काठमाडौं- इजी ट्याक्सी सञ्चालन गर्दै आएको इजी एस्योरेन्स प्रा.लि. र माछापुच्छ्रे बैंकबीच विद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्ने सम्झौता भएको छ।
सम्झौतामा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापा र इजी एस्योरेन्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरे।
सम्झौतापछि इजी ट्याक्सीको सेवा लिने ग्राहकहरुले माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरि भाडा भुक्तानी गर्न सक्ने छन्।
देशभर डिजिटल सेवाको उपयोग बढिरहेको बेलामा इजी एस्योरेन्स प्रा.लि.ले इजी ट्याक्सी नेपाल एपमार्फत प्रविधिमैत्री ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको छ।
सम्झौतापछि बोल्दै इजी ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए।
“हामीले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिइरहेको बेलामा रकम भुक्तानीमा समस्या भइरहेको थियो। अब सो समस्या समाधान भएको छ। आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,” प्रबन्ध निर्देशक पौडेलले भने।
मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनीकरण गर्न तथा ग्राहकहरुलाई विद्युतिय कारोबारमा प्रोत्साहित गर्न सम्झौता गरिएको बताइएको छ।
यस्तै, इजी नेपालका ट्याक्सी प्रयोगकर्ताले जुनसुकै बैंकको मोवाइल बैंकिङ एपको माध्यमबाट क्युआर कोड स्क्यान गरि भाडा भुक्तानी गर्न सक्नेछन्।
पछिल्लो दिन क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ। रकम भुक्तानीका लागि प्रापकको खाता नम्बर, नाम लगायतका विवरण लिखितरुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनै पनि क्युआरकोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाइमा परेको छ।