आइतबार, असार ८, २०८२

कोरोनाका औषधिको क्लिनिकल ट्रायल नेपालमा पनि हुँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको औषधि तथा खोपको क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने निर्णय गरेको थियो।
 |  मंगलबार, असार १६, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, असार १६, २०७७

नोवल कोरोना भाइरस (कोभिड–१९) विरुद्धका औषधिको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डबाट स्वीकृतिको लागि अन्तिम चरणमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको औषधि तथा खोपको चार वटा क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने निर्णय गरेको थियो। सुरुमा चार वटा औषधिको ट्रायल गर्ने भने पनि विश्व स्वास्थ्य संगठनले नै एउटा औषधिलाई प्रयोग नगर्न भनिसकेको छ ।

कोभिड–१९ को एन्टिभाइरल औषधिहरु नभएकाले अन्य रोगमा प्रयोग भएका एन्टिभाइरल औषधि ट्रायल गर्न लागिएको हो । अन्य रोगविरुद्ध प्रयोग भइरहेका औषधि कोभिड–१९ मा प्रभावकारी हुने सम्भावना देखेर डब्लुएचओले विभिन्न देशलाई ट्रायल गर्न आह्वान गरेको हो ।

इबोला, एचआईभी एड्स, मलेरियालगायतका औषधिहरु कोभिडको लागि कति प्रभावकारी हुन्छन् भनेर परीक्षण गर्न लागिएको हो । त्यसैअनुसार नेपालले पनि तीन वटा खोप तथा औषधिको क्लिनिकल ट्रायल गर्ने भएको हो ।

नेपालमा गर्न लागिएको तेस्रो चरणको क्लिनिकल ट्रायल हो । यसमा एक सयभन्दा बढी देशले ऐक्यबद्धता जनाएको विश्व स्वास्थ संगठनले बताउँदै आएको छ ।

कुन–कुन औषधिको ट्रायल हुँदैछ ?

रेमडेसिवर

यो औषधिलाई विश्व स्वास्थ्य संगठनले पनि स्वीकृत गरेको छ । यसलाई कोभिडको इमर्जेन्सी अवस्थामा प्रयोग गर्न सकिने बताइएको छ । विश्वमै यसको माग बढी भएकाले नेपालमा यसको उपलब्धता सहज नभएको नेपालका लागि क्लिनिकल ट्रायलका मुख्य अनुसन्धानकर्ता प्रा.डा. जनक कोइराला बताउँछन् ।

उनका अनुसार यो औषधि महँगो पनि छ । क्लिनिकल ट्रायलका लागिमात्रै विश्व स्वास्थ्य संगठनले नेपाललाई उपलब्ध गराएको छ ।

लोपिनाभिर विथ रिटानोभिर

लोपिनाभिर विथ रिटानोभिर विभिन्न देशहरुले परीक्षण गरिरहेका छन् । यो औषधि एचआईभी एड्सका बिरामीलाई प्रयोग गरिन्छ ।

लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटा

यो एचआईभी संक्रमितका लागि प्रयोग गरिने इन्जेक्सन हो । लोपिनाभिर विथ रिटानोभिरले भन्दा लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटाले प्रभावकारी रिजल्ट दिने भएकाले त्यसको प्रयोग गर्न लागिएको डा. कोइराला बताउँछन् ।

इन्टरफेरोनले हाम्रो शरीरमा उत्पन्न हुने भाइरससँग लड्न सक्ने क्षमता बढाउने भएकाले इन्जेक्सनको रुपमा प्रयोग गरिएको हो । यो अन्य रोगहरुमा पनि प्रयोग भइसकेको स्वीकृति इन्जेक्सन हो ।

के हो क्लिनिकल ट्रायल ?

क्लिनिकल ट्रायलबिना कुनै पनि औषधि वा भ्याक्सिन प्रमाणित हुँदैन। डा. कोइराला भन्छन्, ‘क्लिनिकल ट्रायल प्रायः प्रयोगशालाबाट सुरु हुन्छ । त्यसपछि जनावरमा अनिमात्रै मानिसमा ट्रायल गरिन्छ ।’

डा. कोइरालाका अनुसार मानिसमा प्रयोग गरिने औषधिको क्लिनिकल ट्रायल चार चरणमा गरिन्छ । पहिलो चरणमा सानो संख्यामा १५ देखि २० जना स्वस्थ मानिसमा परीक्षण गरिन्छ । पहिलो चरणमै बिरामीहरुमा परीक्षण गरिँदैन । औषधिले कति असर गर्छ, साइड इफेक्ट गर्छ कि गर्दैन हेरिन्छ । उनीहरुलाई सानो डोज (थोरै मात्रा)मा औषधि दिइन्छ ।

