काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक अनुकुलतामा नभएपनि समग्र अर्थव्यवस्थामा सुधार ल्याई ५ वर्षमा आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने संकल्प व्यक्त गरेका छन्।
मंगलबार विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने ‘यो सम्मानित संसदलाई मैले प्रस्ट भन्नुपर्छ, हामी आर्थिक अनुकूलतामा छैनौं। यो वर्ष विश्व अर्थतन्त्रको एकतिहाई हिस्सा मन्दीको मारमा पर्ने प्रक्षेपण छ।
अन्य धेरै आर्थिक सूचकहरु उत्साहजनक छैनन् तैपनि म सबैखालका आमूल सुधारबाट आगामी ५ वर्षमा आर्थिक बृद्धिदर दुई अंकको नजिक पुर्याउने संकल्प गर्दछु।’
उनले आर्थिक पुनरुत्थानका प्याकेज कार्यक्रममार्फत लगानीमैत्री वातावरणको निर्माण तथा पुँजीगत खर्चको अभिवृद्धि गर्दै आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व आफ्नो लक्ष्य हुने बताए।
बैंकिङ प्रणालीमा विद्यमान तरलता संकुचनको समस्यालाई सम्बाेधन गर्न वित्तीय तथा मौद्रिक उपकरणहरूको उपयोग गरिने, वैदेशिक मुद्रा सञ्चितिमा परेको चापलाई समाधान गर्न तरलता र कर्जा प्रवाहको शिथिलतालाई सुधार गरिने, आर्थिक पूर्वाधार विकासमा सरकारी लगानी बढाइने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
व्यावसायिक वातावरणमा सुधार ल्याउँदै लगानीका लागि पुँजीको सहज उपलब्धता हुने प्रबन्ध मिलाउने र सहकारिताको माध्यमबाट बचतलाई प्रोत्साहन गर्दै स्वरोजगार प्रवर्धन एवं आयआर्जनका कार्यक्रम सञ्चालनमा ल्याउने उनको भनाइ छ।
राजस्व वार्षिक लक्ष्यको करिव २५ प्रतिशतमात्र र अनुदानसहितको श्रोत करिव २७ प्रतिशतमात्र संकलन भएको, चालु खर्च करीव ३३ प्रतिशत र पुँजीगत खर्च जम्मा ११ प्रतिशत रहेको, वैदेशिक अनुदानको वार्षिकलक्ष्य जम्मा ६ प्रतिशत पूरा भएको बताए। ‘लक्ष्यअनुसार राजस्व नउठ्दा, पुँजीगत खर्चै नहुँदा र बेरुजु बढिरहँदा वित्तीय प्रशासनको पूरै चक्र समस्याग्रस्त छ,’ उनले भने ‘तैपनि म सबैखालका आमूल सुधारबाट आगामी ५ वर्षमा आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्याउने संकल्प योसंसदसामु व्यक्त गर्दछु।’