काठमाडौं - धुलिखेल अस्पतालमा बिहीबार राति उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ।
अस्पताल स्रोत अनुसार राति साढे ९ बजे अस्पताल पुर्याइएकी बिरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो। उनलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालमा गरिएको परीक्षणमा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे।
सिन्धुपाल्चोक बाह्रबिसे-९ की २९ वर्षिया ती महिला एक साताअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन्।अस्पतालबाट डिस्चार्च भएर घर गएकी उनमा सास फेर्न समस्या आएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल ल्याएकोमा त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको हो।
महिलामा कोरोनाको लक्षण देखिएपछि अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ। पुन:पुष्टिका लागि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।
महिलामा ज्वरो, खोकी देखिएको र सुत्केरीपिछ धेरै रक्तस्राव भएको उनका आफन्तले जानकारी दिएका छन्।
यद्यपि ती महिलाको मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पुष्टि गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको छ।
अहिले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ।
मृतक महिलाको बच्चा धुलिखेल अस्पतालमै रहेको र उनमा पनि संक्रमण रहे नरहेको एकिन गर्न नमुना संकलन गरिएको छ।