वीर अस्पतालको पहिल्लो तला । अन्दाजी २५ वर्षका एक युवा करिब दुई सातादेखि आईसीयूको बेड नं. ३ मा छन् ।
कसैलाई थाहा छैन उनको नाम। नत ठेगाना नै थाहा छ। उनी आफैँलाई त थाहा होला तर बताउन सक्दैनन् ।
गत २९ मंसिरमा काठमाडौं महानगरपालिकाले काठमाडौंलाई सडक मानवमुक्त बनाउने अभियान सुरु गरेको थियो। मानव सेवा आश्रमसँगको सहकार्यमा सडकमा अलपत्र मानिसहरुको उद्धार भइरहेको छ। उद्धार टोलीले पशुपति परिसरमा अर्धनग्न अवस्थामा कुक्रुक्क परेर बसेका पुरुषलाई भेटायो।
शरीरमा एउटा ज्याकेटमात्रै थियो । शरीरभर घाउ नै घाउ थिए । तिनै घाउ कोट्याउँदै बसिरहेका उनी बोल्न पनि सक्दैनथे, न त कतै हिँडडुल गर्न सक्ने अवस्थामा नै थिए । अरुले बोलेको कुरा पनि बुझ्थे कि बुझ्थेनन्, त्यो पनि थाहा छैन । मानसिक अवस्था त्यति सहज थिएन। तर गुमेको पनि थिएन ।
मानव सेवा आश्रमका प्रवक्ता सुमन बर्तौला भन्छन् ‘सुरुमा त उनी हामीसँग आउन मानेका थिएनन्। निकै प्रयासपछि हामीले उनलाई लुगा लगाइदिएर आश्रम पुर्यायौं । उनको अवस्था निकै नाजुक थियो । आश्रममा उनलाई केही समय राखियो तर अवस्था निकै दयनिय बन्दै गयो । उनको अवस्था हेरेर, आश्रममा ल्याएर मात्रै बस्न सकिएन, वीर अस्पताल लग्यौं ।’
केही समय अस्पतालमा राखेर उपचार गर्दा सुधार आउन नसकेपछि चिकित्सकले अस्पतालबाट लैजान आग्रह गरे। उनलाई पुनः आश्रममा लगियो। आश्रममा लगेपछि उनको अनुहारमा बाँच्ने आशासहितको मुस्कान देखियो ।
उनको त्यो एक मुस्कानले पुनः उनलाई अस्पतालमै फर्काइदियो । उनलाई फेरि वीर अस्पतालमा लगेर उपचार सुरु गरियो । अहिले कस्तो छ भनेर सोध्दा दुवै हातको बुढी औंला उठाएर ठिक छु भन्ने भाव देखाउँछन् । उनको मानसिक अवस्थामा पनि सुधार आएको छ ।
वीर अस्पतालका चिकित्सकका अनुसार उनको आन्द्रामा प्वाल परेर आन्द्रा कुहिसकेको छ। त्यसको असरले बाहिरी छालामा समेत घाउ भएको उपचारमा संलग्न डा. सागर देवकोटाले बताए । अस्पताल ल्याउँदा पेटमा घाउ भएर आन्द्रा बाहिर निस्किएको थियो ।
अप्रेसन समेत गर्न नमिल्ने अवस्था थियो । एउटा समस्या त छँदै थियो, त्यसमाथि पनि उनलाई अर्को समस्या थपियो। मुटुको चाल समेत कम हुन थाल्यो। १२ दिन भेन्टिलेटरमा राखेपछि उनको अवस्थामा केही सुधार भएको छ । हाल उनलाई भेन्टिलेटरबाट निकालिएको छ। तर स्वास्थ्यमा सुधार आउन कति समय लाग्छ भनेर यकिन भन्न नसकिने डा. देवकोटा बताउँछन् ।
उनको उपचारका लागि आर्थिक अभाव रहेको मानव सेवा आश्रमका प्रवक्ता सुमन बताउँछन्। ‘अन्य समयमा सहयोगीले सहयोग गर्नुहुन्थ्यो तर यो लकडाउनको समयमा सबैलाई संकट परेको छ। उनको एक ट्याब्लेट औषधिलाई ८ हजार पर्न जान्छ,’ सुमनले भने, ‘उपचारमा करिब डेढ लाख खर्च भइसकेको छ। अझै अस्पतालको बेडलगायत अन्य खर्च बुझाएको छैन ।’
केही समय अघिसम्म अन्य संस्थाहरुले खाना खुवाए पनि लकडाउन थपिएसँगै आश्रमलाई समस्या थपिएको छ । आश्रमले अहिले झण्डै ११०० जनालाई संरक्षण दिँदै आएको छ । आठ वर्ष अगाडि सडक मानवमुक्त अभियानमा लागेको आश्रमले हालसम्म सातै प्रदेशका १७ जिल्लाका १९ शाखाबाट सेवा दिइरहेको छ ।
चाहे लकडाउनको समय होस् वा अन्य समय, सडकमा बेवारिसे अवस्थामा मानिसहरु छन्, आश्रममा लगिदिनुपर्यो भन्दै दिनहुँ फोनको घण्टी बजिरहन्छ । कोरोनाको कहरसँगै यस्ता फोनहरु आउने क्रम झनै बढ्दो छ । अन्य समयमा मानिसहरुको भिडमा हराएका बेबारिसे मानिसहरु यो समयमा देखिन थालेको प्रवक्ता सुमन बताउँछन् । उनका अनुसार लकडाउनको अवधिमा देशभरबाट ७५ जना बेवारिसे मानिसहरुलाई उद्धार गरिएको छ ।
तर यो समयमा उद्धार गर्न असहज भएको उनी सुनाउँछन् । ‘कोरोनाको कहर छ, सुरक्षाको लागि सबै घरभित्रै छन् । सडकमा रहेका मानिसहरु कहाँ जान्छन्, केके गर्छन् थाहा हुँदैन । आश्रममा ल्याउनुअगाडि उनीहरुलाई कोरोना संक्रमण छ, छैन यकिन गर्नुपर्छ। आश्रममा सबैलाई क्वारेन्टिनको व्यवस्था गर्न सम्भव छैन । त्यसैले कोरोना परीक्षण गरेर ल्याउनुपर्ने हुन्छ । यस्तो अवस्थामा निकै समस्या परेको छ,’ सुमन बताउँछन् ।
उनले थपे, ‘तर कोरोना फैलिरहेको छ भनेर हामी चित्त बुझाउन सक्दैनौं। सडकको दु्ःख देख्दा मन थाम्नै सकिँदैन र आफ्नै प्रयासमा हामीले पिसिआर गरेरै आश्रममा ल्याउने गर्छौं ।’
आश्रममा धेरैजना वृद्धवृद्धा भएकाले थप सचेतता अपनाउनुपर्ने उनी बताउँछन् । ‘तर कतिपय अवस्थामा अवस्था नाजुक देख्दादेख्दै पनि कोरोना परीक्षण गर्न नपाउँदाको क्षणमा भने मन भक्कानिन्छ,’ सुमन भन्छन् ।
अझै धेरै सडकमा भएपनि पिसिआर गर्न नसकिएकाले ल्याउन नपाएको आश्रमको अनुभव छ । उद्धार गर्नका लागि पिपिई लगाएर आश्रमका अभियानकर्मी खटिन्छन् । हातमा पञ्जा, साथमा सेनिटाइजरसहित मुखमा मास्क लगाएर सडकमा पुग्छन् । विभिन्न सहयोगीले सुरक्षाका सामाग्री आश्रमलाई उपलब्ध गराएका छन् । भेटिएका बेसहारा सडक मानवलाई उद्धार गर्दा मापदण्डकै प्रयोग गर्ने गरिएको छ ।
मानव सेवा आश्रमले सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेर समेत खान नसक्ने, बेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ । काठमाडौँका पनि धेरै स्थानबाट भोकै भएको भन्दै फोन आइरहन्छन् तर यो समयमा सबैलाई सम्बोधन गर्न नसकिएको भन्दै बर्तौला खिन्नता प्रकट गर्छन् ।