आइतबार, असार ८, २०८२

कोरोना संक्रमितको स्वाब किन वर्षौंसम्म ल्याबमै राखिन्छ ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार पोजेटिभ रिपोर्ट आएको स्याम्पल परीक्षण गरीसकेपछि पनि ल्याबमै राखिन्छ । जुनसुकै भाइरसको स्याम्पल पनि विश्व स्वास्थ्य संगठनको अनुमति बिना डिस्पोज गर्न मिल्दैन ।
 |  सोमबार, असार २२, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, असार २२, २०७७

नेपालमा कोरोना भाइरस संक्रमणको करिब ६ महिना भएको छ। अहिले देशभरका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुन्छ। अहिलेसम्म साढे २ लाख जनाको नमुना (स्वाब) पीसीआर विधिबाट परीक्षण भएको छ। तीमध्ये १५ हजार ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ।

प्रयोगशालामा परीक्षण गरिएको स्वाब वर्षौंसम्म प्रयोगशालमै राख्नुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ। सोही मान्यता अनुसार नेपालमा पनि परीक्षणका लागि लिइएका नमुना प्रयोगशालमा राखिएको सम्बद्ध अधिकारीहरुले बताएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार पोजेटिभ रिपोर्ट आएको स्याम्पल परीक्षण गरीसकेपछि पनि ल्याबमै राखिन्छ। जुनसुकै भाइरसको स्याम्पल पनि विश्व स्वास्थ्य संगठनको अनुमति बिना डिस्पोज गर्न मिल्दैन।

पोजेटिभ देखिएका सबै स्वाब ल्याबमा राख्नुपर्छ। कोभिड १९ नयाँ रोग भएकाले झनै डिस्पोज गर्न नमिल्ने गुप्ता बताउँछन्। नेपालमा अहिलेसम्म देखिएका अन्य विभिन्न रोगहरु (स्वाइन फ्लु, बर्ड फ्लु, इन्फ्लुएन्जा, रुबेला) का भाइरसको स्याम्पल पनि अहिलेसम्म प्रयोगशालामै राखिएको उनले जानकारी दिए।

कुनै पनि भाइरसका पोजेटिभ देखिएका स्याम्पल सबै प्रयोगशालमा सुरक्षित राखिन्छ। नेगेटिभ रिपोर्ट आएका स्याम्पल भने १० प्रतिशतमात्रै राखे पुग्छ। सरकारले पोजेटिभ स्याम्पल र नेगेटिभ स्याम्पल कति राख्ने भनेर मापदण्ड नै बनाएको छ।

त्यसो भए ती स्याम्पल किन वर्षौंसम्म प्रयोगशालामा राखिन्छ त ? सूचना अधिकारी गुप्ता भन्छन्, ‘नेपालमा परीक्षण गरिएका स्याम्पलको रिपोर्ट ठिक छ की छैन भनेर विश्व स्वास्थ्य संगठनमा पठाउनुपर्ने हुन्छ। त्यही भएर सुरक्षित राखिएको हो।’

उनका अनुसार अहिले पोजेटिभ देखिएका स्याम्पलको पछि पनि अनुसन्धान गर्न, नेपालमा देखिएका भाइरसको प्रकृति कस्तो हो पत्ता लगाउन, जिन सिक्वेन्सिङ गर्न, त्यसमा कोरोना भाइरसबाहेक अन्य किटाणुहरु थियो कि थिएन हेर्न पनि स्याम्पल सुरक्षित राख्नुपर्छ।

लामो समयसम्म पनि अनुसन्धान गर्नुपर्ने हुनाले स्वाब प्रयोगशालमा राख्दा माइनस ८० डिग्री तापक्रममा राखिने गुप्ता बताउँछन्। वर्षौंदेखि प्रयोगशालामा अन्य रोगका भाइरसको स्याम्पल पनि सुरक्षित रहेको उनले सुनाए। ‘१० वर्षअगाडि कुनै रोगको भाइरस पोजेटिभ देखिएको थियो र त्यसलाई उचित तरिकाले राखिएको छ भने अहिले परीक्षण गर्दा पनि त्यो भाइरस पोजेटिभ देखिन्छ,’ उनले भने।

कोरोना परीक्षण गरिएका तर नेगेटिभ रिपोर्ट आएका ९० प्रतिशत स्याम्पल भने डिस्पोज गरिन्छ। तर, डिस्पोज गर्दा विशेष सावधानी अपनाउनुपर्छ। कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि ती स्याम्पलमा अन्य विभिन्न भाइरस हुन सक्ने भएकाले व्यवस्थापनमा ध्यान दिनुपर्छ।

परीक्षण गरिसकिएको स्याम्पललाई सुरक्षित तरिकाले प्याकिङ गरी डिसइन्फेक्टेड गरिन्छ र अटोक्लेपमा १२१ डिग्री तापक्रममा आधा घण्टासम्म उमालिन्छ। त्यसो गर्दा सबै प्रकारको भाइरस निष्क्रिय हुने ल्याब प्राविधिक बताउँछन्।

नेगेटिभ रिपोर्ट आएका १० प्रतिशत स्याम्पल भने प्रयोगशालामै राखिन्छ। एउटा प्रयोगशालामा नेगेटिभ देखिए पनि पुनः परीक्षणको लागि अर्को प्रयोगशालामा पठाउनुपर्ने हुन्छ। त्यसकारण केही स्याम्पल राख्ने गरिएको हो।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले त्यहाँ कोरोना पोजिटिभ देखिएका करिब ३ हजार स्याम्पल राखिएको छ। अन्य प्रयोगशालामा परीक्षण गरिएको स्याम्पल पनि सम्बन्धित ल्याबले नै सुरक्षित राखेका छन्।

विश्व स्वास्थ्य संगठनले अनुमति नदिएसम्म स्याम्पल नष्ट गर्न पाइँदैन।

प्रकाशित: Jul 06, 2020| 07:40 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्