कोरोना संकटले हामीलाई अकस्मात् ‘डिजिटल’ तर्फ धकेलिदिएको छ। दर्शक/श्रोताको ‘वाह वाह’ ले प्रेरित गर्ने र माहोल जमाउने साहित्यिक कार्यक्रम पनि डिजिटलाइज्ड भएको छ।
बन्दाबन्दीको चार महिनामा सर्जक र दर्शक/श्रोताले प्रत्यक्ष आत्मीय साथ नपाए पनि कार्यक्रम सञ्चालनचाहिँ रोकिएको छैन। साहित्यकारले आफ्ना सिर्जना प्रस्तुत गर्न र मन्थन गर्न थाती राखेका छैनन्। यसका लागि भर्चुअल माध्यमले साथ दिएको छ।
कतिपयले संस्थागत रुपमा कार्यक्रम सञ्चालन गरिरहेका छन् भने कतिपय साहित्यप्रेमीले भर्चुअल माध्यममा जम्मा भएर आफ्ना रचना सुनाउने गरेका छन्। जसले गर्दा सिर्जनाले सम्मान पाएको छ भने पारखीले साहित्यको रसस्वादनको अवसर।
लकडाउन अवधिमा साहित्यिक संस्थाहरु ‘सेतो पर्दा’, ‘आभा’, ‘छन्द तरंग’, ‘क्यानभास साहित्य समाज’, ‘गजलमञ्च’, ‘अलंकार प्रतिष्ठान’, ‘गजलयात्रा’ लगायत संस्थाले कार्यक्रम गरिरहेका छन्।
कला–साहित्य अभिव्यक्तिको बलियो माध्यम हो। साथै यसले ऊर्जावान् बनाउँछ र आफू बाँचिरहेको समय बुझ्न सघाउँछ। कोरोना त्रासका बेला एकान्तबासका बीच भइरहेका यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा दिने साहित्य अनुरागीहरुको अनुभव छ।
लामो समयदेखि साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको ‘सेतो पर्दा’ ले आफ्नो कार्यक्रम ‘महफिल’ लाई डिजिटल माध्यमबाट निरन्तरता दिइरहेको छ। सामान्य अवस्थामा मासिक रुपमा सञ्चालन हुँदै आएको महफिलले लकडाउन अवधिमा डिजिटल माध्यमबाट २३ वटा शृंखला प्रस्तुत गरिसकेको छ।
महफिलका सञ्चालक बाबु त्रिपाठी भन्छन्, ‘बन्दाबन्दीमा साहित्यिक कार्यक्रम झनै गतिशील छन्।’ डिजिटल माध्यमबाट कार्यक्रम गर्दा संसारभरकै दर्शक/श्रोता जोडिने गरेको उनको अनुभव छ।
डिजिटल माध्यममा हुने कार्यक्रम प्रत्यक्षजस्तै रमाइला नभए पनि यसमा दर्शक असीमित हुन सक्ने हुँदा यसले निरन्तरता पाउने बताउँछन्, प्राज्ञ देवी नेपाल।
उनी भन्छन्, ‘कोरोना कहर कुनै दिन सिध्दिएला तर डिजिटल साहित्यिक कार्यक्रम भने निरन्तर भइरहलान्।’
डिजिटल माध्यमबाट प्रसारण हुने कार्यक्रम विभिन्न सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिँदा पनि दर्शक–श्रोताको सहभागिता ठूलो हुने गरेको छ। कोरोना संकटका बेला डिजिटल माध्यम विकल्प बनेपछि साहित्यिक कार्यक्रम धमाधम भइरहेका छन्।
कवि बलराम दाहाल दम्पतीले २०७७ वैशाख १ गतेदेखि ‘लकडाउनको समय, बनाऔं सिर्जनामय’ भन्ने अभियान सञ्चालन गर्दै आएका छन्। कार्यक्रम हरेक साँझ ९ बजे फेसबुक लाइभमार्फत प्रस्तुत हुन्छ।
लकडाउनकै बेला कीर्तिपुरस्थित थिएटर मल रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ नै सञ्चालन गरे। नेपालमा पहिलोपटक प्रदर्शन भएको भर्चुअल नाटक थियो यो। जसले गर्दा हजारौं मानिसले घरबाटै नाटक हेर्न पाएको बताउँछन् थिएटर मल कीर्तिपुरका निर्देशक केदार श्रेष्ठ।
निर्देशक श्रेष्ठ नेपालमा डिजिटल माध्यमबाट नाटक प्रत्यक्ष प्रसारण गर्नु दुस्साहस नै भएको बताउँछन्। उनी भन्छन्, ‘तर, प्रदर्शनपछि नाटकप्रति मानिसको चासो बढेको पायौं।’
विगत १५ वर्षदेखि प्रत्येक साता ‘निरन्तर शनिबार’ रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएका अभियन्ता सोझो गाउँले भन्छन्, ‘प्रत्यक्ष रुपमा गरिएका कार्यक्रमभन्दा भर्चुअल माध्यमबाट गरेको कार्यक्रम प्रभावकारी देखियो। अब निरन्तर शनिबार हुने कार्यक्रम भर्चुअल माध्यमबाटै हुनेछ।’
पुराना सहकर्मी साहित्यप्रेमीलाई समेत भर्चुअल कार्यक्रमले पुनः जुटाएको उनी बताउँछन्।
लकडाउनकै अवधिमा बालसहित्य प्रकाशक संस्था कथालयले ५ देखि १३ वर्षसम्मका बालबालिका लक्षित ‘स्टोरी टाइम इन नेपाल’ फेसबुक कार्यक्रम सञ्चालन गर्यो । त्यस्तै ‘कर्णाली रिडर्स सोसाइटी’ ले पुस्तकमाथि सञ्चालन गरिरहेको छ।