काठमाडौं। सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ३१ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ लगानी भएको छ। २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७८ पुस मसान्तको तुलनामा ७.३ प्रतिशतले बढेर ३१ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३२.३९ प्रतिशतले बढेको थियो। कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश २०७९ पुस मसान्तमा ६४.९ प्रतिशत रहेको छ।
सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेता उपक्षेत्रमा सबैभन्दा बढी (३१.७ प्रतिशत) कर्जा प्रवाह भएको छ भने उपभोग्य कर्जा उपक्षेत्र, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्र, पर्यटन उपक्षेत्र, रियल स्टेट उपक्षेत्र, यातायात, भण्डारण र सञ्चार उपक्षेत्र, शिक्षा उपक्षेत्र, अन्य सेवा उपक्षेत्र, स्वास्थ्य र अन्य सामाजिक कार्य सम्बन्धी उपक्षेत्र र अन्य उपक्षेत्रमा क्रमशः २८.५ प्रतिशत, ६.५ प्रतिशत, ६.५ प्रतिशत, ५.३ प्रतिशत, ३.४ प्रतिशत, २.७ प्रतिशत, २.३ प्रतिशत, १.९ प्रतिशत र ११.५ प्रतिशत कर्जा प्रवाह भएको छ।

सेवा क्षेत्रमा प्रवाहित कर्जामध्ये बागमती प्रदेशमा प्रवाहित कर्जाको हिस्सा सवैभन्दा बढी ५२.९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सवैभन्दा कम (१.६ प्रतिशत) रहेको छ ।