बारा– कोरोना संक्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ।
गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।
बिहान दुई जना र राति दुई जनाले ज्यान गुमाएका हुुन्। राति ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डीएसपी मिश्रले बताए।
बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो।
मृतक चारजनाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोनो पोजिभिट देखिएपछि उपचाररत रहेका उनीहरुको अस्पतालमै ज्यान गएको हो।
योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। बारामा बुधबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४१६ रहेको छ।
संक्रमितमध्ये ८२ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्रमा छन् भने ३१९ जना घरमै छुट्टै बस्दै आएका छन्। बारामा हालसम्म २९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। बुधबार मात्रै बारामा २३ जना संक्रमित थपिएका छन्।-रासस