कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढ्दै गएको छ। लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल र आवतजावत बढेको छ। कार्यालय तथा संघसंस्था खुल्न थालेपछि गाउँ गएकाहरु फर्कन थालेका छन्। मानिसहरु स्थानान्तरण भएसँगै कोरोनाको जोखिम झनै बढेको छ।
कोरोनाको संक्रमण देशैभर फैलिएको छ। बाहिरी चहलपहल हेर्दा लकडाउनको अनुभव गर्न सकिँदैन। बाहिर हिँडडुल गर्ने मानिसहरुमा पनि मास्कको प्रयोग र सामाजिक दूरी कायम गरेको खासै देखिँदैन।
कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सामान्य सुरक्षाका मापदण्ड पनि प्रयोग नगर्दा कोरोना संक्रमणको जोखिम झनै बढ्दै गएको विज्ञहरुले बताउँदै आएका छन्।
गाउँबाट फर्किएसँगै उनीहरुलाई घरबेटीले पीसीआर रिपोर्ट माग्नु, लकडाउनमा उपचारलाई थाती राखेका मानिसहरु अस्पताल जान थाल्नु, बाहिर हिँडडुल गर्न सहज भएसँगै अस्पतालमा पुग्नेहरुको संख्या पनि बढेको छ।
यसरी अस्पतालमा भिड बढ्दै जाँदा जोखिम पनि बढ्दै चिकित्सकहरु बताउँछन्। शुक्राराज तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार अस्पतालमा उपचारका लागि पुग्ने व्यक्तिहरु जो संक्रमित ठाउँबाट आएका हुन्छन्, उनीहरुबाट नै संक्रमण फैलन सक्ने डर हुन्छ।
हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको संख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको अस्पतालले जनाएको छ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।
अस्पतालहरु भरिभराउ हुन थालेपछि अस्पतालबाटै संक्रमण फैलनेमा चिकित्सकहरु चिन्ता व्यक्त गर्छन्। उपचारको लागि विभिन्न स्थानबाट संक्रमितहरु पुग्ने हुँदा अस्पताल सबैभन्दा जोखिमपूर्ण क्षेत्र बनेको छ।
डा. बास्तोला भन्छन्, ‘मानिसहरु कहाँबाट को संक्रमित भएर आएको थाहा हुँदैन, यसले गर्दा अस्पतालमा भिडभाड बढेपछि सहजै संक्रमण फैलन सक्छ। त्यसैले अस्पताल र सेवाग्राही दुवैले कोरोनाबाट जोगिनको लागि सुरक्षित मापदण्ड अपनाउनुपर्छ। अस्पतालबाट संक्रमण फैलन नदिनको लागि अस्पतालमा संक्रमण रोकथामको लागि हुनुपर्ने न्यूनतम मापदण्ड अस्पतालले पनि अपनाउनु आवश्यक हुन्छ। चिकित्सकलाई सुरक्षा कवच, सेवाग्राहीलाई जोगउन उनीहरुले न्यूनतम मापदण्ड अपनाए–नअपनाएको बारेमा अस्पतालले ध्यान दिनुपर्छ।’
संक्रमणको स्रोत व्यवस्थापन
समुदायलाई संक्रमणबाट जोगाउनको लागि सबैभन्दा पहिला संक्रमणको स्रोतलाई व्यवस्थापन गर्नुपर्ने डा. अनुप बास्तोला बताउँछन्। उनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत अन्य संक्रमित क्षेत्रहरुमा संक्रमणको स्रोत भनेकै रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरु हुन्।
त्यसैले पहिला संक्रमित क्षेत्रबाट अन्य स्थानमा गएका मानिसहरुलाई व्यवस्थित क्वारेन्टिनको जरुरी छ। साथै क्वारेन्टिनमा बसेका व्यक्तिहरुले मापदण्ड पालना गरे–नगरेको अनुगमन गर्नुपर्छ।
संक्रमणको अर्को स्रोत अस्पताल पनि हो। त्यसैले अस्पतालमा पनि विशेष सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन्।
कोरोना संक्रमितको संख्या र अस्पतालमा बिरामीको चाप बढेसँगै कोरोना पहिचान र उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन्। कोभिड अस्पतालसँगै अन्य अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण दर बढ्दै जानुको कारण अस्पतालहरुको कमजोर व्यवस्थाप भएको डा. बास्तोला बताउँछन्।
कोरोना कुन–कुन स्थान, कुन मान्छेबाट संक्रमण हुन्छ भन्ने यकिन गर्न गाह्रो भएको अवस्थामा कोभिड अस्पतालसँगै अन्य अस्पतालले सुरक्षाको लागि उचित पूर्व तयारी गर्नु आवश्यक रहेकोमा उनको जोड छ।
समुदायमा संक्रमण फैलाउन मलजल गर्ने तेस्रो कारक हो, मानिसहरुको हिँडडुल। घरबाहिर निस्कँदा मास्क नलगाउने, दूरी कायम नगर्ने, स्यानिटाइजर प्रयोग नगर्ने प्रवृत्तिका मानिसबाट संक्रमण फैलिने विज्ञहरु बताउँछन्।
लक्षण भएकाबाट पनि जोखिम
कोरोना संक्रमणपछि सामान्यतयाः ज्वरो, खोकी, छाती दुख्ने लक्षण देखा पर्छ। तर नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ। लक्षणरहित कोरोना संक्रमणहरु फेला पर्दै जाँदा स्वास्थ्यकर्मी तथा आम मानिसहरु संक्रमणको जोखिममा रहेको चिकित्सकहरु बताउँछन्।
लक्षणरहित कोरोना संक्रमित अरु नै समस्या लिएर अस्पताल आएको अवस्थामा उनीहरुबाट स्वास्थ्यकर्मीमा सजिलै कोरोना सर्न सक्छ। त्यसैले कोरोना संक्रमितहरु लक्षणरहित अवस्थामा छँदा उनीहरुमा संक्रमणको आशंका र पहिचान परीक्षणबिना गर्न नसकिने भएकोले उपचारमा आएका रोगीहरुका बारेमा अस्पतालहरुले विशेष सावधानी अपनाउनुपर्ने डा. बास्तोला बताउँछन्।
उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई गुणस्तरीय सुरक्षात्मक सामाग्री उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताउँदै आएका छन्। विज्ञहरुका अुनसार जति पनि संक्रमित व्यक्तिहरु छन्, उनीहरुलाई खोज्नको लागि कन्ट्याक्ट ट्रेसिङ चुस्तदुरुस्त बनाउन जरुरी छ।
साथै संक्रमित फेला परेका क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रलाई हटस्पटको पहिचान गरेर आवश्यकता अनुसार समुदायमा टेस्टिङको दायरा बढाउने र स्रोत पहिचान गरी व्यवस्थित गर्न जरुरी छ।