आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'मृत्युलाई हत्केलामा राखेर तिम्रो उपचार गर्दैछौँ, हामीलाई नै घरबाट निकाल्छौ ?'

'मृत्युलाई हत्केलामा राखेर तिम्रो उपचार गर्दैछौँ, हामीलाई नै घरबाट निकाल्छौ ?'

स्वास्थ्यकर्मीलाई घरबेटीले कोठा छोड्न दबाब दिने, अस्पतालका आइसोलेसन तोडफोड गर्नेलगायत घटना बढ्दै गएका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– ‘म डाक्टर/नर्स हुँ। म अस्पतालमा काम गर्छु। मलाई जुनसुकै बेलामा पनि कोरोना संक्रमण हुन सक्छ। हाम्रा बारेमा विरोध गर्नु वा हाम्रो सेवा लिनु तपाईंको रोजाइ हुन सक्छ। हामीलाई घरबाट निकाल, टोलबाट निकाल, अस्पतालबाट पनि निकाल। अनि तिमी बिरामी हुँदा कहाँ आउँछौ ? बिरामी त हामी पनि पर्दैछौं। मृत्युलाई हत्केलामा राखी तिम्रो उपचार गर्दैछौं। कोरोनाबाट त बाँचिएला तर तिम्रो दुर्व्यवहारबाट मलाई कसले बचाउने ?’

आफूहरुमाथि भइरहेको दुर्व्यवहारबारे चिकित्सक तथा स्वास्थ्यकर्मीले अहिले सामाजिक सञ्जालमा यसरी गुनासो गरिरहेका छन्। स्वास्थ्यकर्मीबाट कोरोना संक्रमण फैलन्छ भन्दै उनीहरुमाथि दुर्व्यवहार हुन थालेपछि एक किसिमको त्रास फैलिएको छ।

शनिबार मीनभवनस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने एक होस्टलमा स्थानीयले घेराउ गरे। स्वास्थ्यकर्मीबाट कोरोना सर्ने भन्दै होस्टल सञ्चालकमाथि दुर्व्यवहार भयो। चिकित्सक तथा नर्सहरुलाई होस्टलमा नराख्न स्थानीयले चेतावनी दिए।

त्यसअघि चितवनका डाक्टर विश्वबन्धु बगालेमाथि पनि दुर्व्यवहार भयो। उनी कोरोना संक्रमित भएपछि ‘कोरोना संक्रमित बस्ने घर’ भन्दै स्टिकर टाँस्नेसम्म प्रयास भयो।

चितवनकै रत्ननगरस्थित एक प्रयोगशालामा स्वाब संकलन गर्ने एक प्राविधिकलाई सामाजिक रूपमा अपहेलित गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थिएन तर पनि स्थानीयले घरमा बस्न नदिएपछि उनी २९ साउनमा होटलको सहारा लिन पुगेका थिए ।

गत वैशाखमा जाजरकोटमा पनि स्वास्थ्य कार्यालयमा काम गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भयो। पर्सामा पनि स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि दुर्व्यहारको घटना भएको छ।

वीरगन्ज–२ छपकैयाकी २० वर्षीया युवतीको २४ साउनमा मृत्यु भएपछि त्यसैको आक्रोशमा मृतकका आफन्त र स्थानीयले २५ साउनमा नारायणी अस्पतालमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा अस्पतालभित्र तोडफोडसमेत भएको थियो । प्रदर्शनकारीले अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहको निजी कारको सिसा फुटाए । अस्पतालका मेसु र डाक्टरविरुद्ध नाराबाजी पनि गरे ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका यी केही उदाहरणमात्र हुन्। पछिल्ला दिनमा स्वास्थ्यकर्मीलाई घरबेटीले कोठा छोड्न दबाब दिने, अस्पतालका आइसोलेसन तोडफोड गर्नेलगायत घटना बढ्दै गएका छन्।

कोरोनाविरुद्धको लडाइँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका दुर्व्यवहारका कारण उनीहरुको मनोबल घटेको भन्दै नेपाल चिकित्सक संघले चिन्ता व्यक्त गरेको छ।

