विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुझाएअनुसार अब नेपालले पनि कोरोना संक्रमण पुष्टि भएपछि पुनः पीसीआर परीक्षण नगर्ने भएको छ । एक व्यक्ति एक परीक्षण नीति अनुरुप संक्रमित व्यत्तिको एक पटकमात्रै परीक्षण गरिने भएको हो।
त्यस अनुरुप अब संक्रमित ल डिस्चार्ज गर्ने बेला कोरोना परीक्षण गरिरहनु आवश्यक छैन। अब संक्रमित भएर पनि कुनै लक्षण नदेखिएका व्यक्तिलाई तीन दिनमै घरमा पठाइने छ ।
विश्वको तथ्यांक हेर्ने हो भने पनि कोरोना संक्रमित भएकाहरुमा ८० प्रतिशत मानिसहरुलाई कुनै पनि लक्षण नदेखिएको र उनीहरु सामान्य अवस्थाका रहेको पाइन्छ। नेपालमा पनि हालसम्म अधिकांश संक्रमितहरु लक्षणविहिन अवस्थामा छन् ।
तर, संक्रमितलाई पुन परीक्षण नगरी तीन दिनमै घर पठाइने भएपछि सर्वसाधारणमा कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता थपिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोही व्यक्ति संक्रमित भएको १० दिनपछि उसले अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना अत्यन्त न्यून हुन्छ। भाइरस आफै निष्कृय हुने भएकाले उनीहरुलाई थप परीक्षणको जरुरत पर्दैन ।
त्यस्तै लक्षण देखिएर अस्पतालमा भर्ना भएका व्यक्तिहरुलाई पनि लक्षण देखिन छोडेको तीन दिनपछि पीसीआर नगरी डिस्चार्ज गर्न सक्ने उनले बताए।
डा. पाण्डे भन्छन्, ‘नयाँ संक्रमण हो, मानिसहरुले शंका गर्नु स्वभाविक पनि हो, तर हामीले विभिन्न विभिन्न देशको अवस्था हेरेर, अनुसन्धानहरु अध्ययन गरेर गर्ने हो, आफूखुसी गर्ने होइन ।’
संक्रमण फैलन सक्छ, सचेत बन्नुपर्छ
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भने संक्रमित व्यक्तिलाई लक्षण देखिएन भन्दैमा त्यतिकै घर पठाउनु उपयुक्त नहुने बताउँछन् ।
उनले भने, 'नयाँ रोग भएकाले यसको कुनै इतिहास छैन, भर्खर अध्ययन हुँदैछ । कति समयमा निको हुन्छ भन्ने पनि एकिन छैन । एक व्यक्ति एक परीक्षण नीति ठिक भए पनि अस्पताल पुगेको मानिस संक्रमण मुक्त भएको कुनै आधार नहुँदा संक्रमितहरुले अन्यमा संक्रमण सार्न सक्दैनन् भन्न सकिँदैन ।'
मानिसहरु घरमा गएर सरसफाइ गरी अलग अलग बसेनन् भने अरुमा सर्नै सक्दैन भन्न नसकिने उनी बताउँछन्। बरु त्यस्ता व्यक्तिलाई अस्पताल भन्दा बाहिर निश्चित ठाउँ बनाएर व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ।
नेपालमा संक्रमितहरु कोरोनामुक्त हुन संक्रमण पुष्टि भएको ३ दिनदेखि ४२ दिनसम्म लागेको छ ।
सरकारको तयारी पुगेको छैन
नेपालका ८० प्रतिशत संक्रमितहरु लक्षणविहिन छन् । जसलाई लेभल १ कै अस्पतालले पनि धान्न सक्छ अथवा घरमा नै आइसोलेट भई सावधानीपूर्वक बसेमा स्वतः निको हुने देखिएको छ ।
क्वारेन्टिइन व्यवस्थित बनाई निरन्तर स्वास्थ्यकर्मीहरुको निगरानीमा राखेमा संक्रमण अन्यमा फैलन पाउँदैन । तर हालको क्वारेन्टिन व्यवस्थित नभएकाले त्यहाँबाट नै संक्रमण फैलिरहेको छ ।
सरकारले कोरोना नियन्त्रणको लागि न्यूनतम तयारी पनि नगरेको डा. मरासिनि बताउँछन् । क्वारेन्टिनको अवस्था निकै दयनिय छ । अर्को कुरा सरकारले यतिबेला ५० हजार संक्रमित पुग्ने आंकलन गरेर योजना बनाउनु पर्ने समय हो तर अहिले जम्मा ५ हजार संक्रमितको आकलन गरेर योजना बनाइएको छ । यो निकै न्यून हो । अझै पनि महामारी फैलीसकेको छैन र सरकारले तयारी गर्ने समय भएको छ ।
मरासिनि भन्छन्, ‘जबसम्म सीमामा कडाइ गरिँदैन वा विदेशबाट आएकालाई व्यवस्थित गर्न सकिँदैन, संक्रमित निरन्तर रुपमा बढिहरन्छन्। जहिले पनि अपर केसलाई लिएर योजना बनाउनुपर्छ। हामीले अहिलेसम्म ५ हजारको कल्पना गरेर योजना बनाउनु मूर्खता हो । हामी लोअर केसका योजना बनाएर बसेका छौं ।’
चीनको योङ्जी मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्य पनि नेपालमा कोरोना नियन्त्रण तथा उपचारको तयारी नपुगेको बताउँछन् ।
उनले आगामी ३ महिनासम्म संक्रमणको दर अझै बढ्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर तयारी अवस्थामा राख्नुपर्ने बताए । नेपालमा हालसम्म देशभरमा १ हजार ५९५ आइसीयू बेड र ८४० वटा भेन्टिलेटर छन् ।
भारतबाट आउने सबैको परीक्षण गरौं
सबैभन्दा धेरै नेपालमा भारतबाट आउनेहरुबाट कोरोनाको जोखिम बढेको हुँदा उनीहरु सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने सुझाव विज्ञहरुको छ । भारतीय सीमाबाट नेपालीहरु आउने क्रम नरोकिएकाले नेपालमा कोरोना संक्रमित अझै थपिने उनीहरुको दाबी छ ।
उनीहरूलाई नेपाल आइसकेपछि दोस्रो दिनदेखि नै पीसीआर टेस्ट गर्ने तथा २८ दिन क्वारेन्टिनमा राख्न डा. आचार्यको सुझाव छ । साथै भारतसँगको सीमा नाका व्यवस्थापन गर्न नसक्दासम्म कोरोना नियन्त्रण गर्न सहज नहुने चिकित्सकहरुले बताउँदै आएका छन् ।
सरकारको हालको तयारी निकै फितलो भएको डा. आचार्य बताउँछन् । फितलो सतर्कता, ट्रेसिङ र टेस्टिङ प्रभावकारी हुन नसक्दा समस्या झनै बढेर जाने विज्ञहरुको दाबी छ ।