आइतबार, असार ८, २०८२

बन्धकमा बाल मन

कोरोनाको कहर कहिले सकिने टुंगो नभएकाले यसको असर दिर्घकालीन हुन सक्ने मनोविद् पदमराज जोशी बताउँछन्। उनका अनुसार बालबालिकालाई कुनै समयमा निकै डर लाग्ने, आत्तिने स्वभाव देखियो भने त्यसको प्रभाव दिर्घकालसम्म पर्छ।
 |  शनिबार, असार २०, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, असार २०, २०७७

कोरोनाको कहर कहिले सकिने टुंगो नभएकाले यसको असर दिर्घकालीन हुन सक्ने मनोविद् पदमराज जोशी बताउँछन्। बालबालिकालाई कुनै समयमा निकै डर लाग्ने, आत्तिने स्वभाव देखियो भने त्यसको प्रभाव दिर्घकालसम्म पर्छ।

लकडाउनको समयमा काठमाडौंका १० वर्षे एक बालकले अनौठो र अभिभावकलाई स्तब्ध पार्ने खालको व्यवहार देखाए।

टेलिभिजनमा देखिने कोरोना महामारीसम्बन्धी दृष्य धेरै हेर्ने ती बालकको मनोविज्ञान यस्तो बन्न पुग्यो कि उनी आफैंमा पनि कोरोना लागेर मर्ने डर पैदा भयो।

उनी आफ्ना सामानहरुको व्यवस्थापन गर्न थाले। लगाउने कपडाहरु दराजमा पट्याएर राख्ने, आफ्नो नयाँ साइकल गिफ्ट र्‍यापिङ गरेझैँ र्‍यापिङ गरेर राख्ने, प्रायः टोलाएर एकान्तमा बस्ने, कसैले बोलाउँदा पनि नबोल्ने, झस्किने आदि स्वभाव उनमा देखिन थाल्यो।

सुरुमा त अभिभावकले छोराको व्यवहारप्रति त्यति चासो राखेनन् तर यो क्रम बढ्दै गएपछि मनोविद्कहाँ पुगे।

कोरोनाका कारण लकडाउन भएपछि धेरै बालबालिकामा यस्तो स्वभावकाृ विकास भएको अभिभावकहरु सुनाउँछन्। खासगरी सहरी क्षेत्रमा यस्तो समस्या छ, जहाँ बच्चाहरु घरभित्रै अथवा कोठामै थुनिनु परेको छ। जानकारहरुका अनुसार बालबालिकामा मनोवैज्ञानिक समस्या आम रुपमै देखिन थालेको छ।

मनोविद् पदमराज जोशी भन्छन्, ‘चञ्चल र जिज्ञासु स्वभाव हुने बालबालिका यतिबेला घरभित्रै खुम्चिएका छन्। आफन्त, साथीभाइलगायत बाहिरी वातावरणसँग घुलमिल हुन नपाएर उकुसमुकुस भएका छन् । यसले गर्दा बालबालिकामा मानसिक तनावको सुरुवात भएको छ।’

घरभित्र रहँदा धेरैजसो ग्याजेटमा समय बिताउने भएकाले एकोहोरो हुँदै जाने र अभिभावकका कुरा पनि नटेर्नेजस्ता समस्या देखिने जोशी बताउँछन्।

जोशी थप्छन्, ‘घरबाहिर निस्कन नपाएकाले बच्चाहरुले कुरा गर्ने साथी पाएका छैनन्। सबै कुरा अभिभावकसँग गर्न सक्दैनन्। कुराहरु मनमा गुम्सिएर रहँदा उनीहरुलाई चिन्ता पर्दै जाने, निन्द्रा नलाग्ने, टोलाएर बस्ने, झर्किने, खान मन नलाग्ने हुन्छ। कतिपयमा त सास फेर्न गाह्रो हुने, शरीर दुखेजस्तो पनि हुन्छ। तर मेडिकल ट्रिटमेन्टमा कुनै समस्या देखिएको हुँदैन। यस्तो किसिमको मनोवैज्ञानिक समस्या बढ्दै गए बालबालिकामा प्यारालाइसिससम्म हुन सक्छ।’

अभिभावकको भूमिका

कोरोनाको त्रास बालबालिका, किशोरकिशोरी, युवा, प्रौढ, वृद्धवृद्धा सबैमा छ। कतिपय अभिभावक आफैं ‘प्यानिक’ हुन्छन्। यस्तो बेलामा अभिभावकको जिम्मेवारी बढी हुने बताउँछिन् अर्की मनोविद् डा. सनम पौडेल। भन्छिन्, ‘अभिभावकले बालबालिकालाई सकारात्मक कुरा देखाउने, सुनाउने पढाउने गर्नुपर्छ। वर्तमान अवस्थाबारे सही जानकारी दिने तर सकारात्मक पक्ष पनि देखाउनुपर्छ। आफू डराएर बालबालिकालाई पनि डर देखाउने होइन।’

अभिभावकले पर्याप्त समय नदिँदा बालबालिकामाा नकारात्मक प्रभाव पर्ने उनको विश्लेषण छ। ‘बालबालिकालाई कुनैपनि कामको निर्णय गर्न दिनुपर्छ। उनीहरु आफैँले रोजेको काम तल्लिन भएर गर्छन्। अभिभावकले उनीहरुको इच्छाविपरीत काम लगाए भने नकारात्मक प्रतिक्रिया दिने स्वभाव बालबालिकाको हुन्छ,’ पौडेल भन्छिन्।

