जुनबेला वीरगन्जमा ९० जना कोरोना संक्रमित थिए, त्यतिबेला मुश्किलले २–३ जनामा खोकी लाग्ने, जिउ दुख्ने आदि लक्षण देखिएको थियो। तर, अहिले झण्डै ५० प्रतिशतमा लक्षण देखिएको छ।
काठमाडाैं- कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ कि छैन भन्नेबारेमा सरकार र जनस्वास्थ्य विज्ञहरुबीच केही समययता जुहारी चलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समुदायस्तरमा कोरोना पुगिनसकेको दलिल पेश गरिरहेको छ भने विज्ञहरु समुदायमा पुगिसकेको दाबी गरिरहेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिएको भए पनि समुदायमा फैलिएको भन्न नमिल्ने तर्क गर्छन्। ‘यो क्लस्टर केस हो, समुदायमा संक्रमण फैलिएको होइन।’ कोरोना भाइरस समुदायमा फैलिएको छ कि छैन भनेर स्थानीय तहबाट थप खोजपड्ताल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो समय समुदायमा लक्षणसहितका संक्रमित देखिन थालेपछि संक्रमण अझ धेरै फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन्। हाल प्रदेश २ र काठमाडौं उपत्यकाका संक्रमितहरुमा कोरोनाको लक्षण देखिन थालेकाे छ।
कुन प्रदेशको कस्तो अवस्था ?
प्रदेश १
प्रदेश १ मा संक्रमित भएका मध्ये अधिकांशको लक्षण सामान्य छ। अहिलेसम्म गम्भीर केसहरु नदेखिएकाले कसैलाई पनि आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आइनसकेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता बताउँछन्।
संक्रमणको सुरुवाती दिनमा उदयपुर, धनकुटा जिल्ला अस्पताल र दमकमा संक्रमण बढी देखिए पनि पछिल्लो समय विराटनगर, झापा, इलाममा समुदाय स्तरमा संक्रमण देखिएको विज्ञहरुले बताएका छन्। यी स्थानमा स्थानीय, चिकित्सक तथा प्रहरीलाई संक्रमण देखिएको छ।
यसले संक्रमण समुदायमा गएको हुनसक्ने अनुमान गरिएको छ। तर, अहिलेसम्म क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङ गरी शंकास्पद मानिसहरुको मात्र परीक्षण गरिएको छ। समुदायमै परीक्षण सुरु गरिएको छैन। प्रदेश १ मा ६८ प्रतिशत संक्रमित भारतबाट आएका हुन्। कुल संक्रमितमध्ये १३ प्रतिशत संक्रमित लक्षणसहितका छन्।
प्रदेश २
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा सबैभन्दा जोखिमयुक्त प्रदेशको रुपमा प्रदेश २ छ। वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेपछि आइसोलेसन अभाव भएको छ। दुई दर्जनभन्दा बढी संक्रमित घरमै छन्।
जुनबेला वीरगन्जमा ९० जना कोरोना संक्रमित थिए, त्यतिबेला मुश्किलले २–३ जनामा खोकी लाग्ने, जिउ दुख्ने आदि लक्षण देखिएको थियो। तर, अहिले झण्डै ५० प्रतिशतमा लक्षण देखिएको छ।
संक्रमण भएको २–३ दिनभित्रै ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, पखाला लाग्नेजस्ता लक्षणहरु देखिन थालेको अस्थायी कोभिड अस्पताल नारायणीका संयोजक डा. उदयनारायण सिंह बताउँछन्। अहिले उपचाररत बिरामीमध्ये आईसियुमा र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको उनले जानकारी दिए।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय पछिल्लो अवस्था हेर्दा समुदायमा संक्रमण फैलिएको छ भन्ने अवस्था रहेको बताउँछन्। कतिपय संक्रमितको स्रोत पत्ता लाग्न नसकेको उनले बताए।
बागमती
