तस्करीका सुन, अवैध हतियार र लागूपदार्थको भुक्तानी विदेशमा कसरी गरिन्छ? नेपालका उद्योग व्यापार घाटामा गइरहने तर तिनै औद्योगिक घरानाका ठूला उद्योग वा कम्पनी विदेशमा कसरी सफल भइरहेका छन्?
पैठारी र निकासीको न्यून बिजकीकरण, भ्रष्टाचार र कमिसनमा सरकारी संस्थानहरुले कसरी भुक्तानी र हिसाब मिलान गर्छन्?
प्राकृतिक स्रोतसाधन (जंगल, जडिबुटी, गिट्टी, ढुंगा, बालुवा आदि) को अवैध कारोबारको भुक्तानी कसरी हुन्छ?
विदेशमा रहेका कामदारले पैसा पठाएर फोन गर्न नपाउँदै घरमै नगद कसरी आइपुग्छ? तर त्यो मुद्राको अभिलेख सरकारी खातामा किन जाँँदैन?
मानव बेचबिखन, अपहरण र फिरौती असुलीका घटनाबाट राजस्व संकलन किन हुँदैन? यी प्रश्नको जवाफ एउटै छ – यी सबै गतिविधिको आर्थिक कारोबार हुन्डीमार्फत हुन्छ।
हुन्डीमा विदेशबाट रकम पठाउँदा देखिने गरी बैंकको प्रयोग हुँदैन। कारोबार पनि नेपाली रुपैयाँमा नेपालभित्रै भएको देखिन्छ। हुन्डीबारे थप बुझ्न कारोबारका केही उदाहरण हेरौं :
- कोरियामा कार्यरत नेपाली कामदारले नेपालमा आफन्तलाई पैसा पठादिएँ भनेर फोन गर्छ। उसले कुनै सम्पर्क नम्बर वा कोड दिन्छ। त्यसको केही क्षणमै उक्त सम्पर्क नम्बर वा कोडबाट नेपालमा नेपाली रुपैयाँमा नै भुक्तानी हुन्छ। भुक्तानी नगद, चेक वा बैंक खातामा वा सहकारीमार्फत जे पनि हुन सक्छ।
- अस्ट्रेलियामा पढ्ने विद्यार्थीलाई रकम पठाउन अभिभावकले यहाँ कुनै मान्छेसँग सम्पर्क गरी रकम हस्तान्तरण गर्छ। त्यसको केही क्षणमा उहाँ स्थानीय मुद्रामा रकम भुक्तानी हुन्छ।
- हङकङमा बसाइँ सरेको नेपालीले घर बेचेको पैसा नेपालमा कसैलाई भुक्तानी गर्नासाथ हङकङको बैंक खातामा स्थानीय डलरमा जम्मा भएको पाउँछ।
- मलेसियामा रहेका कामदारले आफूले लिनुपर्ने तलब अर्कै व्यक्तिले नेपाली मुद्रामा घरमै भुक्तानी गरिदिन्छ।
हुन्डीमै किन आकर्षण?
