आइतबार, असार ८, २०८२

बेहाल व्यवसायी, घर–सटरमा ‘टु–लेट’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल ठमेल क्षेत्रका करिब ६० प्रतिशत सटर खाली भएको बताउँछन्।
 |  बुधबार, भदौ १७, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, भदौ १७, २०७७

काठमाडौं– गएको फागुनसम्म पनि काठमाडौंमा भाडामा कोठा पाउन मुस्किल थियोे।

भनेजस्तो कोठा पाउन त ‘एजेन्ट’ लगाउँदा पनि मुस्किल। घरधनीलाई भने रोजी–छानी थियो।

लुमन्तीले गरेको एक अध्ययन (सन् १९९७) अनुसार काठमाडौंका अधिकांश घरधनीको आम्दानीको ४० प्रतिशत हिस्सा घरभाडाबाट प्राप्त हुन्छ भने भाडामा बस्ने ९५ प्रतिशत परिवारले आम्दानीको ३० प्रतिशतभन्दा बढी भाडामै खर्च गर्छन्।

तर, अहिले राजधानीका धेरै घर–सटरमा ‘सस्तोमा कोठा भाडामा पाइन्छ’ लेखिएका सूचना टाँसिएका छन्।

कोरोना संंकटका कारण व्यापार व्यवसाय गर्नेहरू पेसाबाट विस्थापित भएका छन्। अनौचारिक क्षेत्रमा काम गर्ने मजदुर पनि गाउँ फर्किसके। साना व्यवसाय गर्नेको व्यवसाय बन्द छ। विद्यार्थीको ठूलो संंख्या गुन्टा कसेर गाउँ फर्केको छ।

त्यसैले काठमाडौंका घर र सटर खाली छन्। घरबेटीको आम्दानी सुकेको छ।

ठमेलमा ट्रेकिङका सामानको व्यापार गर्दै आएका शिव पाण्डेले केही साताअघि पसलका सामान घरमा लगेर थन्क्याए। उनले छाडेको सटरमा अहिले ‘टु लेट’ लेखिएको छ।

‘लकडाउनका कारण व्यापारबाट निर्वाह नहुने अवस्था आयो, पसलका सामान घर लगेको छु,’ उनी भन्छन्।

ठमेलमै श्याम अधिकारीको घरका सटर पनि खाली भएका छन्। सटरमा व्यवसाय गर्नेहरु अहिले व्यापार छोडेर गाउँ फर्किएको अधिकारी बताउँछन्। उनका अनुसार छोडेर जानेले अब गाउँमै खेती गर्ने भन्दै गएका छन्।

‘मेरो मात्र होइन व्यवसाय नभएपछि धेरै घर खाली भएका छन्,’ अधिकारी भन्छन्, ‘व्यावसायिक क्षमता र विशेष रुचि हुनेहरु फेरि फर्किएलान् तर, पहिलेकै जस्तो अवस्था आउन अब लामै समय लाग्छ।’

गोरखाकी गीता देवकोटाले बालाजुमा सञ्चालन गर्दै आएको खाजा पसल पनि अहिले बन्द छ र, सटरमा टु–लेट टाँसिएको छ।

काठमाडौं उपत्यकाबाट चैत पहिलो सातामात्र करिब आठ लाख मानिस बाहिरिएको गृह मन्त्रालयको तथ्यांक छ।

केन्द्रीय तथ्यांक विभागको २०७४ को अनुमानित विवरणअनुसार काठमाडौंको जनसंख्या २० लाख ११ हजार, भक्तपुरको तीन लाख ४० हजार र ललितपुरको पाँच लाख २५ हजार छ।

काठमाडौं उपत्यकाको आधा जनसंख्या भाडामा बस्ने गरेको डेरावाल उपभोक्ता मञ्चका अध्यक्ष भुवन थापा बताउँछन्। मञ्चसँग यसको आधिकारिक तथ्यांक भने छैन।