‘कोभिड उपचारमा जुटेका स्वास्थ्यकर्मीप्रति सम्मान र सद्भाव बढ्नुपर्नेमा उल्टै दुर्व्यवहार भएको छ,’ नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले भने, ‘कारबाही नहुँदा दुर्व्यवहारका घटना दोहोरिरहेका छन्।’

डा. बुढाथोकीका अनुसार कोभिडको समयमा २५ वटा दुर्व्यवहारका घटना नेपाल चिकित्सक संघमा दर्ता भएका छन्। बाहिर नआएका अरु थुप्रै घटना भएको डा. बुढाथोकी बताउँछन्।

चिकित्सकमाथि जस्तोसुकै दुर्व्यवहार भए पनि अहिले कानुनी कारवाहीका लागि प्रक्रियामा नजाने चिकित्सक संघले जनाएको छ। डा. बुढाथोकी भन्छन्, ‘अरुले नबुझे पनि हामीले हाम्रो पेशाको मर्यादा राख्नैपर्छ। यो समय हामीले मानिसको ज्यान जोगाउनु छ। चिकित्सकले नै काम गर्दिनँ भन्ने हो भने यो संकटबाट कसरी मुक्ति पाउने ?’

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह पनि दुर्व्यवहार भए पनि आफ्नो कर्तव्यलाई पूर्णरुपमा निभाउने बताउँछन्। डा. सिंह अहिले पनि २५ साउनमा प्रदर्शनकारीले तोडफोड गरेको निजी गाडीमा हालेर कोरोना संक्रमितलाई अस्पताल ल्याउँछन्।

सिंह भन्छन्, ‘यो समयमा अरुले गल्ती गरे पनि हामीले गर्नु हुँदैन। दुर्व्यवहार भए पनि हामीले आफ्नो कर्म छोड्नु हुँदैन। त्यही समाजका मानिसको उपचार गर्दा हामी संक्रमित हुन पुगेका हुन्छौं, फेरि त्यही समाजबाट घृणित हुनुजस्तो लज्जास्पद कुरा अरु के होला र?’

चिकित्सक संघले सरकारले गरेको निर्णय कार्यान्वयन गराउन आग्रह गरेको छ। गत जेठमा गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको थियो।

मन्त्रालयले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुर्व्यवहार गर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायहरुलाई निर्देशन थियो। तर, मन्त्रालयको सो निर्देशनअनुसार कसैलाई कारबाही नभएकोमा चिकित्सक संघको असन्तुष्टि छ।

‘जसरी सुरक्षाकर्मीलाई ड्युटीको समयमा कसैले दुर्व्यवहार गरे कारबाही गरिन्छ, सोहीअनुसारको कारबाहीको लागि हामीले माग गरेका हौं। तर, त्यस्तो भएन,’ कोषाध्यक्ष डा. बुढाथोकीले भने।

गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयसँग पनि निर्णय कार्यान्वयनमा ल्याउन आग्रह गरिए पनि कारबाही प्रभावकारी हुन नसकेको संघले बताएको छ। स्वास्थ्यकर्मीलाई दुर्व्यवहार हुँदा दोषीलाई कारबाही गर्न सरकार उदासीन भएको संघको आरोप छ।

‘दुर्व्यवहारका घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ तर त्योभन्दा अरु केही भएको छैन। सरकारले कारबाही गर्न सक्दिन भन्छ भने हामी आफैं स्वास्थ्यकर्मीको सुरक्षाको लागि प्रकृया अगाडि बढाउँछौं,’ डा. बुढाथोकीले भने।

चिकित्सकमाथि दुर्व्यवहारका घटना बढेपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि सरकारलाई यसबारे सचेत गराएको छ। स्वास्थ्यकर्मी तथा चिकित्सकप्रति सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोगले सम्बद्ध सबैलाई आग्रह गरेको छ।

प्रकाशित: Aug 25, 2020| 17:40 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।