आइतबार, असार ८, २०८२

साउनमा हरियो पहिरन : परम्परा कि फेसन ?

चारैतिर हरियाली छ। प्रकृतिले मैदानदेखि पहाडसम्म हरियालीको बर्को ओढेको छ। यस्तो सौन्दर्यले जोकसैको पनि मन आकर्षित गर्दछ।
 |  शनिबार, साउन १०, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, साउन १०, २०७७

हरियो रङले मनमा प्रेम र खुसी दिन्छ। यसमा सकारात्मक ऊर्जा, अपेक्षा र प्रेमको भाव अडिएको हुन्छ।

‘साउन महिनाको नक्कल’ लेखेर नायिका करिस्मा मानन्धरले हरियो सल ओडेको तस्बिर फेसबुकमा पोस्ट गरेकी छन्।

नायिका रेखा थापाले ह्याप्पी साउन भन्दै हरियो चुरा र हरियै पालिस लगाएको फोटो पोस्ट गरेकी छन्।

कलाकार मात्र होइन, व्यवसायी, राजनीतिज्ञ, कर्मचारी लगायतले यतिबेला हरियो वस्त्र, हरियो चुरा र मेहदी लगाएको देखिन्छ।

साउनमा ग्रामीण भेगका भन्दा सहरी क्षेत्रका महिलाले यस्तो फेसन रुचाउँछन्। हरियो पहिरन, हातभरि चुरा र मेहदी बालिकादेखि वृद्धासम्मको फेसन बनेको छ।

यतिबेला चारैतिर हरियाली छ। प्रकृतिले मैदानदेखि पहाडसम्म हरियालीको बर्को ओढेको छ।  

ज्योतिषशास्त्र अनुसार हरियो रङलाई बुध ग्रहको प्रतीक मानिन्छ। यस्तो रङ लगाउँदा सफलता मिल्छ। मिश्रित कार्य, व्यापार, व्यवसाय, आवसमा राशिअनुसार यो रङ शुभ मानिन्छ।

हरियाली वातावरणले आँखा मात्र होइन, मन पनि खुसी बनाउँछ। संस्कृतिविद्हरूका अनुसार प्रकृतिसँग नजिक हुन नारीहरु हरियो चुरा र पहिरन लगाउँछन्। हरियो पहिरनले मनमा सकारात्मक ऊर्जा दिने विश्वास गरिन्छ।

फेब्रिक सेन्टरमा हरियो, रातो, पहेंलो खोज्नेको संख्या धेरै छ। विवाहित महिलाले मात्र नभई अविवाहितलाई पनि यस्तो पहिरनले आकर्षित गरेको व्यवसायी बताउँछन्।

प्रकृतिसँग मनकाे मेल

संस्कृतिविद् डा. मतिप्रसाद ढकालका अनुसार कुनै पनि धार्मिक ग्रन्थमा साउनमा हरियो वस्त्र, चुरा र टीका लगाउनुपर्छ भन्ने उल्लेख छैन। उनी भन्छन्, ‘साउनभरि हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलन प्राकृतिक सम्मानसँग जोड्न सकिन्छ।’

उनले हरियो पहिरन परम्पराभन्दा पनि फेसनका रूपमा भित्रिएको बताए।

उसो त खेतमा काम गर्दा हातखुट्टामा लागेको चोट हटाई मुलायम बनाउन मेहदीका रुपमा तिउरी लगाउने चलन गाउँघरतिर अझै छ।

चरकसंहितामा साउन महिनालाई वसन्तपछि बहार आउने अर्को महिनाका रूपमा व्याख्या गरिएको छ।

कतिपयले साउनलाई आत्मशुद्धिको महिना मानेका छन्। प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्ने र प्रकृतिप्रति समर्पण गर्ने महिना भएकाले नारीहरूले हरियो पहिरन लगाउने गरेका हुन्। यस्तै साउन आत्ममन्थन गर्ने समय पनि हो।

हरियो रङ धेरै प्रसंग र विश्वाससँग जोडिएको छ। त्यसैले महिला साउनमा हरियो कपडा तथा चुरा लगाउनुपर्छ भन्ने मान्यता राख्छन्। अर्कोतर्फ समयअनुसारको बदलिँदो फेसन शैलीले झनै आकर्षण बढाएको देखिन्छ।

वरिष्ठ लाेकसंस्कृतिविद् तुलसी दिवसका अनुसार प्रकृतिमा घुलेको हरियो रङले मन खुसी बनाउँछ। हरियो मौसममा रमाउनु प्रकृतिसँग मनको मेल हुनु हो। यसबाट मानिसमा प्रेमभाव उत्पन्न हुन्छ। हरियो रङमा सकारात्मक ऊर्जा, अपेक्षा र प्रेमको भाव अडिएको हुन्छ।

नयाँ डिजाइन छैनन्

पछिल्लो समय पसलमा हरियो चुरा, मेहदी लगायतका अन्य शृंगारिक सामानको बिक्रीका लागि सामान राख्नेको होड छ। विगतमा कपडा, चुरा, मेहदीका नयाँ डिजाइन आउँथे। यस वर्ष कपडा, चुरा लगायतका डिजाइन नआएको व्यापारी बताउँछन्।

लकडाउनका कारण काम गर्ने मानिस नभएको र बाहिरबाट पनि नयाँ डिजाइन नभित्रिएको उनीहरुको भनाइ छ। कोरोनाका कारण गत वर्षको तुलनामा ५ प्रतिशत मात्रै ग्राहक आएको व्यापारी सुनाउँछन्।

भड्किला भन्दा सामान्य डिजाइन र आरामदायी कपडा ग्राहकको रोजाइमा पर्ने असनका व्यापारी सकिलले बताए।

उनी भन्छन्, ‘लकडाउनका कारण ठप्प व्यापार साउन लागेपछि मेहदी र चुराले गर्दा केही बढेको छ। गत वर्षको तुलनामा ५ प्रतिशत मानिस मात्रै किन्न आएका छन्।’ ग्राहकले पनि साउनमा हरियोप्रति आकर्षित भएको र देखासिकीमा प्रभावित भएको उनी बताउँछन्।

तस्बिरहरु : दिनेश श्रेष्ठ

प्रकाशित: Jul 25, 2020| 08:20 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।