‘धेरैको आम्दानी गुम्यो, कतिपय खर्च कटौती गर्न फ्ल्याट छोडेर सस्तो कोठामा सरेका छन्। कोठाभाडा तिर्न नसक्ने धेरै बाहिर गइसके,’ अध्यक्ष थापा भन्छन्।

१२० दिनको लकडाउन साउन ७ मा खुल्यो। तर, केही हप्तामै कोरोना संक्रमण फैलिन थालेपछि काठमाडौंका तीनवटै जिल्लामा फेरि लागू भएको निषेध आदेश जारी छ।

न्युरोड, वसन्तपुर, ठमेल, दरबारमार्ग, पुतलीसडक, बानेश्वर, असनजस्ता भीडभाड हुने बजार सुनसान छन्। व्यापारिक मल, फिल्म हल बन्द भएको महिनौं भइसक्यो।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल ठमेल क्षेत्रका करिब ६० प्रतिशत सटर खाली भएको बताउँछन्।

महँगो क्षेत्र ठमेल, दरबारमार्ग, न्युरोडलगायत क्षेत्रमा भाडा तिरेर मात्रै बस्ने अवस्था नभएपछि व्यवसायबाट पलायन हुनेको संख्या बढेको छ।

साउन ७ पछि करिब एक महिना लकडाउन खुल्दा २० प्रतिशतमात्रै व्यापार भएको थियो।

अग्रवालका अनुसार पाँचदेखि १० लाख रुपैयाँसम्म लगानी गरेर व्यवसाय थालेकाहरू उठ्नै नसक्ने अवस्थामा छन्। त्योभन्दा बढी लगानी गरेका मझौला व्यवसायी पनि धराशयी भएका छन्।

‘महामारी कहिले नियन्त्रण हुन्छ कसैले अनुमानसम्म गर्न सकेको छैन। जीविकोपार्जन कसरी गर्ने? साना तथा मझौला उद्योगी–व्यवसायीका लागि अवस्था संवेदनशील बन्दै गएको छ’, उपाध्यक्ष अग्रवालले भने।

पर्यटन व्यवसाय ठप्प छ। मनोरञ्जन र होटेल क्षेत्र कहिले खुल्ने थाहा छैन। सबैतिर अन्योल भएकाले व्यापारी पलायन भएका छन्।

उनले भने, ‘ऋण खोजेर भाडा तिर्नुपर्ने अवस्था आएपछि नछोडेर के गर्ने?’

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाल चेम्बर अफ इन्डस्ट्रिज एन्ड कमर्स काठमाडौंका उपाध्यक्ष राजेन्द्र शेरचन पनि न्युरोड, विशालबाजर, बानेश्वर क्षेत्रका व्यापारीले व्यवसाय छाडेर पलायन भएको बताउँछन्।

उनका अनुसार काठमाडौंमा व्यापार व्यवसाय छोड्नेमा रेस्टुरेन्ट, होटल व्यवसायी धेरै छन्। लकडाउनका कारण रेस्टुरेन्ट क्षेत्रमा संलग्नमध्ये ४० प्रतिशत बेरोजगार भएका छन्।

ठमेल क्षेत्रमा घरबेटीले ५० प्रतिशतसम्म भाडा छुट दिएकाहरु बसिरहेका तर भाडा छुट नभएकाहरु अन्यत्र लागेको उनले बताए।

उनले भने, ‘कतिले व्यवसाय छाडे भन्ने विवरण आइसकेको छैन। सबभन्दा धेरै व्यापार व्यवसाय छोड्ने क्षेत्र भनेको ठमेल हो। त्यसपछि न्युरोड, असन लगायतका क्षेत्रका व्यवसायी छन्।’

व्यापार व्यवसाय र पेसाबाट विस्थापित हुँदा डेरामा बस्नेको संख्या पनि घटेको डेरावाल उपभोक्ता मञ्चका अध्यक्ष थापा बताउँछन्।

तस्बिरहरू : दिनेश श्रेष्ठ

प्रकाशित: Sep 02, 2020| 17:20 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्