।’ 

शुक्रबार दिउँसाे जसोतसो भित्र छिर्दा बेड नं ५०१ मा डा. केसी कोल्टे परिरहेका थिए। केसीलाई राखिएको क्याबिन बाहिर ३ जना प्रहरी परिचालित थिए। 

कोठाभित्र ‘हार्टबिट मोनिटर’ को टुक–टुक बाहेक अरू आवाज सुनिँदैन। हार्टबिट कहिले ८५ पुग्छ, कहिले ६५ मा झर्छ। केसीको एउटा हातमा सेतो ब्यान्डेज छ, अर्को हातमा स्लाइनका थोपा चुहिइरहेका छन्। धेरै दिनदेखि स्लाइन चढाउँदा लगाइएको क्यानुलाले उनको देब्रे हातमा इन्फेक्सन भयाे। अहिले दाहिने हातबाट स्लाइन दिन थालिएको छ। 

आफूलाई भेट्न आउनलेलाई डा. केसी सकेसम्म हात उठाएर प्रतिक्रिया दिन खोज्छन्। थला परेका हात राम्रोसँग उठ्न सक्दैनन्। डा. केसीका सहयोगी प्रितम सुवेदीले भने, ‘अहिले त शौचालय जान मात्र होइन, कोल्टे फेर्न पनि सहारा दिनुपर्छ।’

बेलाबेलामा चिकित्सक आएर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन्। ‘कस्तो छ भनेर सोध्दासमेत डा. केसीले राम्ररी जवाफ दिन सक्नुहुन्न’, सुवेदीले भने, ‘उहाँको अवस्था निकै चिन्ताजनक भइसकेको छ। चिकित्सकले अवस्था गम्भीर बन्दै गएको बताउँदै गर्दा सरकारले वार्तामा बोलाउनुको साटो यो समय अनशन बस्न समय उपयुक्त नभएको प्रतिक्रिया दिएको छ।’

त्रिविका निर्देशक दिनेश काफ्ले डा. केसीलाई भेट्न एकपटक मात्रै पुगेका छन्। डा. केसीका अर्का एक सहयोगीले भने, ‘उहाँले आईओएमको पदाधिकारी वरिष्ठताका आधारमा हुनुपर्ने माग राखेकाले पनि अस्पताल रुष्ट बनेको हुन सक्छ।’

डा. केसी सुतेको बेडमा एउटा प्लेकार्ड झुण्ड्याइएको छ। जसमा लेखिएको छ, ‘दूरदराजमा मेडिकल शिक्षा खै?’  डा. गोविन्द केसीको आठ वर्षदेखिको मुख्य माग नै यही हो। यसबारे सरकारले अहिलेसम्म कुनै जवाफ दिन सकेको छैन। 

शुक्रबार बिहान पूर्वराष्ट्रपति डा. रामवरण यादव डा. केसीलाई भेट्न अस्पताल पुगे। यादवले डा. केसीका माग जनताका माग भएको भन्दै सरकारले चाँडो वार्ता गर्नुपर्ने बताए। डा. केसीको व्यक्तिगत स्वार्थ नभएको र उनको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएको भन्दै उनले सरकारले वार्तामा बोलाउनैपर्नेमा जाेड  दिए।

डा. केसीको व्यक्तिगत स्वार्थ छैन भन्ने कुरा सरकारलाई पनि थाहा छ। तर सरकारी हठका कारण केसीका मागलाई सम्बोधन गर्नुको सट्टा झनै समयअनुकुल नभएको भन्दै पन्छिन खोजेको अधिवक्ता ओमप्रकाश अर्यालले बताए। 

डा. केसीलाई भेट्न पुग्नेहरुले पनि केसीको माग जायज भएकाले सरकारले वार्ता गरेर कार्यान्वायन गर्नुको विकल्प नभएको बताइरहँदा सरकारले भने दम्भ देखाएर वार्तामा बस्न नचाहेको डा. केसी समर्थकको आरोप छ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यतिबेला अनशन बस्ने उपयुक्त समय नभएको अभिव्यक्ति दिए पनि डा. केसी भने यसपटक अनशन स्थगित गर्ने मनस्थितिमा छैनन्। 

सरकारका प्रवक्ताको अभिव्यक्ति एक सहयोगीले डा. केसीलाई सुनाइदिए। उक्त कुरा सुनेपछि डा. केसीले 'भ्रष्टाचार गर्न महामारीले रोक्दैन, गरिबको उपचारमा सरकारलाई उपयुक्त समय चाहिन्छ' भन्दै आँखाबाट आँसु निकाले।

सहयोगीलाई डा. केसीले भनेका थिए, ‘सरकारले महामारीको समयमा पनि भ्रष्टाचार गर्न कुनै समय पर्खनु नपर्ने तर स्वास्थ्य जस्तोे आधारभूत आवश्यकताको माग उठाउँदा महामारी भनेर पन्छिन खोजेको हो। यो समय दूरदराजमा मेडिकल शिक्षा विस्तार गर्न झनै उपयुक्त समय हो।’ 

डा. केसीले १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याएर  पठनपाठन सुरु गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्।

डा. केसीले यसपटकको अनशनमा पछिल्लो बर्तमान सरकारका पालामा भएका भ्रष्टाचार प्रकरणहरुको छानबिनको माग पनि अघि सारेका छन्।

प्रकाशित: Oct 02, 2020| 13:35 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।