नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला केही दिनमा ५ सयको हाराहारीमा थपिँदै गएको छ। संक्रमितको संख्या थपिँदै जाँदा क्वारेन्टिनमा रहेका मानिसको संख्या पनि घट्दै गएको छ ।
दुई साता अगाडिसम्म १ लाख ७२ हजार २६६ जना क्वारेन्टिनमा रहेकोमा बुधबार यो संख्या ७८ हजार ६३९ जनामा झरेको छ। दुई हप्ताको अवधिमा ९३ हजार ६२७ जना क्वारेन्टिनबाट बाहिरिएका छन् ।
गत चैत ११ गते लकडाउनपछि करिब १ लाख ८० हजारको हाराहारीमा भारतबाट मानिसहरु नेपाल भित्रिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान छ । भारतबाट आउने सबैलाई क्वारेन्टिनमा राखिएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् ।
कुनै व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेमा क्वारेन्टिनमा राख्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको आशंका गरिएका मानिसलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिनुपर्छ ।
शंकास्पद व्यक्तिहरुलाई संक्रमण रहेछ भने समुदायमा संक्रमण नफैलियोस् भनेर उनीहरुलाई क्वारेन्टिनमा राखिन्छ । तर नेपालमा भने कोरोना संक्रमणको स्रोत नै क्वारेन्टिन बनेको विज्ञहरुले बताएका छन् ।
बुधबारसम्म नेपालमा १० हजार ७२८ जना कोरोेना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ९८ प्रतिशतमा लक्षण छैन । साथै संक्रमण देखिएकामध्ये पनि ९० प्रतिशतभन्दा बढी क्वारेन्टिनमा रहेका छन् ।
गत जेठ २८ मा क्वारेन्टिनमा बस्ने मानिसको संख्या १ लाख ७२ हजार २६६ थियो । असार १० गतेसम्म आइपुग्दा यो संख्या घटेर ७८ हजारमा आइपुगेको छ । दैनिक औसत ६ हजार ६८८ जना क्वारेन्टिनबाट बाहिरिएको देखिन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार क्वारेन्टिनमा रहेका सबै १४ दिन बसेर नै बाहिरिएका हुन् ।
‘सुरुमा क्वारेन्टिनमा बसेकाहरु परीक्षण गरेर संक्रमण भए–नभएको यकिन गरेर बाहिरिएका थिए। त्यतिबेला परीक्षणको नतिजा केही ढिला आएको हुँदा क्वारेन्टिनबाट बाहिरीनेको संख्या थोरै देखिएको थियो । तर, अहिले परीक्षण मापदण्ड परिवर्तन भएपछि उनीहरुलाई परीक्षण नगरी क्वारेन्टिनबाट पठाउने गरिएको छ,’ उनले भने ।
भारतबाट नेपाल भित्रिनेको संख्या घटेकोले पनि क्वारेन्टिनमा रहनेको संख्या घट्दै गएको उनको भनाइ छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका पूर्व निर्देशक डा. बाबुराम मरासिनी क्वारेन्टिनमा बस्नेहरुलाई पीसीआर परीक्षण गरेर मात्रै निस्कन दिनुपर्ने बताउँछन्। पीसीआर परीक्षण गरेर पठाएको भए संक्रमणको जोखिम कम हुने उनको तर्क छ । ‘परीक्षण नगरी पठाउँदा उनीहरुमध्ये १० प्रतिशत संक्रमित हुनसक्ने र उनीहरुबाट समुदायमा संक्रमण फैलन सक्ने सम्भावना हुन्छ,’ मरासिनी भन्छन्।
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे सरकारको पछिल्लो गाइडलाइनका कारण क्वारेन्टिनबाट धेरै मानिस थोरै अवधिमा बाहिरिएको बताउँछन् । सरकारको गाइडलाइन नेपालमा सान्दर्भिक नभएको उनको तर्क छ ।
पाण्डे भन्छन्, ‘एक त नेपालमा क्वारेन्टिन नै मापदण्ड अनुसार छैन । अर्कोतर्फ सकारले बनाएको गाइडलाइन नेपालको लागि सान्दर्भिक छैन । कोरोना परीक्षणको पछिल्लो मापदण्ड मान्ने हो भने क्वारेन्टिन मापदण्ड पनि कार्यान्वयन गर्नुपर्छ ।’
नेपालमा क्वारेन्टिनलाई व्यवस्थित नगरेसम्म संक्रमणको दर फैलने उनी बताउँछन् । डा. पाण्डेका अनुसार क्वारेन्टिनमा पहिल्यै राखिएका मानिसहरुसँगै वा क्वारेन्टिन अवधि पुगिसकेका मानिसहरुसँग पछि थप मानिसहरु ल्याएर सोही क्वारेन्टिनमा राख्दा झनै संक्रमण फैलन सक्ने खतरा हुन्छ ।
पछि थपिएका मानिसहरुलाई एकै ठाउँमा राख्दा यदि उनीहरुमा संक्रमण रहेछ भने क्वारेन्टिन मुक्त हुने समय भएका मानिसलाई सर्छ । अवधि पुगेका मानिसलाई क्वारेन्टिनबाट बाहिर पठाएसँगै संक्रमण पनि बाहिर फैलने सम्भावना हुन्छ ।
क्वारेन्टिन सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ। तर अधिकांश क्वारेन्टिन मापदण्ड विपरीत सञ्चालित छन्। त्यसैले क्वारेन्टिनबाट नै उल्टै संक्रमणको जोखिम भएको विज्ञहरु बताउँछन् ।
साथै सरकारले ल्याएको मापदण्डले पिसिआर परीक्षणको दायरा खुम्चिएकोले संक्रमण फैलन सक्ने चिन्ता छ । जनस्वास्थय विज्ञ डा. समिरमणि दीक्षित पनि क्वारेन्टिनबाट निस्कँदा पीसीआर परीक्षण गर्नुपर्ने बताउँछन्।
विज्ञहरुका अनुसार सरकारले चीनको वुहानबाट ल्याइएका मानिसलाई राखेको भक्तपुर खरिपाटीको जस्तै सबै क्वारेन्टिन व्यवस्थित गर्नु आवश्क छ ।