राष्ट्रियताबारे देखिएको एकताप्रति प्रधानमन्त्री खुसी
विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा उनले सभामा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गरेको बताए ।
सरकारले नेपालको नयाँ नक्शानुसार संविधानको अनुसूची सच्याउन प्रतिनिधिसभामा पेश गरेको संविधान संशोधन प्रस्तावप्रति मंगलबारको बैठकमा सबै दलले सहमति जनाएका थिए ।
प्रधानमन्त्री ओलीले भने, “दलीय व्यवस्थामा यस्ता एकता कहिलेकहिले मात्र देख्न पाइन्छ तर हाम्रो संसद् यस्ता मामलामा गम्भीर छ । आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।”
उनले संसदभन्दा बाहिर पनि देखिएको एकताका लागि सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे ।यसमा कसले जस लिने भन्दा पनि यो सबै नेपालीको साझा प्रकटीकरण भएको उल्लेख गर्दै उनले यसमा कसैले पनि जस पाउला भनेर र कोही जस लिनबाट छुट्ला भनेर चिन्ता लिनुनपर्ने बताए ।