काठमाडौं। संस्कृति इन्टरनेसनल स्कुलले नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, ‘इन्फिनिटी फ्याब ल्याब’ (फ्याब्रिकेसन ल्याबोरेटरिज) को सुरुवात गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला देवी बज्राचार्य प्रमुख अतिथि रहेको उक्त उद्घाटन कार्यक्रममा थ्रिडिआई स्कुल, न्युजिल्यान्ड अक्याडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको उपस्थिति रहेको थियो।
उनले यस प्रयोगशालाको स्थापनालाई देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदम भएको बताए। उद्घाटनलगत्तै नयाँ फ्याब ल्याबको प्रदर्शनी भ्रमण कार्यक्रम गरिएको थियो।
विभिन्न नवीन शिक्षण उपकरणहरूद्वारा अतिथिहरूलाई आकर्षित तुल्याएको इन्फिनिटी फ्याब ल्याबको भ्रमण कार्यक्रमको मुख्य आकर्षण थियो।

अतिथिहरूले रचनात्मकता र ह्यान्ड्स–अन शिक्षण प्रणालीको हबको रूपमा काम गर्ने फ्याब ल्याबका असीमित सम्भावनाहरू पनि प्रत्यक्षरूपमा अनुभव गर्ने मौका पाएको स्कुलले जनाएको छ।
स्कुलले यो स्तरको पहिलो फ्याब ल्याब खोल्न पाउँदा आफुहरू अत्यन्तै खुसी भएको स्कुलकी निर्देशिका दिप्ती आचार्यले बताइन्।
‘यो प्रयोगशालाको स्थापनाले नयाँ प्रविधिलाई बढावा दिन र विद्यार्थीहरूलाई अत्याधुनिक सिकाइ अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा महत्वपूर्ण भूमिका खेलेको छ। हामीले अत्याधुनिक प्रविधि र उपकरणहरूले सुसज्जित नवीनतम प्रयोगशाला स्थापना गरेका छौँ, जहाँ विद्यार्थीहरूले डिजिटल निर्माण प्रक्रिया, थ्रिडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स र अन्य धेरै कुराहरू एक्सप्लोर गर्न सक्छन्,’ उनले भनिन्।
फ्याब ल्याबले रचनात्मक प्रविधिको हबको रूपमा काम गर्ने र विद्यार्थीहरूलाई आफ्नो पूर्ण क्षमता उजागर गर्न, आवश्यक सीपहरू विकास गर्न र नयाँ आविष्कारको लागि प्रेरित गर्न सक्षम बनाउने आचार्यले बताइन्।

फ्याब ल्याबले विद्यार्थीहरूलाई डिजिटल निर्माण प्रक्रिया, थ्रिडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स, र अन्य धेरै क्षेत्रहरूको बारेमा विस्तृत रूपमा बुझ्न उपकरण र प्रविधिहरूमा पहुँच प्रदान गर्ने स्कुलले जनाएको छ।
यस नयाँ फ्याब ल्याब स्थापनासँगै संस्कृति इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई ह्यान्ड्स–अन, इण्टर्डिसिप्लिनरि लर्निङ्गको अनुभवका साथै, सिर्जनात्मक, नवीनतम र समस्या समाधान गर्ने सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ।