आइतबार, असार ८, २०८२

कोरोनाविरुद्धको खोप बनाएका डा. दास भन्छन्– परीक्षणको बाटो लामो रहेछ, सरकारले ढिलो नगरोस्

आफूले तयार गरेको खोप अब स्वास्थ्य अनुसन्धान परिषद् लगायत निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परीक्षणमा जाने उनी बताउँछन्।
 |  आइतबार, जेठ २५, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, जेठ २५, २०७७

विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप र औषधि निर्माणमा दिनरात मिहिनेत गरिरहेका छन्। केही औषधि र खोप परीक्षणको क्रममा छन्। यद्यपि, खोप निर्माणको प्रक्रिया लामो र जटिल हुन्छ।

यसै क्रममा नेपालमा पनि कोरोनाविरुद्धको खोप तयार भएको समाचार सार्वजनिक भएको छ। हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा. ललितकुमार लाल दासले कोरोना विरुद्धको खोप तयार पारेको दाबी गरेका हुन्।

नेपालमै पाइने जडिबुटीको प्रयोगबाट करिब ७० दिनको प्रयासमा कोरोनाविरुद्धको खोप तयार पारेको दासको दाबी छ।

कसरी बन्यो खोप?

विश्वमा प्रकृतिलाई नै चुनौती दिने आविष्कारहरु भइसके तर, कोरोना भाइरसविरुद्धको खोप नबन्दा लाखौं मानिसको ज्यान गइरहेको समाचारले आफूलाई सोच्न बाध्य बनाएको र त्यसकै परिणाम स्वरुप खोप बनाउन आफू तम्सिएको डा दास बताउँछन्।

‘कोरोनाविरुद्ध भ्याक्सिन निर्माणमा म आफैं किन नलाग्ने, मैले पनि पढेको विषय यही हो, म किन गर्न सक्दिन भन्ने सोचेर काम सुरु गरेको हुँ,’ दासले भने।

उनले खोप बनाउन सुरु गर्दा नेपालमा पनि कोरोनाको संक्रमण देखिन थालिसकेको थियो। त्यसपछि खोप उत्पादनका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको गाइडलाइन अध्ययन् गरेको र विज्ञहरुका लेख तथा अन्तर्वार्ता पाएसम्म पढेको उनी बताउँछन्।

उनले नेपाल समयसँग भने, ‘गाइडलाइनमा नेपालमा सहजै रुपमा पाउने विभिन्न जडिबुडीको नाम थियो, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। तिनै जडिबुटी प्रयोग गरेर विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार खोप तयार पार्ने खाका बनाएँ।’

गाइडलाइन अनुसार वनस्पतिहरुले कसरी भाइरसलाई निष्क्रिय गराउन सक्छन्, वा ब्रेकडाउन गर्न सक्छन् भन्ने अध्ययन गरेर त्यस्तै प्रकारको ‘कम्पोनेन्ट’हरु लिएर काम गरेको उनी बताउँछन्।

कोरोना भाइरसको बाहिरी र भित्री भागलाई कसरी ब्रेक गर्न सकिन्छ भन्ने गहन अध्ययन गर्दा बाहिरको क्राउन र भित्रको भागलाई ब्रेक गर्न सकेमा भाइरस कमजोर हुने निष्कर्ष निकालेपछि त्यस अनुसारका जडिबुटीबाट खोप तयार पारिएको उनको दाबी छ। खोपमा एन्टी अक्सिडेन्ट भएका इम्युनिटी पावर बढाउने जडिबुटीको पनि प्रयोग गरिएको उनको भनाइ छ।

‘मैले दुई विधिबाट भ्याक्सिन बनाएको छु। पहिलो कोरोना भाइरसलाई निष्क्रिय बनाउने र अर्को इम्युनिटी पावर बढाउने,’ उनले भने, ‘डब्ल्यूएचओेको गाइडलाइन अनुसार कोरोना भाइरस र इम्युनिटी पावरको लागि छुट्टाछुट्टै मोडलहरु बनाएर काम गरेको छु।’

उनका अनुसार कोरोना भाइरसको लागि ३ वटा मोडल र इम्युनिटि पावर बढाउनको लागि ६ वटा मोडलको प्रयोग गरिएको छ। खोपमा कुनै केमिकल नमिसाइएको उनले बताए।
आफू एक्लैले ७० दिन निरन्तर मिहिनेतपछि खोप तयार गरेको डा. दास बताउँछन्। खोपमा कुन–कुन जडिबुटीको प्रयोग गरिएको छ भन्ने चाहिँ उनले खुलाएनन्।

खोपका विषयमा गत मंगलबार नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओेका अनुसन्धान अधिकारीसँग भर्चुअल छलफल भएको डा. दास बताउँछन्।

विश्व स्वास्थ्य संगठनले सुईका रुपमा मात्र नभई खाने सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको उनले सुनाए। सुईमार्फत् खोप दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न डब्ल्यूएचओेका अधिकारीले सुझाव दिएको उनले बताए।

डा. दास भन्छन्, ‘कुनै पनि औषधि वा खोप बनाउनुप¥यो भने नेपाल सरकारमार्फत् जानुपर्छ। भाइरोलोजी ल्याबबाट टेस्ट भएको हुनुपर्छ। त्यो सरकारले गर्ने हो। अब सरकारले डब्ल्यूएचओमा भ्याक्सिन पुु¥याउन सहयोग गर्नुपर्छ। मैले प्रयोगशालाको काम पूरा गरेको छु, अब थप अनुसन्धान र परीक्षणको जिम्मा सरकारको हो।’

आफूले तयार गरेको खोप अब स्वास्थ्य अनुसन्धान परिषद् लगायत निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परीक्षणमा जाने उनी बताउँछन्।

भन्छन्, ‘परीक्षणको लागि बाटो लामो रहेछ, भर्खर प्रक्रिया सुरु हुँदैछ। सरकारले प्रमाणित गरेर सिफारिस गरेपछि मात्रै विश्व स्वास्थ्य संगठनले परीक्षणको लागि अनुमति दिन्छ।’

उनले अगाडि भने, ‘म गरिब परिवारमा हुर्केको मान्छे हुँ, गरिबीकै कारण उपचार गराउन नसक्दा मैले बुबा र दाइलाई गुमाएको छु। त्यसैले कसैले पनि औषधि नपाएर मर्नु नपरोस् भनेर मैले यो प्रयास गरेको हुँ।’

उनी खोपको परीक्षणको पर्खाइमा व्यग्र छन्।

प्रकाशित: Jun 07, 2020| 17:33 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्