काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगाकी पवित्रा कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
कीर्तिपुर अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री अस्पताल पुगेका हुन्।
घाइते कार्की र उनका परिवारका सदस्यहरुलाई भेटेर मन्त्री ढकालले उपचारमा कुनै कमी हुन नदिने बताएका छन्। उनले स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
यस्तै, आजै प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल र महिला सांसदहरुले पनि कार्कीलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
समितिका सदस्यहरु अमृता थापा, गंगा चौधरी, बिमला नेपाली, अनेम संघका सहसंयोजक तथा पूर्वसांसद सीता पौडेल स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका हुन्।
भेटका क्रममा उनीहरुले दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरे। उनीहरुले पीडितको सम्पूर्ण उपचार खर्चदेखि अन्य रोजगारीको अवसर पनि राज्यले उपलब्ध गराउनुपर्ने बताए। उनीहरुले सम्बन्धित निकायमा यस विषयमा ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए।
काठमाडौंको सीतापाइलामा बिहीबार साँझ कार्कीमाथि एसिड प्रहार भएको हो। प्रहरीले एसिड प्रहार भएको साढे तीन घण्टामा नै संलग्न दुई जनालाई पक्राउ गरेको थियो। बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ।