आइतबार, असार ८, २०८२

नर्सको पीडा : आफू बच्ने कि बिरामी बचाउने ? 

‘तपाईंकी छोरी बढी बोल्न थालिन्। अस्पतालमा जागिर खाने हो भने चुप लाग्न भन्नुस् भनेर घरमा फोन गर्छन्’, एक नर्स गुनासो गर्छिन्। 
 |  मंगलबार, असोज ६, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, असोज ६, २०७७

काठमाडौं– स्वास्थ्य उपचारमा अग्रपंक्तिमा खटिएका अहिले नर्सहरु आन्दोलनमा छन्। कोरोना भाइरसविरुद्धको लडाइँमा दिनरात जुटेका उनीहरु तलबसुविधा नपाएपछि आन्दोलित भएका हुन्। 

निजी अस्पतालले बेतलबी बिदामा बस्न बाध्य पारेको गुनासो उनीहरूको छ। 

ड्युटीमा रहँदा आवश्यक सुरक्षाका सामग्री नदिने र एउटै सुरक्षा सामग्री पटकपटक प्रयोग गर्न दबाब दिएपछि समस्या झन् थपिएको आन्दोलनको नेतृत्व गरिरहेकी नर्स ज्योति रानाभाट बताउँछिन्। 

आफ्ना मागप्रति अस्पताल तथा नर्सिङ संघले बेवास्ता गरेको आरोप आन्दोलित नर्सहरूको छ। 

रानाभाट भन्छिन्, ‘प्रशासनसमक्ष सानो गुनासो राख्दा पनि नर्सहरूलाई झनै मानसिक तनाव दिइन्छ। ६ महिनादेखि तलब पाएका छैनौं।’ 

खाजा खर्च भनेर मासिक तीन–चार हजार रुपैयाँ मात्र दिने गरेको उनले बताइन्। कतिपय अस्पतालले नर्सहरुलाई जागिरबाट निकाल्ने धम्की दिएका छन्।

आन्दोलनरत नर्स शर्मिला सुनुवार भन्छिन्, ‘हामीलाई नर्सिङ संघ (नान) ले पनि बेवास्ता गरेको छ।’  पटकपटक गुनासो गर्दा पनि संघले आफ्ना माग सुनुवाइ नगरेको उनले बताइन्। 

लामो समयदेखि बेतलबी बिदा बस्दा थप समस्या निम्तिएको उनको भनाइ छ। उनले भनिन्, ‘ड्युटीमा आऊँ भनेर सोध्दा अस्पताल प्रशासन बिरामीको चाप छैन, आउन पर्दैन भन्छ।’ 

नानकी अध्यक्ष मनकुमारी राईले आफूहरूलाई भेट्नै नदिएको नर्सहरुको गुनासो छ। अध्यक्ष राई भने नर्सहरुलाई त्यस्तो व्यवहार नगरेको दाबी गर्छिन्। उनले नर्सहरुलाई जथाभाबी नभन्न निर्देशन भने दिएको बताइन्। 

नर्सका समस्या समाधानका लागि पहल भइरहेको उनको भनाइ छ। 

नानले भदौ ३० गते नर्सहरुलाई आफ्ना समस्या सामाजिक सञ्जालमा नलेख्न, सञ्चारमाध्यममा अन्तर्वार्ता नदिन, व्यक्तिगत तथा समूहका नाममा अभद्र शब्दहरूको प्रयोग नगरी अनुशासित हुन विज्ञप्तिमार्फत निर्देशन दिएको थियो। 

पढेपछि जागिर नपाउने चिन्ता, जागिर पाएपछि तलब नपाउने समस्या

नर्सहरूले विगतदेखि थुप्रै समस्या भोग्दै आएका छन्। तीन वर्ष लगाएर पीसीएल नर्सिङ पढ्दा झन्डै १० लाख रुपैयाँ खर्च हुन्छ। 

पढाइ सकिएपछि जागिर नपाउने चिन्ता। पाए पनि महिनौंसम्म बिना तलब–सुविधा काम गर्नुपर्ने। नेपाली नर्सका यी साझा समस्या हुन्। 

‘तपाईंकी छोरी बढी बोल्न थालिन्। अस्पतालमा जागिर खाने हो भने चुप लाग्न भन्नुस् भनेर घरमा फोन गर्छन्’, एक नर्स गुनासो गर्छिन्। 

यस्तै अस्पतालका बारेमा कुनै नकारात्मक कुरा बोल्न नदिइने उनको भनाइ छ। नर्सिङ पढ्ने समयदेखि पीडा सहँदै आएको गुनासो उनीहरूको छ। 

‘पढ्ने बेलामा नम्बर काटिदिने धम्की दिइन्छ’, ज्योति रानाभाट भन्छिन्, ‘मैले पनि नर्सिङ पढ्दादेखि यस्ता समस्या भोग्दै आएको छु।’