बागमती प्रदेशको काठमाडौं उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिएको बारेमा विज्ञ र मन्त्रालयबीच नै असहमति छ। संक्रमितको स्रोत पत्ता नलागेपछि विज्ञहरुले समुदायमा फैलिएको बताइरहेका छन् भने मन्त्रालयले आशंका गरिएका ठाउँमा परीक्षण गर्दा संक्रमित नभेटेपछि समुदायमा संक्रमण नफैलिएको निष्कर्ष निकालेको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएका संक्रमितमध्ये अहिले ३० प्रतिशतमा लक्षण देखिएको छ। लक्षण देखिएका केही संक्रमितलाई आईसीयुमै राख्नुपर्ने अवस्थामा रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पताल, भरतपुर अस्पतालमा भएका संक्रमितमा पनि सामान्य लक्षण देखिएको छ।
गण्डकी
गण्डकी प्रदेशमा कोरोना संक्रमणको अवस्था सामान्यतर्फ गइरहेको बताइएको छ। कोही पनि संक्रमितको स्वास्थ्य अवस्था जटिल नरहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्मा बताउँछन्। गण्डकीमा अहिलेसम्म क्वारेन्टिन र आइसोलेसनमा रहेका तथा संक्रमितसँगको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ। समुदायमा पनि परीक्षण फाट्टफुट्ट भइरहेको छ।
प्रदेश ५
प्रदेश ५ मा कोरोनाका कारण मुलुकभर १९ हजार ६३ जना संक्रमित हुँदा प्रदेश ५ मा ४ हजार २३२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये तीन हजार ९०४ जना निको भई घर फर्किसकेको प्रदेश ५ स्वास्थ्य प्रशासन प्रमुख डा. उमाशंकर चौधरीले बताए। उनका अनुसार प्रदेशमा ९३ आइसोलेसन सेन्टरमा ३१५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ।
अहिलेसम्म संक्रमितको अवस्था सामान्य नै देखिएको छ। प्रमुख जिल्ला अधिकारी महादेव पन्थले प्रदेश ५ मा यतिबेला झनै खतरा बढेको बताए। उनका अनुसार होम क्वारेन्टिनमा बसेकाको पुनः परीक्षण गर्न सकिएको छैन।
‘मानिसहरु मास्क नलगाइ हिँड्न थालेका छन्। बजार, सवारीसाधन, उद्योगधन्दा खुल्न थालेका छन्। तर, सावधानी अपनाएको देखिँदैन। त्यसैले हामी खतरामा नै छौं। कोरोना संक्रमण समुदायमा पुग्ने खतरा देखिएको छ,’ उनले भने।
कर्णाली
कर्णालीमा संक्रमितको अवस्था सामान्य भएको बताइएको छ। अहिलेसम्म संक्रमित कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएका छैन। क्वारेन्टिनमा बसेका, कन्ट्याक्ट टे«सिङ गरिएका र समुदायका समेत परीक्षण गरिएको छ।
पछिल्लो समय दैलेख, सुर्खेत र सल्यानमा ट्राभल हिस्ट्री नभएका र लकडाउनअघिसम्म समुदायमै रहेका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। समुदायका केही व्यक्तिमा कोरोना पुष्टि देखिँदैमा संक्रमण फैलिएको भन्न नमिल्ने मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीको तर्क छ।
तर ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण देखिनु भनेको समुदायमा कोरोना प्रवेश गरेको संकेत भएको प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डा. केएन पौडेलले बताए। तर कर्णाली सामाजिक विकास मन्त्रालयले समुदायमा संक्रमण नफैलिएको जनाएको छ।
सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका संक्रमितमा लक्षण देखिएको छैन। भारत र तेस्रो मुलुकबाट आएकाहरु जो क्वारेन्टिनमा बसेका छन्, उनीहरुको आरडीटी र पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आइरहेको छ।
अहिलेसम्म क्वारेन्टिनमा रहेका र कोरोना संक्रमितको संक्रमणमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण हुँदै आएको छ। समुदायमा संक्रमण नदेखिएको भन्दै समुदायमा परीक्षण सुरु गरिएको छैन।
लक्षण देखिनु चिन्ताको विषय
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि लक्षणसहितका संक्रमितको संख्या बढिरहको बताएको छ। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार वीरगन्जमा लक्षण भएका बिरामी देखिएका छन्। काठमाडौं उपत्यकामा पनि संक्रमितहरुमा लक्षण देखिन सुरु गरेको छ।
