बुधबार, असार ४, २०८२

'संक्रमणको झिल्कामात्रै देखिएको हाे, डढेलो लाग्ने दिन टाढा छैन'

अन्य मुलुकमा जस्तो संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहनत गर्नुको साटो नेपालमा फैलिँदैन भन्दै बस्यौं भने अस्पतालहरू भरिन थाल्नेछन् तब ‘विज्ञज्यूहरू’ लाई मुखभरिको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

अन्य मुलुकमा जस्तो संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहनत गर्नुको साटो नेपालमा फैलिँदैन भन्दै बस्यौं भने अस्पतालहरू भरिन थाल्नेछन् तब विज्ञज्यूहरू लाई मुखभरिको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ।

साँच्चै नेपालमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छैन त ? यस विषयमा हाम्रा कहलिएका विज्ञका मतसमेत अत्यन्त भ्रामक र गैरजिम्मेवार छन्।

यसको उत्तर किन पनि चाहियो भने यसलाई सरकारले प्राज्ञिक बहसका रूपमा मात्र लिएको छैन। 'परीक्षणको दायरा नखुम्च्याऔं, निश्चित सर्जरीअघि कोभिडको लक्षण नभएकामा पनि रोगको जोखिम छन् भने परीक्षण गरेर अस्पताललाई सुरक्षित राखौं' भन्दा 'समुदायमा छैन त्यसैले पर्दैन' भन्ने जिकिर हुन्छ।

समुदायमा कति फैलिएको छ भन्ने सत्य आँकडा जनसङ्ख्याको ठूलो हिस्सामा निश्चित अन्तरालमा पीसीआर जाँच गरिरहँदा नै पाइन्छ।

त्यसो नगर्दा अर्को उपाय त्यस्तो प्रतिनिधि हिस्साको सेरोप्रेभलेन्स स्टडी अर्थात् कोभिडको संक्रमणपछि देखिने प्रोटिन कति जनामा छ हेर्ने हो।

तर यहाँ 'सेरोप्रेभलेन्स' वा समुदायव्यापी पीसीआर परीक्षण भएको छैन। अनि कसरी समुदायमा फैलिन थाले-नथालेको थाहा पाउने ? केही परोक्ष आँकडाबाट यसबारे अनुमान गर्न सकिन्छ।

बाहिरबाट आउनेसँग वा संक्रमित पुष्टि भएका व्यक्तिसँग सम्पर्क नभएका निकै जनामा संक्रमण भेटिएमा समुदायमै फैलिन थालेको मानिन्छ।

काठमाडौंमा गत ५-६ हप्तामा देखिएका संक्रमितको बाहिरबाट आएका वा काठमाडौंमै संक्रमित भनेर चिनिएका कसैसँग सम्पर्क भएको थिएन। विदेशमा जस्तो हरेक संक्रमित र 'कन्ट्याक्ट ट्रेसिङ' को विवरण कतै नराखिएकाले यहाँ यकिन संख्या भन्न सकिन्न।

काठमाडौं उपत्यकामा कोभिडकै कारण मृत्यु हुने व्यक्ति देखिएको पनि १ महिनाभन्दा बढी भइसक्यो। धुलिखेल अस्पतालमा मृत्यु पुष्टि भएकी सिन्धुपाल्चोककी महिलामा गोंगबु क्षेत्र या शिक्षण अस्पतालमा संक्रमण भएको थियो।

महामारीको सामान्य अंकगणित हेर्दा के देखिन्छ भने कोभिडका कारण १ जनाको मृत्यु हुँदासम्म त्यो समुदायमा ८०० (मृत्युदर १% मान्दा) देखि १६०० (मृत्युदर ०.५% मान्दा) जतिलाई संक्रमण भइसकेको हुन्छ। काठमाडौं उपत्यकामै संक्रमणको स्रोत व्यक्ति थाहा नभएका कम्तीमा २-३ जनाको त्यसरी मृत्यु भइसकेको छ।

काठमाडौंमा केही दिन संक्रमणको बढी जोखिम भएका समूहमा जाँच गरिएको थियो। काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीमध्ये ३१ जनामा द्रूतजाँच (आरडीटी) मा आईजीएम पोजेटिभ देखिएको थियो। ठिक छ, यो भरपर्दो जाँच थिएन। मानौं आधा मात्र सही थियो। समुदायमा नफैलिइकनै १५ जनामा चाहिँ संक्रमण कसरी भएछ ?

पदेन विज्ञको कुरा पत्याउने हो भने पहिलेकै साधारण कोरोना भाइरसले गर्दा आरडीटी पोजिटिभ हुन सक्छ। त्यसो भए सायद आईजीजी देखिनुपर्ने, आईजीएम होइन। अनि, आरडीटी  दोहोर्‍याउँदा पनि पोजेटिभ भए परीक्षणको सत्यता धेरै बढ्छ। केन्द्रीय कारागारका नर्समा दोहोर्‍याएरै पोजेटिभ देखिएको थियो। तिनलाई कसबाट सरेछ ?

चैत पहिलो सातासम्म चीन, मध्यपूर्व, युरोप, अमेरिकाका आगन्तुक लिएर सयौं विमान काठमाडौं उत्रिए। १-२ उडानका ३-४ यात्रु लक्षण नभएका संक्रमित पाइएपछि ती उडानका अरुको जाँच भयो। तर बाँकी उडानका हजारौंलाई सायद लक्षण नभएकैले जाँचिएन। के ती कसैलाई संक्रमण थिएन, तिनबाट कसैलाई सरेन होला ?

संक्रमणको सम्भावना भएका त्यस्ता सबैलाई जाँच गरेर, 'कन्ट्याक्ट ट्रेसिङ' गरेर क्वारन्टिन र आइसोलेसनमा राखेको भए पो समुदायमा संक्रमण फैलिन पाएन होला भन्न मिल्थ्यो। त्यस्ता अधिकांशको जाँच त गरिएन, अनि संसारभर देखिएको भाइरसको प्रकृतिविपरीत फैलिएन होला भनेर ढुक्क हुन मिल्छ ?

युरोप-अमेरिकी देशका सयौं-हजारौं संक्रमित व्यक्ति देशका धेरै भागमा हवाई आवागमन बन्द हुनुअघि नै पुगिसकेका हुनाले महामारी पहिले बाक्लियो। तर त्यता पनि महिनौंसम्म भूमिगतै सल्किरहेको रहेछ बाहिर धुवाँ नदेखिने गरी।

संसारभर महामारी भयावह रूपमा प्रकट हुनुअघि पीसीआरबाट पत्ता लागेका संक्रमितको संख्या आइसबर्गको टुप्पो मात्र रहेछ र वास्तविक संक्रमितको संख्या परीक्षणबाट देखिएका संख्याभन्दा असाध्यै बढी रहेछ भन्ने थुप्रै अध्ययनले देखाइसकेका छन्।

अब किन अस्पताल भरिएनन् भन्ने प्रश्नलाई जवाफ

हाम्रो चीनसँग आवागमन त्यति बाक्लो रहेनछ। सुरुमा केही मान्छेसँग संक्रमणका झिल्का पक्कै आए। तर तीन महिने लकडाउनमा भुसको आगो मात्र रह्यो, डढेलो हुन पाएको छैन। तर हुने दिन टाढा छैन।

प्रतिप्रश्न : खालि अनुमान मात्र गरेर तर्साउने ? खोइ काठमाडौंमा संक्रमित ?

उत्तर : काठमाडौंकै कतिलाई जाँचियो ? 'रिस्क ग्रुप/सेन्टिनेल सर्भेल्यान्स' वा 'सेरोप्रेभलेन्स' कति भए? छानेर विदेशबाट आएकामा र तिनका वरिपरि गरेका परीक्षणका आधारमा संक्रमण फैलिएको छैन भन्न महामारीशास्त्रले सिकाउँछ?

बौद्धिक चुनौतीकै रूपमा गाह्रो दलिल नै पेस गरौं भनेर माथि संक्रमण कम पुष्टि भएको काठमाडौंमै समुदायमा फैलिसकेको हुनुपर्छ भन्ने तर्क गरें। यहाँ त विज्ञले प्रदेश २, ५, कर्णाली, सुदूरपश्चिम कतै पनि समुदायमा संक्रमण छैन भन्छन्। 'सुतुरासन' लिनेसँग सकिँदैन नै, बाँकीलाई बुझाइरहनु नपर्ला तर उहाँहरूले त विश्व स्वास्थ्य सगठनजस्तो विज्ञ संस्थाको हवाला पो दिनुभएको छ।  

विश्व स्वास्थ्य संगठनले आफैं महामारी कति फैलिएको छ भन्दिने परीक्षण अध्ययन गर्छ कि सरकारले दिने आँकडाकै भरमा अहिलेलाई यति मात्र भन्छौं भन्छ ? संगठनका नेपालमा यस्ता महामारीकै विज्ञ कति छन्?

