आइतबार, असार ८, २०८२

कोरोना संक्रमण समुदायमा नपुगेको सरकारी दाबी, जनस्वास्थ्यका जानकार भन्छन्– भुसको आगोझैँ सल्किदैँछ

जनस्वास्थ्यका जानकारहरु उपत्यकामा समुदायमा संक्रमण फैलिसकेको भन्दै अबको हटस्पट यहीँ बन्ने दाबी गर्छन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकामा अझै समुदायमा संक्रमण नफैलिएको बताएको छ।
 |  बिहीबार, असार २५, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असार २५, २०७७

पछिल्ला केही दिन काठमाडौं उपत्यकाबाहिर कोरोना संक्रमितको संख्या कम हुँदै गए पनि उपत्यकामा भने बढ्दो क्रममा छ।

पछिल्ला ४ दिनमा नै उपत्यकामा संक्रमितको संख्या तेब्बर भएको छ। आइतबार २७ जना, सोमबार ५४ जना, मंगलबार ५८ जना र बुधबार २३ जना संक्रमित थपिएका देखिएका छन्। त्यसअघि दैनिक ५–७ जनामात्र संक्रमित थपिने गरेका थिए।

काठमाडौं उपत्यकामा बुधबारसम्ममा संक्रमितको संख्या २९९ पुगेको छ। यीमध्ये काठमाडौंमा १९०, भक्तपुरमा ४३ र ललितपुरमा ५६ जना छन्।

जनस्वास्थ्यका जानकारहरु उपत्यकामा समुदायमा संक्रमण फैलिसकेको भन्दै अबको हटस्पट यहीँ बन्ने दाबी गर्छन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकामा अझै समुदायमा संक्रमण नफैलिएको बताएको छ।

मन्त्रालयका अनुसार केही दिनअघि एक निजी प्रयोगशालाले उपत्यकाका विभिन्न ४ स्थानको ढलको नमुना लिएर परीक्षण गर्दा २ स्थानको नमुनामा कोरोना देखिएको थियो।

सोही आधारमा मन्त्रालयले उपत्यकामा समुदायमा संक्रमण फैलिए नफैलिएको निर्क्योल गर्न उपत्यकाका विभिन्न १२ स्थानकामा परीक्षण सुरु गरेको छ। मंगलबारसम्म २ स्थानमा करिब ३०० को संख्यामा परीक्षण गर्दा कुनै पनि स्थानमा संक्रमित नभेटिएकाले उपत्यकामा संक्रमण फैलिसकेको भन्न नमिल्ने मन्त्रालयको तर्क छ।

केही जनस्वास्थ्य विज्ञ भने उपत्यकामा भुसको आगोझैँ भित्रभित्रै संक्रमण फैलिसकेको बताउँछन्। जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितका अनुसार उपत्यका पहिल्यै हटस्पट थियो। अहिले परीक्षण हुन थालेपछि संक्रमित देखा पर्न थालेका हुन्।

डा. दिक्षितका अनुसार बाहिरबाट आउने मानिस बढेकाले पनि यहाँ संक्रमण बढेको हो। ‘सबै जिल्लाबाट मानिसहरु उपत्यका आइरहेका छन्। यो क्रम कहिल्यै पनि रोकिएको छैन। त्यसैले पनि धेरै संख्यामा परीक्षण नभएसम्म समुदायमा कति छ भन्न सकिने अवस्था छैन। कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण देखिएमा उसको हिस्ट्री हेर्नुपर्छ। तर यहाँ आगन्तुकको परीक्षण भएको छ कि स्थानीयको भन्ने नै थाहा छैन,’ उनी भन्छन्।

सरकारले अहिले सानो संख्यामा परीक्षण गरेर समुदायमा कोरोना छैन भन्नु ढाकछोप गर्न खोजेको डा. दिक्षित बताउँछन्।

‘अहिले काठमाडौं उपत्यकामा मात्रै दैनिक १० हजार परीक्षण गर्नु आवश्यक छ। त्यति गरेमात्रै काठमाडौंको अवस्थाबारे सरकारले थाहा पाउँछ। नत्र देशभर दैनिक ४¬–५ हजार परीक्षण गरेर भयावह अवस्था आउँछ,’ दिक्षित दाबी गर्छन्, ‘सरकारले तत्काल बाहिरबाट आएका व्यक्तिको व्यवस्थापन गर्ने र संक्रमितहरुको कन्ट्क्याक्ट ट्रेसिङलाई बलियो बनाउनुपर्छ। अहिले कन्ट्याक्ट ट्रेसिङको पाटोलाई कमजोर बनाइएको छ। समुदायमा संक्रमण छैन भन्नु राज्यको गैरजिम्मेवारी हो।’