कामको सिलसिलामा हुने समस्या सम्बोधन गर्न आग्रह गर्दा पनि अस्पतालले एक्लै बोलाएर धम्क्याउने गरेको नर्सहरु गुनासो गर्छन्। 
‘अस्पतालमा केही भन्नै हुँदैन। प्रशासनले बोलाएर प्रश्न गर्छन्’, नर्स सजना देउडा भन्छिन्, ‘एक्लै पारेर धम्क्याउने गर्छन्। काम गर्दा केही समस्या भयो पनि भन्न हुँदैन। जागिरबाट निस्किहाल भन्छन्।’ कतिपय नर्स जागिरबाट निकालिने डरले समस्या भन्नै चाहँदैनन्।

‘संघले आवाज उठाउनै सकेन’

नर्सिङ परिषद्की सदस्यसमेत रहेकी नर्स जिता बराल नर्सिङ संघले महामारीमा नर्सका समस्या समाधानका लागि आवाज उठाउन नसकेको आरोप लगाउँछिन्। 

‘यो बेला नर्सहरुले भोगेका समस्यालाई नर्सिङ संघले मुद्दा बनाउन सकेन,’ बराल भन्छिन्। 

नर्सहरुले आफूलाई सुरक्षित राख्न चुनौती छ। उनले भनिन्, ‘हामी यो समयमा बिरामीको ज्यान बचाउने कि आफ्नै अधिकारका लागि लड्ने?’

‘आन्दोलन गर्ने बेला होइन’

हरेक अस्पतालमा स्वीकृत बेड संख्याको २० प्रतिशत आइसोलेसनका लागि छुट्ट्याउनुपर्ने सरकारी प्रावधान छ।  यस्तै मेडिकल कलेजले ३३ प्रतिशत आइसोलेसन बेड छुट्याउनुपर्छ।  

यही कारण पनि संक्रमण नदेखिएका बिरामी निजी अस्पतालमा आउने क्रम घटेको छ। त्यसैले पनि नर्सले तलब नपाएको संघकी अध्यक्ष राई बताउँछिन्। 

राईका अनुसार केही अस्पतालले नर्सलाई जबर्जस्ती बेतलबी बिदामा बस्न भनेका छन्। अस्पतालले खर्च उठाउन नसकेको भन्दै बिदामा बस्न भनेका हुन्। अस्पतालहरूले अवस्था सामान्य भएपछि समस्या समाधान गर्ने बताएको राईले जानकारी दिइन्। 

संघले नर्स पेसाको स्थायित्व, तलब सुविधा बिमालगायतका समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराएको छ। संघले नर्सहरुको समस्या समाधान गर्न पहल गरिरहेकाले आन्दोलन गर्ने उपयुक्त नभएको उनको भनाइ छ। 

तलब नपाए अदालत जानुपर्छ : अफिन

निजी अस्पताल सञ्चालकहरूको संगठन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले भने तलबसुविधा नकाट्न र जबरजस्ती बिदामा बस्न बाध्य नपार्न निर्देशन दिएको छ।

अफिनका उपाध्यक्ष कुमारबहादुर बस्नेतले एसोसिएसनले सबै अस्पताललाई नर्स र अन्य स्वास्थ्यकर्मीलाई कोभिड–१९ का नाममा तलब सुविधा नकाट्न निर्देशन दिएको बताए। 

उनले भने, ‘नर्सले तलब नपाएको, सेवाबाट हटाइएको जस्ता गुनासा हामीले पनि सुनेका छौं।’ 

उनले काममा लगाएपछि तोकिएको न्यूनतम तलब दिनैपर्ने बताए। उनले भने, ‘काम लगाएर तलब दिएका छैनन् भने अदालत गए पनि हुन्छ।’

निजी क्षेत्रमा झन्डै ३० हजार कार्यरत

नेपाल नर्सिङ काउन्सिलमा ६० हजार सात सय ९५ नर्स दर्ता छन्। विदेशी नर्स आठ सय ४४ जना छन् भने अनमी ३३ हजार सात सय २४ गरी कुल ९५ हजार तीन सय ६३ छ। 

मेडिकल तथा नर्सिङ कलेज एसोसिएनका अनुसार नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजमा पाँच हजार नर्स कार्यरत छन्। 
निजी अस्पतालमा २५ हजार बढी नर्स कार्यरत छन्।  देशभर एक सय २५ सरकारी अस्पताल छन्। सरकारसँग नर्सको दरबन्दी १४ हजार ९९ छ। 

सरकारी सेवामा हाल नौ हजार नौ सय ५१ कार्यरत छन् भने चार हजार एक सय २१ दरबन्दी खाली छ। 

अनमी नर्सको दरबन्दी १० हजार रहेकोमा ६ हजार ३ सय १६ जना कार्यरत रहेको स्वास्थ्य मन्त्रालयका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ।

याे पनि ...

'मृत्युलाई हत्केलामा राखेर तिम्रो उपचार गर्दैछौँ, हामीलाई नै घरबाट निकाल्छौ ?'

 

प्रकाशित: Sep 22, 2020| 08:35 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।