काठमाडौं– युनिसेफले कोभिड–१९ को प्रभावस्वरूप सन् २०२० मा दक्षिण एसिया (सार्क) का पाँच वर्षमुनिका थप ३९ लाख बालबालिकामा सुकेनासका कारण कुपोषण हुन सक्ने चेतावनी दिएको छ।
द ल्यान्सेटमा प्रकाशित विश्लेषणअनुसार विश्वभरिका ६७ लाख बालबालिका सुकेनासबाट प्रभावित हुन सक्ने आंकलन छ। त्यसमा ५८ प्रतिशत (३९ लाख) बालबालिका दक्षिण एसियाका हुने अनुमान छ।
युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भने, ‘कोभिड–१९ का बिरामी भेटिन थालेको सात महिना बित्दै गर्दा यो रोगका कारणभन्दा पनि रोकथामका उपायका कारण बालबालिकालाई हानि पुगिरहेको छ।’
गरिबी तथा खाद्य असुरक्षाको दर बढ्नुका साथै अत्यावश्यक पोषण सेवा र आपूर्ति शृंखला अवरुद्व भएको युनिसेफको विज्ञप्तिमा उल्लेख छ।
सुकेनास कुपोषणको अत्यन्तै गम्भीर स्वरूप हो।
यसले बालबालिकालाई अत्यन्तै दुब्लो र शारीरिक रूपमा कमजोर बनाउँछ। उनीहरूलाई मृत्युको जोखिममा पुर्याउनुका साथै शारीरिक वृद्वि, विकास र सिकाइमा कमजोर बनाउँछ।
युनिसेफका अनुसार २०१९ मा विश्वका चार करोड ७० लाख बालबालिका सुकेनासबाट प्रभावित थिए। तिनमा आधाभन्दा बढी अर्थात् दुई करोड ५० लाख दक्षिण एसियाका थिए।
तत्काल कुनै ठोस कदम नचाल्ने हो भने अबको एक वर्षभित्र विश्वभर सुकेनासबाट ग्रसित बालबालिकाको संख्या ५ करोड ४० लाख पुग्ने अनुमान युनिसेफको छ।
दि लान्सेटकाे विश्लेषणअनुसार न्यून तथा मध्य आय भएका देशमा कोभिड–१९ को आर्थिक तथा सामाजिक प्रभावका कारण सुकेनासपीडित पाँच वर्षमुनिका बालबालिकाको संख्यामा १४.३ प्रतिशतले वृद्धि हुन सक्छ।
युनिसेफले भनेको छ, ‘कुपोषणको दरमा यस प्रकारको वृद्विसँगै भिटामिन ए वितरण तथा स्तनपानको दरमा आउने कमीले गर्दा विश्वभर प्रतिमहिना थप १० हजार बालबालिकाको मृत्यु हुन सक्छ।'
महामारीको सुरुका महिनामा युनिसेफले तयार पारेका प्रतिवेदनअनुसार अत्यावश्यक, धेरै जसो जीवन बचाउने प्रकारका, पोषण सेवाको उपलब्धतामा ३० प्रतिशतले कमी आउने अनुमान गरिएकोमा दक्षिण एसियाको अवस्था थप चिन्ताजनक छ।
युनिसेफका अनुसार बन्दाबन्दीका सुरुका दिनमा नेपाल र भारतमा सुकेनासको उपचार ठप्प थियो। स्वास्थ्यकर्मीमाझ संक्रमणको त्रास र व्यक्तिगत सुरक्षा साधन अभावले गर्दा गम्भीर सुकेनास लागेका बालबालिकाको उपचार कार्यमा अफगानिस्तानमा ४० प्रतिशत तथा बंगलादेशमा ७५ प्रतिशतले कमी आएको विज्ञप्तिमा उल्लेख छ।
दक्षिण एसियाका अधिकांश देशमा भिटामिन ए खुवाउने कार्य रोकिँदा पाँच वर्षमुनिका लाखौं बालबालिकामा रोग प्रतिरोधात्मक क्षमताको अभाव भइरहेको छ। अत्यावश्यक पोषण सेवा केही हदसम्म सुरु भए पनि पहिलेको अवस्थामा अझै पुगिनसकेको विज्ञप्तिमा उल्लेख छ।
‘स्तनपानका अभ्यासमा पर्न सक्ने सम्भावित प्रभावका सम्बन्धमा पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। आमाहरूमा कोभिड–१९ को संक्रमण भए तापनि बच्चालाई स्तनपान गराउन उनीहरुलाई प्रोत्साहित गर्न तथा सहयोग गर्न अत्यन्तै आवश्यक छ’, दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले भने।