आइतबार, असार ८, २०८२

होम आइसोलेसन कति सुरक्षित ?

सरकारले होम आइसोलेसनको लागि मापदण्ड तयार गरेको छ। सो मापदण्ड पालना नगरेमा घरबाट परिवार, परिवारबाट समुदायमा कोरोना फैलने जोखिम हुने विज्ञहरु बताउँछन्।
 |  मंगलबार, भदौ २, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, भदौ २, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघिसकेको छ भने संक्रमणमुक्त हुनेको संख्या पनि १७ हजारभन्दा बढी छ। हाल सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ छ।

काठमाडौं उपत्यका लगायत घना बस्ती भएका क्षेत्रमा कोरोना संक्रमितहरुले अस्पतालका बेड भरिएका छन्। संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुने भएपछि सरकारले लक्षण नदेखिएका संक्रमितहरुलाई घरमै राख्न मिल्ने निर्देशिका तयार गरी घरमै राख्न थालेको छ।

लक्षण सहितका संक्रमित तथा जटिल बिरामीको संख्या बढ्न थालेपछि सरकारले लक्षण नदेखिएकालाई घरमै राख्न थालेको हो। स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितलाई घरमै राखिएको सरकारी अधिकारीहरुले बताएका छन्। सोमबारसम्म देशभर २ हजार ६०१ जना कोरोना संक्रमित होम आइसोलेनमा छन्।

प्रदेश १ मा १२२ जना, प्रदेश २ मा २ हजार १७० जना, बागमतीमा १११, प्रदेश ५ मा १८५, कर्णालीमा ११ जना र सुदूरपश्चिममा १२ जना संक्रमित होम आइसोलेसनमा छन्। देशभर होम आइसोलेसनमा राखिएका संक्रमितलाई सरकारी मापदण्ड पालना गर्ने सर्तमा घरमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सामान्य संक्रमितलाई अस्पतालमा राख्दा सिकिस्त र आईसीयू वा भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितको उपचारमा समस्या हुने भन्दै अप्ठेरो नपरेसम्म अस्पताल नआउन आग्रह गरिएको बताएका छन्। होम आइसोलेसनमा बस्ने संक्रमितलाई स्वास्थ्यमा समस्या भए अस्पताल ल्याउन सरकार तयार रहेको पनि उनले बताए।

काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा आईसीयू भरिएका छन् भने आइसोलेसन बेड पनि खाली छैनन्। पछिल्लो समय पुष्टि भएका लगभग २० प्रतिशत बिरामीमा लक्षण देखिन थालेपछि सरकारले बेड अभाव हुने भन्दै घरमै बस्न आग्रह गरेको हो। संस्थागत आइसोलेसनमै रहनेको संख्या पनि ७ हजार ३८ पुगेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले घरमा रहेका संक्रमितहरुलाई स्वास्थ्यकर्मीले फोनबाट निगरानी गरिरहेको बताए। त्यसको जिम्मा स्थानीय तहलाई दिइएको छ। जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय, प्रदेश सरकारले पनि नियमन गर्छन्,’ निर्देशक डा. पाण्डेले भने।

डेरा गरेर बस्ने वा होम आइसोलेसनमा बस्न सम्भव नभएकालाई सरकारी आइसोलेसनमा राखिएको उनले बताए। संक्रमितले नियमको पालना गरेर बसेमा होम आइसोलेसन प्रभावकारी हुने उनी बताउँछन् ।

मापदण्ड पालना नगरे खतरा

सरकारले होम आइसोलेसनको लागि मापदण्ड तयार गरेको छ। सो मापदण्ड पालना नगरेमा घरबाट परिवार, परिवारबाट समुदायमा कोरोना फैलने जोखिम हुने विज्ञहरु बताउँछन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनिका अनुसार संक्रमितले नियम पालना नगर्ने र सरकारको निगरानी भएन भने सोचेको भन्दा बढी भयावह अवस्था आउन सक्छ।

‘अन्य देशहरुले पनि होम आइसोलेसनको व्यवस्था गरेका छन्। तर होम आइसोलेसन सिस्टममा नहुँदा नियन्त्रण गर्नै नसकिने अवस्था आउन सक्छ,’ उनले भने। घरमा रहेका संक्रमितले नियम पालना गरेन भने पहिले परिवार त्यसपछि समुदाय जोखिममा पर्ने डा. मरासिनि बताउँछन् ।

संक्रामक रोग विषेशज्ञ डा. शेरबहादुर पुनका अनुसार होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्थाबारे सरकारले नियमित निगरानी गर्नुपर्छ। ‘घरमा रहेका संक्रमितलाई जटिल भएमा तुरुन्त अस्पताल ल्याउन सक्ने व्यवस्था हुनुपर्छ। साथै एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ,’ डा. पुनले भने।

होम आइसोलेसनमा बस्ने यस्तो छ मापदण्ड

प्रकाशित: Aug 18, 2020| 06:15 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्