राम्रो अभिभावकत्व नपाए बच्चाको मनोसामाजिक अवस्थामा आघात पर्ने भएकाले उनीहरुको मनोबल गिर्न नदिन अभिभावक नै जिम्मेवार हुनुपर्नेमा डा. पौडेल जोड दिन्छिन्। बच्चाहरुसँग आफू पनि खेल्ने, उनीहरुको जिज्ञासा शान्त पारिदिने, सिकाइमा आफू पनि सहभागी हुने, साथी बन्ने प्रयास गर्ने हो भने मनोवैज्ञानिक समस्या नआउने उनी बताउँछिन्।

दिर्घकालीन असर

अहिले कतिपय बालबालिकामा देखिएको मनोवैज्ञानिक समस्या कोरोना महामारी र त्यसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउनले सिर्जना गरेको हो।

कोरोनाको कहर कहिले सकिने टुंगो नभएकाले यसको असर दिर्घकालीन हुन सक्ने मनोविद् पदमराज जोशी बताउँछन्। उनका अनुसार बालबालिकालाई कुनै समयमा निकै डर लाग्ने, आत्तिने स्वभाव देखियो भने त्यसको प्रभाव दिर्घकालसम्म पर्छ। छटपटी हुने, सानो कुरामा पनि आत्तिने, कुनै पनि काम गर्न आँट नगर्ने, सानो कुराले पनि मन दुखाउने, हिनताबोधको भाव सिर्जना हुने आदि समस्या ठूलो हुँदासम्म पनि देखिने उनको भनाइ छ।

बेलैमा समस्या पहिचान गरेर व्यवस्थापन नगर्ने हो भने आत्महत्याजस्तो अप्रिय अवस्थासमेत आउन सक्नेमा उनी सचेत गराउँछन्। ‘बालबालिकालाई कुनैपनि महामारी वा अन्य घटनाहरुसँग परिचित गराउँदा त्यसबाट कसरी जोगिने, यसका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा राम्रोसँग बुझाउन सक्नुपर्छ। उनीहरुको कुरा ध्यानपूर्वक सुनेर प्रतिक्रिया दिनुपर्छ। उनीहरुका हरेक जिज्ञासाको चित्तबुझ्दो जवाफ दिनुपर्छ,’ जोशीको सुझाव छ।

बालबालिकालाई सकेसम्म नकारात्मक सूचनाबाट टाढै राख्नुपर्ने सुझाव दिन्छन् विज्ञहरु। ‘दिनदिनै कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेको समाचार टेलिभिजनमा आइरहँदा बच्चाहरुले पनि एकोहोरिएर सुनिरहन्छन्। उनीहरुको बौद्धिक क्षमताले मृत्यु र डरभन्दा अन्य कुरा बुझ्दैन। स्क्रिनमा देखिने तस्बिर–भिजुअल र आफ्नो वास्तविकताबीचको भिन्नता बालबालिकाले थाहा नपाउन सक्छन्। यसले गर्दा उनीहरुको मनमा असुरक्षाको महसुस हुन्छ। आफूले देखेको कुरामा आफूलाई पनि जोडेर हेर्छन्। त्यसैले बालबालिकालाई सकेसम्म नकारात्मक सूचनाबाट टाढा राखौं र सकारात्मक कुरामा केन्द्रित गराउने प्रयास गरौं,’ जोशी सुझाव दिन्छन्।

राज्य जिम्मेवार भएन

त्यसो त राज्यको जिम्मेवारी सबै नागरिकप्रति हुन्छ। त्यसमा पनि बालबालिकालाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाहरु बताउँछन्। ‘कुनै पनि काममा बाल सहभागितको पक्षलाई हेर्ने हो भने परिवार, समाज तथा देशले नै अर्थपूर्ण रुपमा लिएको पाइँदैन। झनै महामारीको समयमा कसले चासो दिने ?’ राष्ट्रिय बालअधिकार परिषद्का सचिव कृष्ण भुसाल भन्छन्, ‘राज्यको तर्फबाट बालबालिकाको लागि कुनै पनि नयाँ योजना तथा प्याकेज छैन। बरु गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन्।’

बाल संरक्षण संस्थाहरुमा रहेका भन्दा घरमा रहेका बालबालिकामा बढी मनोसामाजिक समस्या देखिएको उनी दाबी गर्छन्। सडकमा तथा जोखिम अवस्थामा रहेका बालबालिकाको अवस्था अझ दयनीय बन्दै गएको उनले बताए। भुसाल भन्छन्, ‘श्रमिक अभिभावकका बालबालिकामा बढी समस्या देखिएको छ। उनीहरु सडकमा आउन बाध्य भएका छन्। अनुगमनका क्रममा पहिलेभन्दा धेरै बालबालिका सडकमा देखिएका छन्।’

पढ्नुस्ः

बालबालिकालाई उनीहरूकै स्वभावमा सिक्न दिऊँ

अनलाइन पढाइ साना नानीका लागि हुँदै होइन

बालबालिका: महामारीको छायाले पछिसम्म सताउला ?

 

प्रकाशित: Jul 04, 2020| 07:03 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्