काठमाडाैं। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रूपैयाँको संशोधित बजेट नगरसभामा पेस गरेको छ। कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा शनिबार सुरू भएको नगरसभामा उपप्रमुख सुनिता डंगाेलले उक्त संशोधन प्रस्ताव पेस गरेका हुन्।
चालू आवका लागि स्वीकृत चार अर्ब ३६ करोड ७१ लाख सात हजार बजेटका कार्यक्रमलाई संशोधनमा लगिएको हो । कामपाले चालू आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँ अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो।
सभामा लेखाप्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले आव २०७७/७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिए। त्यस आवमा बेरुजु देखिएको एक अर्ब सात करोड १२ लाखमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रूपैयाँ फस्र्यौट भएको छ। सभामा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले विधेयक तथा संशोधन गर्नुपर्ने ऐन सम्बन्धी प्रस्ताव पेस गरेका थिए। यसरी पेस भएका दुई विधेयकमा नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानीसम्बन्धी छन्।
संशोधन गर्नुपर्ने बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्तसम्बन्धी ऐन, २०७७ र आर्थिक ऐन २०७९ संयोजक महर्जनले पेस गरे। पेस भएका विधेयक तथा ऐनको दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ। समितिले यी दस्तावेज नगरसभाको आगामी बैठकमा पेस गर्नेछ।
सभामा सुशासन समितिका संयोजक एवं वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले कामपाको संगठन संरचना, दरबन्दी संरचना र केही पद नामको कार्य विवरण संशोधनसम्बन्धी प्रस्ताव पेस गरेका थिए। स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ५ उपदफा १ बमोजिम प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति र सुशासन समितिको निर्णयका आधारमा संयोजक तिवारीले प्रस्ताव पेस गरेका हुन्।