दोस्रो चरणमा औषधिको प्रभावकारिता हेरेर ३० देखि एक सय जनासम्ममा औषधिको परीक्षण गरिन्छ । तर दोस्रो चरणमा बिरामीलाई पनि दिइन्छ । दोस्रो चरणमा पनि थोरै मात्रामा औषधि दिइन्छ । औषधि प्रभावकारी भए मात्रा बढाइन्छ ।

दोस्रो चरण सफल भए तेस्रो चरणमा पनि बिरामीमा प्रयोग गरिन्छ । यो चरणमा २ हजारसम्म बिरामीमा औषधिको परीक्षण गरिन्छ ।

तेस्रो चरण पूरा भएपछि औषधिको प्रभावकारिता हेरेर त्यसलाई प्रमाणित गर्ने काम हुन्छ।

नेपालमा गर्न लागिएको क्लिनिकल ट्रायल तेस्रो चरणको हो । प्रत्येक चरणको परीक्षणको उद्देश्य छुट्टै हुन्छ । नेपालमा अहिलेसम्म तेस्रो चरणको क्लिनिकल ट्रायललाई मात्र डब्लुएचओले स्वीकृति दिएको छ । क्लिनिकल ट्रायल वैज्ञानिक अध्ययन भएकाले वैज्ञानिक मापदण्डहरुको अनुशरण गरिने डा. कोइराला बताउँछन् ।

जोखिम कति ?

डा. कोइरालाका अनुसार तेस्रो चरणको ट्रायलमा बजारमा बिक्री हुन थालिसकेको औषधि नै प्रयोग गरिने हो । त्यसकारण यसमा धेरै जोखिम हुँदैन।

तर ठूलो संख्यामा प्रयोग गर्दा सीमित संख्याका मानिसलाई असर गर्न सक्ने हुनाले जोखिम नै हुँदैन भन्न नसकिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख डा. मेघनाथ धिमाल बताउँछन् ।

‘यो चरणको ट्रायलमा धेरै जना सहभागी हुन्छन् । यस चरणमा औषधिको साइड इफेक्टको बारेमा अध्ययन गरिन्छ । औषधि तथा खोप स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे यसै चरणको ट्रायलले निर्धारण गर्छ,’ उनले भने। उनका अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायलमा धेरै जोखिम हुँदैन । केही जोखिम भए पनि तेस्रो चरणमा आइपुग्दा धेरै सुरक्षाका अवस्थाबारे परीक्षण भइसकेकाले धेरै डराउनुपर्ने अवस्था हुँदैन ।

नेपालमै क्लिनिकल ट्रायलको आवश्यकता किन ?

नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि परिषद्ले विज्ञ टोली बनाएर सो एन्टिभाइरलका विषयमा अध्ययन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग परीक्षणका लागि अनुमति मागेको थियो ।

मन्त्रालयले क्लिनिकल ट्रायलमा सहभागिता जनाउन सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम अगाडि बढाउन अनुमति दिएसँगै औषधिको प्रभावकारिता अध्ययन गर्ने बाटो खुलेको हो ।

‘अन्य देशमा प्रभावकारी देखिएको औषधिले पनि नेपालमा काम गर्छ भन्ने हुँदैन । त्यसैले नेपालको लागि त्यो औषधिले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन नेपालमै परीक्षण गर्नुपर्ने भएको हो,’ डा. धिमालले भने।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आफैँले पनि कोरोनासम्बन्धी विभिन्न १० वटा काम अगाडि बढाएको बताएको छ । त्यसैअन्तर्गत क्लिनिकल ट्रायल पनि एउटा हो ।

परिषद् प्रमुख डा. धिमालका अनुसार क्लिनिकल ट्रायल गर्नुअगाडि सहभागी हुने मानिसहरूलाई जानकारी गराउनुपर्छ । उनीहरुको अनुमति लिएर मात्र परीक्षण गर्न पाइन्छ । कुनै जोखिम भएमा क्षतिपूर्तिको व्यवस्था छ।

भारत, बेलायत, अमेरिकालगायत थुप्रै देशमा कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधिको क्लिनिकल ट्रायल भइरहेको छ।

प्रकाशित: Jun 30, 2020| 14:40 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्