काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिंङ गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेको भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताएका छन्।
काउन्सिलमा नयाँ अनलाइनहरुका लागि शुक्रबार आयोजित कार्यक्रममा नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरूरी भएको उनले बताए।
‘कतिपय सञ्चार माध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ। पर्याप्त प्रमाण पुर्याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारबाही हुनेछ,’ अध्यक्ष बस्नेतले भने। अनलाइन र युट्युव च्यानलहरूमा पत्रकारिताको रोगकै रूपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरूद्ध कदम चालिरहेको उनको भनाइ थियो।
प्रेस काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको शुक्रकार १८ औं श्रृङ्खला सम्पन्न गरेको छ। कार्यक्रममा विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताए।
पण्डितले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिल जस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव दिए। ‘काउन्सिलले ल्याएका नयाँ मापदण्ड, अभिमुखीकरण कक्षा जस्ता कदमले पत्रकारलाई उत्तरदायी बनाउन ठूलो मद्धत पुर्याएको छ। अझै नियमन जरूरी छ,’ उनले भने।
‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा विषय विज्ञको रूपमा उनले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानहरूबारे जानकारी दिए।
काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता २०७३ ९पहिलो संशोधन, २०७६० अन्तर्गत रहेका पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे प्रष्ट पारे। अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने बताए। कार्यक्रमको सहजीकरण गर्दै काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिए।