आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ‘पीसीआरका लागि स्वाब दिएर भीडभाडमा जान्छन्, अनि कसरी नफैलियोस् कोरोना ?’

‘पीसीआरका लागि स्वाब दिएर भीडभाडमा जान्छन्, अनि कसरी नफैलियोस् कोरोना ?’

कार्यालय तथा संघसंस्था खुल्न थालेपछि अस्पतालमा कामकाजीको संख्या पनि बढेको छ, पीसीआर परीक्षणका लागि।
 |  सोमबार, साउन १९, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, साउन १९, २०७७

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अहिले दैनिक १५ सयको हाराहारीमा कोरोना निदानका लागि पीसीआर परीक्षण गर्न मानिसहरु पुग्छन्।

नेपालमा कोरोना संक्रमण सुरु भएसँगै सरुवा रोग अस्प्तलामा भीड बढ्न थालेको थियो। लकडाउनको सुरुवाती समयमा अस्पताल पुग्ने सेवाग्राहीको संख्यामा केही कम भए पनि वैशाखदेखि कोरोना परीक्षणका लागि पुग्नेहरुको संख्या निकै बढेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।

नेपालमा कोरोना संक्रमणको सुरुवात भएदेखि नै अस्पतालमा हुँदै आएका अन्य उपचारलाई बन्द गरेर कोरोना फोकस अस्पतालको रुपमा राखिएको थियो। त्यसैले पनि कोरोना परीक्षणको लागि मानिसको भिड बढेको अस्पतालको भनाइ छ।

अहिले अस्पताललाई कोरोना परीक्षण गर्न आउने मानिसहरुको व्यवस्थापन गर्न भ्याइ–नभ्याइ छ। ‘अस्पतालमा अहिले दैनिक १५ सयको हाराहारीमा कोरोना परीक्षणको लागि मानिसहरु आउँछन्,’ निर्देशक राजभण्डारीले भने, ‘लकडाउन खुलेपछि अस्पतालले व्यवस्थापन गर्नै गाह्रो हुनेगरी मानिसहरुको भिड लागेको छ। घर भाडामा बस्नेलाई घरबेटीले परीक्षण नगराई घरमा प्रवेश नदिने समस्या अझै जस्ताको त्यस्तै छ।’

अझै पनि घरबेटीले बाहिरी जिल्लाबाट काठमाडौं आइरहेका मानिसलाई पीसीआर परीक्षणको रिपोर्ट नदेखाई घर छिर्न निषेध गरेर दुःख दिइरहेको भाडामा बस्नेहरु बताउँछन्। अस्पतालको रिपोर्ट नेदखाई घर प्रवेश गर्न नपाएपछि उनीहरु कोरोना परीक्षणका लागि टेकुमा लाम लाग्छन्। लकडाउन खुलेसँगै संक्रमण बढिरहेकाले पछिल्लो समय घरबेटी कठोर बनेको निर्देशक राजभण्डारी बताउँछन्।

कार्यालय तथा संघसंस्था खुल्न थालेपछि अस्पतालमा कामकाजीको संख्या पनि बढेको छ पीसीआर परीक्षणका लागि। अस्पताल पुग्नेमध्ये ६० प्रतिशत तराईबाट आएको डा. राजभण्डारी बताउँछन्।

कोठामा पुग्दा घरधनीको पीसीआर माग, राजधानी बाहिरबाट फर्के वडाको पीसीआर माग, अस्पतालमा बसेर फर्के पीसीआर माग, विभिन्न कार्यालयहरुले पीसीआर माग गरेकाले पीसीआर गर्नेको संख्या बढेको उनको भनाइ छ। एकातिर अस्पतालमा पुग्नेको भीड, अर्कोतिर संक्रमितमा लक्षण देखिन थाल्नुले भयावह अवस्था आउने विज्ञहरु बताउँदै आएका छन्।

किन देखिँदैछ लक्षण ?

कोभिड–१९ बाट संक्रमित भई आईसीयूमा भर्ना हुनेको संख्या बढ्न थालेको छ। केही दिनयता लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगै आईसीयूमा जानेको संख्यामा वृद्धि भएको छ।

हाल करिब एक तिहाइ कोरोना संक्रमितमा लक्षण देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेका अनुसार केही दिनअघिसम्म जम्मा १ प्रतिशत संक्रमितमा मात्र लक्षण देखिएको थियो।

शुक्रराज अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार कुनै न कुनै अन्य रोग भएका मानिसहरुमा बढी लक्षण देखिएको छ। अन्य रोगको औषधि सेवन गरेका, वृद्धवृद्धामा लक्षण देखिएको छ। संक्रमणको दर बढेकाले लक्षणहरु पनि बढेको उनी बताउँछन्।

उपत्यका बाहिरबाट आएका एक जनालाई कोरोना देखिएपछि परिवारका अरू सदस्यलाई पनि सरिरहेको इपिडिमियोलोजीको तथ्यांकमा छ। बाहिरबाट काठमाडौं प्रवेश गरेका सैलुनमा काम गर्ने व्यक्ति, ड्राभइर, मजदुर, व्यापारीदेखि जनप्रतिनिधिसम्मको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना देखिएको छ।

उपत्यकामा देखिएका संक्रमितमा पर्साको वीरगन्जबाट आएकालाई बढी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

काठमाडौंमा किन संक्रमण फैलिरहेको छ ?

लकडाउन खुलेसँगै बजारमा चहलपहल बढेको छ। धेरै समयको बन्दाबन्दीका कारण मानिसहरु बाहिर निस्केर उत्साहित पनि भएका छन्। तर बाहिर निस्कँदा सामान्य जनस्वास्थ्यका मापदण्ड पनि नअपनाएकाले उपत्यकामा संक्रमण फैलिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

‘उपत्यका बाहिरबाट आउनेहरुलाई पनि संक्रमण देखिएको छ,’ प्रवक्ता गौतम भन्छन्, ‘नाकामा स्वाब दिएर उनीहरु बिना सावधानी भीडमा जाँदा रहेछन्। कोरोना पुष्टि भएपछि कहाँ हुनुहुन्छ भनेर फोन गर्दा म व्यस्त बजारमा छु भन्छन्। अनि कसरी संक्रमण फैलँदैन ? नागरिक स्वंयम् सचेत नभए भयावह अवस्था आउँछ।’

प्रकाशित: Aug 03, 2020| 12:15 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।