स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको छ कि छैन भनेर पत्ता लगाउन सेरो प्रिभिलेन्स सर्वेक्षण गर्ने भएको छ। समुदायमा संक्रमण फैलिसकेको विज्ञहरुले दाबी गरिरहँदा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरो सर्वेक्षण गर्न लागेको हो।
महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा सेरो सर्वेक्षण गर्न लागेको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाशाखालाई स्वीकृति दिइसकेको छ।
मन्त्रालयले यसअघि समुदायमा संक्रमण फैलिएको– नफैलिएकोबारे अवस्था पत्ता लगाउन काठमाडौं उपत्यकामा ५ हजार जनाको पीसीआर परीक्षण गरेको थियो।
उक्त परीक्षणका क्रममा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले उपत्यकामा समुदायमा संक्रमण नफैलिएको निष्कर्ष निकालेको थियो। तर जनस्वास्थ्य विज्ञहरुले भने उपत्यकामा मात्रै दैनिक १० हजार परीक्षण गरेमात्रै समुदायमा संक्रमणको अवस्था थाहा हुने बताउँदै आएका छन्।
उता, वीरगञ्जमा पनि ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमित देखिन थालेपछि महाशाखाले समुदायमा संक्रमण फैलिएको पत्ता लगाउन सेरो प्रिभिलेन्स सर्वेक्षण गर्न लागेको हो।
के हो सेरो सर्वे ?
सेरो प्रिभिलेन्स सर्वेक्षण रगतबाट गरिने एउटा परीक्षण हो। समुदायमा कति मानिस संक्रमित बनेका थिए भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्वेक्षण गरिन्छ।
सेरो सर्वेले कोभिड–१९ को संक्रमण भएर पनि थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पत्ता लगाउँछ। निर्देशक पाण्डेका अनुसार तत्काल संक्रमणको अवस्था पत्ता लगाउन पीसीआर परीक्षण गरिन्छ भने समुदायमा कति मात्रामा संक्रमण फैलिएको थियो भन्ने बारेमा पत्ता लगाउन सेरो सर्वेक्षण गरिन्छ।
सेरो प्रिभिलेन्स सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएरै पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ। यसअघि समुदायमा संक्रमण फैलिएको छ वा छैन भनेर शंकास्पद क्षत्रका मानिसहरुको पीसीआर परीक्षण गरिएको थियो। सेरो सर्वे रगतबाट गरिने भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना संकलन गर्छ।
रोग नियन्त्रण महाशाखाले सातै प्रदेशका संक्रमण बढी देखिएका जिल्लाका मानिसहरुको रगतको नमुना संकलन गर्ने तयारी गरेको छ। सात प्रदेशबाट २१ हजार जनाको नमुना संकलन गर्ने लक्ष्य राखिएको र त्यसको तयारी अन्तिम चरणमा पुगेको निर्देशक डा. पाण्डेले बताए।
कोरोना संक्रमण भएर पनि निको भएका मानिसहरुको अवस्था पत्ता लगाउन सेरो सर्वेक्षण गर्न लागिएको हो।
डा. पाण्डे भन्छन्, ‘कोरोना संक्रमण भएको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न हुन्छ। सेरो सर्वेक्षणबाट संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको छ भन्ने थाहा हुन्छ। मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ। मानिस कुनै भाइरसबाट संक्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्छ। त्यही रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो।’
नेपालमा हालसम्म ३ लाख २३ हजार ८३५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। समुदायमा संक्रमणको अवस्था बुझ्न भने ४५ हजार जनाको पीसीआर परिक्षण भएको छ। यसलाई थप विश्वसनिय बनाउन सेरो प्रिभिलेन्स सर्वेक्षण गर्न लागिएको हो।