नेपालमा विदेशी मुद्राको मुख्य स्रोत वैदेशिक रोजगार हो। विदेशमा काम गर्ने नेपाली कामदारले पाउने पारिश्रमिक नेपाल पठाउन सहज छैन। वैध बाटोबाट रकम पठाउन काम छाडेर घण्टौं बैंकमा लाइन बस्नुपर्छ। दस्तुरबापत ठूलो रकम तिर्नुपर्छ। यसरी पठाएको रकम नेपालमा समयमै आइपुग्दैन। तर हुन्डी गरेर रकम पठाउँदा केही बेरमै घरमा आइपुग्छ र दस्तुर कम तिरे हुन्छ। त्यसैले वैदेशिक रोजगारीमा रहेका श्रमिक हुन्डीमार्फत कारोबार गर्न रुचाउँछन्।
कसरी हुन्छ हुन्डीमा कारोबार
रकम पठाउन र ल्याउन अप्रत्यक्ष रुपमा बैंक वा वित्तीय संस्था प्रयोग भएको हुन्छ। तर हुन्डी हो होइन बैंकहरुलाई थाहा हुँदैन। हुन्डीको भुक्तानी र हुन्डी गर्नुपर्ने रकम नेपाली रुपैयाँमा नेपालभित्रै कारोबार भई त्यस्तो रकम बैंक वा सहकारीमै जम्मा गर्नुपर्ने हुन्छ। त्यसैले चेक पनि यहाँका बैंक वा सहकारीको प्रयोग हुन्छ। यसमा भुक्तानी दिने रकम बैंक वा सहकारीबाटै निकालिन्छ। बैंक वा सहकारीमा नेपाली रुपैयाँ जम्मा गरिएको हुन्छ।
हुन्डी कारोबारमा भाइबर, वाट्सएप, विच्याटजस्ता प्रविधि प्रयोग हुन्छन्। यिनै प्रविधिमार्फत एक देशबाट अर्को देशमा भएका व्यक्तिलाई आदेश दिने र अर्को व्यक्तिले आफ्नो खाताबाट रकम निकालेर ग्राहकलाई भुक्तानी दिने वा ग्राहकको बैंक खातामा जम्मा गर्छन्।
हुन्डी कारोबारलाई सहयोग पुर्याउने अन्य प्रक्रिया पनि छन्। भन्सारमा हुने न्यून बिजकीकरणबारे धेरैलाई थाहै छ। हामी यो पैठारी भएर आउने सामानमा मात्र हेर्छौं।
विदेशतर्फको निकासीमा न्यून बिजकीकरण गर्दा त्यसको भुक्तानीबापत देशमा कम रकम आउने र न्यून मूल्य बराबरको केही विदेशी मुद्रा विदेशमै रहन्छ। आवश्यकभन्दा बढी मूल्यांकन गरेर निकासी गर्दा विदेशको गैरकानुनी आर्जनलाई वैध बाटोबाट भित्र्याएर सम्पत्ति शुद्धीकरण गर्नेले हुन्डीको प्रयोग गर्छन्।
भन्सार महसुल कम लाग्ने वा लाग्दै नलाग्ने सामानमा धेरै मूल्यांकन (अधिक बिजकीकरण) गरी नेपालमा पैठारी गर्दा पनि हुन्डी प्रयोग गरिन्छ।
‘मनी ट्रान्सफर’ गर्न अनुमति पाएका बैंक र ‘मनी ट्रान्सफर’ कम्पनीहरुको सहयोगमा पनि हुन्डी कारोबार हुन्छ।
यस्ता कम्पनीले आफ्ना एजेन्टलाई ‘मनी ट्रान्सफर’ गर्न विभिन्न ‘पिनकोड’ उपलब्ध गराउँछन्। यस्ता पिन कोड राष्ट्रिय र अन्तर्राष्ट्रिय कारोबारका लागि अलगअलग हुन्छन्। पिनकोड दुरुपयोग गरेर पनि हुन्डी कारोबार हुन्छ।
हुन्डीको असर
हुन्डी कारोबार राष्ट्रिय तथ्यांक वा राज्यको जानकारीबाहिर हुन्छ। नेपालमा आउने हुन्डी रकम प्रायः वैदेशिक रोजगारीमा गएका कामदारहरुको पारिश्रमिक हो। हुन्डीले राजस्व चुहावटमा सहयोग गरिरहेको देखिन्छ। रेमिट्यान्सको ६० प्रतिशतभन्दा बढी अनौपचारिक माध्यमबाट आउने गरेको सरकारी अनुमान छ।
बाह्य मुलुकबाट देशभित्र आउनुपर्ने विदेशी मुद्रा आउँदैन र राष्ट्रिय अर्थतन्त्रमा देखिँदैन। यसर्थ विप्रेषण खाता घाटामा रहन सक्छ। देशबाट गैरकानूनी रुपमा राष्ट्रिय सम्पत्ति वा पुँजी पलायन भएर विदेश जान्छ।
कतिपय अवस्थामा हुन्डीकै माध्यमबाट विदेश गएको रकम वैदेशिक लगानीका रुपमा फेरि कर छुटको मुलुक हुँदै नेपाल भित्रिएर सम्पत्ति शुद्धीकरणको माध्यम बन्न सक्छ। राज्यलाई प्राप्त हुनुपर्ने विदेशी मुद्रा प्राप्त नभई छाया अर्थतन्त्र वा गलत क्रियाकलापमा प्रयोग हुन्छ। यसबाट अवैध गतिविधि, आर्थिक अपराध र अन्य आपराधिक गतिविधिले प्रोत्साहन पाउँछन्।
कानुनी अस्पष्टताले अनियन्त्रित
नेपालको कानुनमा हुन्डीबारे स्पष्ट परिभाषा छैन। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार नै हुन्डी सम्बन्धी अपराधलाई समेत विदेशी विनिमय अपचलनमा अनुसन्धान र अभियोजन गर्ने गरिएको छ। यस्तो कानुनी अस्पष्टताका कारण विदेशी विनिमय अपचलन गर्ने व्यवसाय नियन्त्रणमा आउन सकेको छैन।
नेपालभित्र नेपाली रुपैयाँमा नेपालकै बैंक र सहकारीमार्फत रकम निकाल्ने, जम्मा गर्ने र भुक्तानी दिने गरी कारोबार हुने हँुदा यस्तो कारोबारलार्ई कसरी विदेशी विनिमय अपचलन गरेको भन्ने? सहकारीबाट निकालेको रकम कसरी हुन्डी हुन्छ? हाम्रा कानुन व्यवसायी र न्यायिक निकायले यिनै बिषयमा प्रश्न गर्छन्। हुन्डीको परिभाषा गर्ने, यस्तो कारोबारलाई अपराध र कसुर मान्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा उनीहरुको तर्क नाजायज होइन।
अबको बाटो
कोरोना महामारीका कारण अब वैदेशिक रोजगारी प्रायः बन्द हुनेछ। विदेशी मुद्राको अर्को स्रोत पर्यटन व्यवसाय धराशयी भइसकेको छ। अब राज्यलाई अत्यावश्यक विदेशी वस्तुको आयात, अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्कका लागि आवश्यक पर्ने विदेशी मुद्रा आपूर्तिमा समस्या भई वैदेशिक ऋणमा निर्भर हुनुपर्ने सम्भावना छ।
हुन्डी कारोबार विदेशी विनिमयको अपचलन, आर्थिक अपराधलाई प्रोत्साहन, छाया अर्थतन्त्रको विकास गर्ने र राजस्व छल्ने माध्यम हाे। साथै चोरी, तस्करीजस्ता आपराधिक क्रियाकलाप वृद्धि गर्ने आधारसमेत हाे। यति ठूलो अपराध नियन्त्रण गर्ने कानुनी व्यवस्था छैन। तसर्थ हुन्डी कारोबारलाई नियन्त्रण गर्न निम्न कार्य गर्नैपर्छ ः
- विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ लाई प्रतिस्थापन गरी सजाय र नियन्त्रणात्मक उपायसहितको कानुनी व्यवस्था गर्ने।
- विदेशमा काम गर्न जाने कामदारलाई रोजगारी अनुमतिकै समयदेखि वैधानिक बाटोबाट रकम भित्र्याउन प्रोत्साहन गर्ने।
- विदेशमा प्राप्त गरेको रकम बैंकिङ माध्यमबाट ल्याउँदा तिर्नुपर्ने शुल्क कल्याणकारी कोषबाट भुक्तानी गर्ने।
- तस्करी, लागूपदार्थ ओसारपसार र अवैध हतियार कारोबार नियन्त्रण गर्ने र यस्ता कार्यको अनुसन्धान र अभियोजनमा विदेशी विनिमय अपचलनको समेत अनुसन्धान गरी कारबाही गर्ने व्यवस्था गर्नुपर्ने।
- भन्सारमा यथार्थपरक कारोबार मूल्य निर्धारण गर्ने परिपाटी विकास गरी निकासी पैठारी दुवैमा न्यून बिजकीकरणसँगै अधिक बिजकीकरणमा समेत नियन्त्रण गर्ने कानुनी व्यवस्था गरी कारबाही गर्ने।
- विदेशमा बसाइँ सर्ने, व्यापार व्यवसाय गर्ने र वैदेशिक लगानीका नाममा निजी उद्योग व्यवसायमा पुँजी भित्र्याउनेप्रति विशेष निगरानी गरी पुँजी पलायन र सम्पत्ति शुद्धीकरणमा समेत विशेष निगरानी बढाउने।