‘लक्षण देखिनु भनेको जोखिम बढ्नु हो,’ डा. पाण्डेले भने, ‘खोकी लाग्ने, ज्वरो आउनेमात्र लक्षण थियो। अहिले सास फेर्न गाह्रो हुने, जिउ दुख्ने, बासना थाहा नपाउने, नाक ब्लक हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने, जाडो हुने, टाउको दुख्नेलगायत लक्षण देखिन थालेको छ।’
परीक्षणको दायरा बढेन
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत असार १५ मा दैनिक १० हजार पीसीआर परीक्षण गरिने बताएका थिए। तर ढकालले यस्तो भनेको एक महिना पुगिसक्दा पनि दैनिक पीसीआर परीक्षण बढेको छैन। न त दायरा नै बढेको छ। अहिले दैनिक ४ हजारको हाराहारीमा मात्रै कोरोना पीसीआर परीक्षण भइरहेको छ।
सरकारले हालसम्म क्वारेन्टिनमा रहेका र संक्रमितको सम्पर्कमा आएकाको मात्र पीसीआर परीक्षण गरिरहेको छ। कन्ट्याक्ट ट्रेसिङमा आएका बाहेक अन्यको परीक्षण निकै कम भएको छ।
जनस्वास्थ्यका विज्ञ शरद वन्तर नेपालमा गरिएको कन्ट्याक्ट ट्रेसिङ नै नमिलेको दाबी गर्छन्। ‘कोरोना परीक्षणको दायरा बढाउन प्रभावकारी विधि हो, कन्ट्याक्ट ट्रेसिङ। तर यो फितलो छ। सरकारले परिवार र आफन्तको मात्रै कन्ट्याक्ट ट्रेसिङ गरेको छ, यो वैज्ञानिक छैन। कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमित पुगेका सबै ठाउँका मानिसको पहिचान गरी परीक्षण गर्नु आवश्यक छ,’ डा. वन्त भन्छन्।
सरकारले कोरोना परीक्षणका लागि तयार गरेको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ निर्देशिकाले परीक्षण खुम्चिएको विज्ञहरुले बताउँदै आएका छन्। लकडाउन हटेपछि झनै जोखिम बढेकाले कन्ट्याक ट्रेसिङ चुस्त बनाउनुपर्नेमा सरोकारवालाको जोड छ।
जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित संक्रमितमा किन लक्षण देखिन थालेको हो, अनुसन्धान गर्नु आवश्यक रहेकोमा जोड दिन्छन्। ‘पछिल्लो समय भाइरसले स्वरुप परिवर्तन गरेको हो कि अर्को प्रजातिको भाइरस हो, त्यो पनि अनुसन्धानबाटै पत्ता लाग्छ। लक्षणसहितका बिरामी देखिन थालेपछि अरुलाई सर्ने जोखिम पनि उच्च हुन्छ। लक्षण नहुँदा खोकी लाग्दैन, हाछ्यूँ आउँदैन, घ्यारघ्यार हुँदैन। त्यसैले अरुलाई सर्ने जोखिम कम हुन्छ। तर, लक्षण देखिएपछि अरुलाई सर्ने जोखिम धेरै हुन्छ,’ डा. दीक्षित भन्छन्।
भाइरसले स्वरुप परिवर्तन गरेको हो ?
लक्षणसहित संक्रमित भेटिएन थालेपछि भाइरसले स्वरुप परिवर्तन गरेको हो कि भन्ने प्रश्नसमेत उठेको छ। जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित भन्छन्, ‘भाइरसले जुनसुकै बेला स्वरुप परिवर्तन गर्न सक्छ तर अहिले परिवर्तन गरेको जस्तो लाग्दैन।
किनकी पहिले क्वारेन्टिनमा बसेका मानिसमा संक्रमण बढी देखिएको थियो। अहिले समुदायमा क्लस्टर केसहरु देखिएको छ। क्वारेन्टिनमा रहेका धेरैजसो बाहिरबाट आएका र युवाहरु थिए। अहिले वृद्धवृद्धामा पनि संक्रमण देखिएकाले लक्षण देखिएको होला। यसबारे थप अध्ययन गर्नुपर्छ।’
सरकारले तयार गरेको परीक्षण मापदण्डले परीक्षणको दायरालाई खुम्च्याएको उनी बताउँछन्। ‘अघिल्लो महिनासम्म हजारौंको संख्यामा क्वारेन्टिनमा रहेका मानिसहरुलाई लक्षण नदेखिएको भन्दै परीक्षण नगरी घर पठाइएको थियो।
त्यतिबेला ९८ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन। उनीहरुलाई परीक्षण नगरी पठाउँदा उनीहरुले नै समुदायमा संक्रमण फैलाएको हो कि भन्ने आशंका पनि उब्जिएको छ। क्वारेन्टिनबाट सोझै घर पठाउँदाको परिणाम देखिन थालेको छ,’ उनी भन्छन्।