'विज्ञ' हरूको मुख्य समस्या

उहाँलाई लक्षणविनाका संक्रमितको अनुपात कति ठूलो रहेछ भन्ने विगत ३-४ महिनामा खुलेको ज्ञानले केही सिकाएकै छैन। हो हालसम्म नेपालमा सिकिस्त कम छन् लक्षणविनाका बढी छन्। तर त्यही नै डराउनुपर्ने कुरा हो। सुरुमा हाम्रैजस्तो सबैतिर रहेछ।

भियतनाम, ताइवान, केरलाले झैं सुरुदेखि नै हरेक संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहनत गर्नुसाटो 'नेपालमा फैलन्न, थोरै प्रतिशत मात्र सिकिस्त हुन्छन्' भनेर ढुक्कसँग बस्यौं भने फैलिँदै गएपछि जब लकडाउनभर घरभित्रै बसेका सिकिस्त हुने जोखिमका व्यक्तिलाई भाइरसले भेट्न थाल्नेछ तब विज्ञज्यूहरूलाई मुखभरिको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, तर धेरैका लागि ढिलो भइसकेको हुनेछ।

'विज्ञ'हरूलाई अनुरोध

काठमाडौंमै कोही संक्रमितसँग सम्पर्क नभई कोभिडले मृत्यु भएकाबाट बुझ्नुपर्ने कुरा गमौं, देशमा कोभिडले बितेका (अन्यत्र भए नबित्ने) १४-१५ युवालाई सम्झौं नेपाली जिन बोकेका, बीसीजी लाएका, लसुन-बेसार खाने, प्रायः युवा १३० जना नेपालीको कोभिडले विदेशमा मृत्यु भइसकेको कुरा सम्झौं, र सोचौं।

१० हजार संक्रमित भइसके, यति धेरै नेपालीको मृत्यु भइसक्यो, के देखेपछि भारदारी र सरकारी विज्ञहरूलाई आफ्नो विज्ञताको आइभरी टावरबाट ओर्लिन मन लाग्नेछ?

जनता मूर्ख छन्, सूचना पाउँदा त्यसलाई आँकेर ठिक बेठिक नठम्याई खालि आत्तिन्छन् भन्ने 'एलिटिस्ट' भ्रम कसैले नपालौं। सरकारले भन्दा पनि सुसूचित जनताले हो महामारीविरुद्ध जिताउने।

धेरै हताहती हुने सम्भावना छैन आफैं भन्ने, सुतुरासन लिने, अनि मूर्ख जनता मास्क नलाई भीड गर्छन् भन्न अलि नसुहाउला।

आफ्नो बोली र भूमिकाप्रति जिम्मेवार होऔं। भित्रकाले बेसारले ठिक हुन्छ भन्ने भारदारी विज्ञले फैलिएकै छैन, फैलिँदैन भन्ने सचेत गराउन खोज्नेलाई विषवमन गर्ने, जनताले के बुझ्छन्? भारदारी विज्ञले फैलिएकै छैन, फैलन्न भनेपछि सरकारी विज्ञलाई ब्रह्मकवच भैगो, काम सकिगो, दुःख गर्नै परेन।

वर्षौं आलोपालो मन्त्रालयभित्र र बाहिरबाट म्युजिकल चेयर खेल्दा दुवैथरी सरकारी र भारदारी क्रोनी-विज्ञलाई इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा महामारीशास्त्री चाहिन्छ भन्ने पनि हेक्कै भएनछ। 'टिबीले, दुर्घटनाले कति धेरै मर्छन्, किन कोभिडकै आतंक फैलाएको?' भन्ने गाली गर्ने जमात पनि उस्तै छ।

सुवेदीको ट्विटरबाट

प्रकाशित: Jun 25, 2020| 16:15 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...