उनका अनुसार संक्रमित देखिएपछि उसको सम्पर्कमा आएका मानिसहरुलाई बढीमा दुई दिनमा खोजिसक्नुपर्ने हुन्छ। तर यहाँ एक हप्तासम्म पनि पत्ता लाग्न सकेको छैन। कतिपय संक्रमित त फेलै पर्दैनन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौं बाहिरबाट आउने मानिसको व्यवस्थापन राम्रोसँग नगरिँदा कन्ट्याक्ट ट्रेसिङ गाह्रो भएको छ। संक्रमितले ठेगाना गलत बताउने र मोबाइल स्विच अफ राखिदिने गर्दा पनि कन्ट्याक्ट ट्रेसिङ जटिल बनेको उनको तर्क छ।

‘सरकार गलत गर्दैछ’

जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी पनि समुदायमा संक्रमण छैन भनेर सरकारले गलत सूचना प्रवाह गरेको बताउँछन्।

भन्छन्, ‘समुदायमा संक्रमण फैलिएको छैन भनेर गैरजिम्मेवारीपन देखाउँदैछ सरकार। समुदायमा परीक्षण नगरी के को आधारमा अभिव्यक्ति दिएको हो मन्त्रालयले ? समुदायको वास्तविकता सर्वसाधारणलाई बताउनुपर्छ। पछिल्लो समय काठमाडौंमा मानिसहरुको आवतजावत बढी छ। उपत्यका भित्रिने एम्बुलेन्स, मालवाहक सवारीसाधन तथा निजी सवारीसाधनबाट पनि संक्रमण भित्रिएको छ।’ विज्ञहरुको सल्लाह सरकारले नमानेको डा. मरासिनीको गुनासो छ।

देशभरको दैनिक तथ्यांक हेर्ने हो भने पछिल्लो ५ दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। असार १९ गते ४ हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७४० जनामा संक्रमण पुष्टि भएको थियो। यो नेपालमा एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित थपिएको संख्या हो।

तर, त्यसयता त्यही हराहारीमा परीक्षण गर्दा संक्रमितको संख्या कम देखिएको छ। जेठ २० मा ४ हजार परीक्षण गर्दा २३२ जना संक्रमित देखिएका थिए भने असार २१ मा पनि ४ हजार ७०० परीक्षण गर्दा २९३ जना र असार २२ गते पनि ४ हजार ७०० को परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै असार २४ गते ४ हजार ६०० को हाराहारीमा परीक्षण भएकोमा २५५ जना संक्रमितहरु देखिएका छन्।

पछिल्लो १५ दिनको अवस्था हेर्दा फराकिलो अन्तरमा संक्रमण बढेको देखिन्छ। तर, संक्रमित पत्ता लगाउने आरटीपीसीआर परीक्षणको दायरा घट्दै गएको छ। ७ हजार ७०० को हाराहारीमा पुगेको परीक्षण दैनिक १० हजारको नमुना परीक्षण गर्ने भनेकै दिनबाट घटेर ५ हजारभन्दा कममा झरेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक हप्तादेखि ४ हजारको हाराहारीमा दैनिक परीक्षण भइरहेको छ। क्वारेन्टिनमा मानिसको संख्या घटेकाले परीक्षण पनि घटाइएको भन्ने अभिव्यक्ति सरकारको गैरजिम्मेवारीपन भएको विज्ञहरु बताउँछन्।

सरकारले हाल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण गरिरहेको छ भने थप ८ वटा प्रयोगशाला थपेर परीक्षण गर्ने तयारी छ। त्यस्तै परीक्षणको दायरा बढाउन निजी प्रयोगशालाहरुलाई पनि अनुमति दिइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेश गुप्ताका अनुसार अहिले दैनिक १० हजार परीक्षण गर्ने क्षमता सरकारसँग छ।

नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका हुन्। ४ प्रतिशतको ट्राभल हिस्ट्री देखिँदैन। ट्राभल हिस्ट्री नहुनु भनेको समुदायमा संक्रमण फैलिएको प्रमाण हुने विज्ञहरु बताउँछन्। बाहिरबाट आएकाको मात्र परीक्षण गरिएकाले संक्रमितको संख्या पनि बाहिरबाट आउने नै धेरै रहेको उनीहरुको तर्क छ।

प्रकाशित: Jul 09, 2020| 12:14 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्