काठमाडौं- आफ्नै नाथथर भएको अर्कै महिलाका नाममा जागिर खाने एक महिलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
कञ्चनपुरको कृष्णपुरस्थित राष्ट्रिय मावि पहरियामा कार्यरत बिस्नाकुमारी साउदविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले शिक्षक सेवा आयोग भक्तपुरको अस्थायी करार सूचीमा नाम रहेकी अर्की बिस्ना साउदको नाउँमा एक बर्षदेखि अस्थायी सूचीको शिक्षक भई जागिर खाइरहेको खुलेको अख्तियारले जनाएको छ।
कृष्णपुर नगरपालिका–१ पहरियाकी बिस्नाकुमारी साउद (ना.प्र.नं. १००३÷१९१६९ कञ्चनपुर) ले शुक्लाफाँटा नगरपालिका–६ की बिस्नाकुमारी साउद (ना.प्र.नं.७४१०१२ डडेलधुरा) का नाममा जागिर खाइरहेको अख्तियारले जनाएको छ।
यस्तै नागार्जुन नगरपालिका काठमाडौंमा प्राविधिक सहायक (नासु) पदमा कार्यरत भुवन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
गिरीले नियुक्ति हुँदा एसएलसीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी रामकोट गाविसमा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ।
सोही शैक्षिक प्रमाणपत्रका आधारमा नायब सुब्बासरहको पदमा बढुवासमेत लिएको अख्तियारले जनाएको छ।