‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ नाराका साथ मनाइएको विश्व स्तनपान सप्ताह आज (शुक्रबार)बाट सकिँदैछ।
प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म नेपाललगायत १७० देशमा मनाइँदै आएको स्तनपान दिवस कोरोना भाइरसका कारण यस वर्ष प्रभावित बन्यो। प्रत्येक वर्ष दिवसका अवसरमा विभिन्न कार्ययोजना प्रस्तुत गर्ने, कार्यक्रम आयोजना गरे पनि ती योजना र कार्यक्रमले खासै सार्थकता पाउन सकेको पाइँदैन।
फलस्वरुप नेपालमा स्तनपान गराउने दर उल्टो दिशामा देखिएको छ। सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमाको दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिए पनि स्तनपान गराउने आमाको संख्या भने घट्दै गएको छ।
स्वास्थ्य सेव विभाग अन्तर्गत रहेको परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार सन् २०११ मा पूर्णरुपमा स्तनपान गराउने आमाको संख्या ७० प्रतिशतमा भएकोमा सन् २०१६ मा आइपुग्दा घटेर जम्मा ५५ प्रतिशतमा झरेको छ।
५ वर्षमा १५ प्रतिशत स्तनपानको दर घटेको छ। परिवार कल्याण महाशाखाका प्रमुख झलक गौतमका अनुसार कार्यालयमा काम गर्ने आमाको संख्यामा वृद्धि हुँदै जानु, कार्यस्थलमा स्तनपान गराउने कक्षको व्यवस्था नहुनु र बट्टाको दूधको प्रयोग बढ्दै जानुले स्तनपान गराउने आमाको संख्यामा कमी आएको हो।
बच्चा जन्मेको १ घण्टाभित्र शिशुलाई आमाको दूध खुवाउनुपर्ने चिकित्सकको सुझाव रहे पनि नेपालमा बच्चा जन्मेको १ घण्टामा स्तनपान गराउनेको संख्या जम्मा ५५ प्रतिशत छ भने ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ।
विश्व स्वास्थ्य संघको तथ्यांकअनुसार स्तनपानलाई सुधार गरिएमा वार्षिक रूपमा विश्वभर ८ लाख भन्दा बढी शिशुको ज्यान जोगाउन सकिन्छ।
उपत्यकाको अवस्था दयनीय
पछिल्लो समय सहरी क्षेत्रमा स्तनपान गराउने आमाको अवस्था दयनीय देखिएको छ। महाशाखाको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा स्तनपान गराउने ५५ प्रतिशतमात्रै आमा छन्। सहरीकरणले गर्दा बट्टाको दूध खुवाउने, स्तनपान गराउँदा आमाको सौन्दर्यमा असर गर्छ भन्ने मान्यताले बच्चालाई स्तनपान नगराउने प्रवृति रहेको प्रमुख गौतम बताउँछन्।
उपत्यकामा ४१ प्रतिशत आमाहरुले मात्रै बच्चा जन्मेको एक घण्टामा दुध खुवाउने गरेको तथ्यांकले देखाएको छ। रोजगारी गर्ने महिलाको संख्या पनि अन्य ठाउँमा भन्दा धेरै भएकाले पनि आमाहरुले पूर्णरुपमा स्तनपान गराउन नपाएको गौतम बताउँछन्। तर कामको दबाब नहुने महिलाले पनि आफ्ना बच्चालाई आवश्यक स्तनपान नगराएको उनको ठम्याइ छ।
४० प्रतिशत बालबालिकाको उमेरअनुसार वृद्धि छैन
नेपालमा स्तनपान कम भएका कारण ४० प्रतिशत बालिबालिकाको उमेरअनुसारको वृद्धि नभएको विज्ञहरु बताउँछन्। स्तनपान नगराउनुले बालबालिकाको उचाइ कम हुने, कुपोषित हुने, सुस्त हुने, उमेरअनुसार वृद्धिविकास नहुने समस्या हुन्छ।
सन् २०१६ को तथ्यांकअनुसार नेपालमा १ वर्षसम्मका ७९.६ प्रतिशत शिशुले स्तनपान गर्न पाएका छन् भने २ वर्षदेखि ३ वर्षसम्मका ७२.२ प्रतिशत र ४ देखि ५ वर्षसम्मका ४०.९ प्रतिशत बालबालिकाले स्तनपान गर्ने गरेका छन्। त्यसैगरी, ६ देखि ८ वर्षसम्मका ६ प्रतिशत बालबालिकाले स्तनपान गरेको महाशाखाको तथ्यांकमा उल्लेख छ।
परिवार कल्याण महाशाखाका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई मात्रै जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ। २०१६ मा बच्चा जन्माएको एक घण्टामा स्तनपान गराउने आमाको संख्या प्रदेश ७ मा सबैभन्दा धेरै (७०.७ प्रतिशत) छ भने प्रदेश २ मा सबैभन्दा कम (४५.३ प्रतिशत) छ।
सुत्केरी बिदा पर्याप्त छैन
सरकारले महिलालाई ९८ दिन सुत्केरी बिदा दिँदै आए पनि पर्याप्त नभएको महाशाखाका पोषणविद् केदार पराजुली बताउँछन्। निजी संस्थामा काम गर्नेको हकमा झनै सहज नभएको उनको भनाइ छ। ‘बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध बाहेक अन्य खानेकुरा खुवाउनु हुँदैन,’ पराजुली भन्छन्, ‘३ महिना बिदा दिएर बच्चालाई आमाले कसरी पूर्णरुपमा स्तनपान गराउने ?’
स्तनपान नगराई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु खुवाउँदा विश्वमा वार्षिक ३ सय खर्ब खर्च हुने गरेको आँकडा छ। पछिल्लो समय महिला घरबाहिरको काममा व्यस्त हुँदा बच्चालाई स्तनपान गराउन नसकेको परिवार कल्याण महाशाखाका पोषणविद् केदार पराजुली बताउँछन्। बढी मात्रामा घरबाहिर काम गर्न जाने हुँदा पर्याप्त मात्रामा बालबालिकालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गएको पराजुलीको भनाइ छ।
ऐनविपरीत सामान बिक्री
सरकारले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्न प्रतिबन्ध लगाएको छ। स्तनपानलाई प्रवर्द्धन गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९’ तथा नियमावली २०५१ लागू गरिए पनि यसको प्रभावकारी अनुगमन नहुँदा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री बढिरेहको पाइन्छ। यसमा अनुगमन फितलो भएको महाशाखाका प्रमुख गौतम स्वीकार गर्छन्।
दूधको प्रतिस्थापमान बिक्री हुने गरेका बट्टाको दूध, पाउडर दूधलगायत अझैसम्म पनि प्रतिबन्धित हुन सकेका छैनन्। गौतम भन्छन्, ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण बढिरहेकोले बच्चाको पोषण स्थितिमा नकारात्मक प्रभाव पारेको देखिन्छ।’
सार्वजनिक स्थलमा स्तनपान कक्ष अभाव
महिलालाई सार्वजनिक स्थलमा स्तनपान कक्ष नहुँदा समस्या पर्ने गरेको छ। सार्वजनिक स्थलमा शिशु भोकाएमा आमाहरुलाई छटपटी हुन्छ। आमाहरु कहिले होटलतिर छिरेर स्तनपान गराउँछन्, त कसैले सलले वा कपडाले छोपेर गराउँछन्।
पछिल्लो समय सरकारीमात्र नभएर अधिकांश निजी कार्यालयमा पनि स्तनपान कक्षको व्यवस्था गरिएको छ। तर, मान्छेको बढी चहलपहल हुने सार्वजनिक स्थलमा भने अझै पनि स्तनपान कक्ष निर्माण गरिएको छैन। यसकारण आमाले बच्चालाई स्तनपान गराउँदा समस्या भोग्नुपरेको छ।
सरकारले दुई वर्ष अगाडिबाट स्तनपान कक्ष निर्माणको अभियान सञ्चालन गरेको परिवार कल्याण महाशाखाका पोषणविद् केदार पराजुलीले बताए। अभियानअनुरुप हाल प्रत्येक स्थानीय तहका कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ। पराजुली भन्छन्, ‘केही सार्वजनिक स्थलहरुमा पनि स्तनपान कक्ष निर्माण गरिएको छ, खुल्ला सार्वजनिक स्थलहरुमा पनि कक्ष स्थापना गर्ने क्रममा छौं।’
स्तनपानका फाइदा
बालबालिकाका लागि आमाको दूध पहिलो खोप हो । विश्व स्वास्थ्य संगठनका अनुसार जन्मेको पाँच वर्षभित्र शिशुको ९० प्रतिशत मानसिक विकास हुन्छ । यसका लागि उसलाई अनिवार्य रूपमा पूर्ण स्तनपान गराउनुपर्ने हुन्छ।
पोषणविद् डा. अतुल उपाध्यायका अनुसार स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून हुन्छ। साथै गर्भावस्थामा बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्छ।
अत्यधिक मात्रामा बजारिया दूध खुवाउँदा आर्थिक भार बढ्नुको साथै आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्ने चिकित्सकहरू बताउँछन्। बट्टाको दूध खाँदा बालबालिकामा कुपोषण हुने, होचो हुने, तेजिलो दिमाग नहुनेजस्ता समस्या देखिन्छ।