त्रिवेणी । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट ३ करोड बढी राजस्व संकलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट ३ करोड २२ लाख ४८ हजार १ सय २ रूपैयाँ राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामग्री निन्त्रणबाट उक्त राजस्व संकलन भएको उनले बताए । पाँच महिनाको अवधिमा २० पटक भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा लिइएको थियो ।
नवलपरासीसहित रुपन्देहीका विभिन्न सीमानाकाबाट भन्सार छलेर ल्याइएका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो । कपडा, सवारीसाधनका पाटपुर्जा, किरानाका सामान, युरिया, चिनी, भाँडाकुँडालगायतका सामग्री नियन्त्रणमा लिइएको थियो ।
यस अवधिमा प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ७९ वटा सवारी नियन्त्रणमा लिएको र कारबाहीबाट १३ लाख ९ हजार रूपैयाँ राजस्व असुल गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तिवारीले बताए ।
उनका अनुसार पाँच महिनाको अवधिमा जुवातासका सातवटा मुद्दामा ४४ जनालाई कारबाही गरी १ लाख ८७ हजार २ सय ४४ रूपैयाँ राजस्व संकलन गरिएको छ । यस्तै २७ जना फरार प्रतिवादी पक्राउ गरी ११ वर्ष ९ महिना तीन दिन कैद सजाय र ६ लाख ९५ हजार ५ सय ७२ रूपैयाँ राजस्व असुल गरिएको उनले बताए।
प्रमुख तिवारीका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा लागुऔषधका ३२ मुद्दा दर्ता भएका छन् । भारतीय सीमाबाट लागुऔषध भित्राएर नवलपुर हुँदै देशका विभिन्न सहरमा लैजाने गरेको पाइएकाले यसको नियन्त्रणका लागि आफूहरु चनाखो भएर लागेको उनले बताए ।
“खासगरी लागुऔषध ओसारपसार यो बाटोबाट धेरै हुने गरेको घटनाक्रमले समेत देखाएको छ, हामी नियन्त्रणका लागि विषेश निगरानी गरेका छौँ”, जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख तिवारीले भने ।
जिल्लामा पाँच महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ९६ वटा मुद्दा दर्ता भएको उनको भनाइ छ । विशेषगरी लागुऔषध, सवारी दुर्घटना र आत्महत्याका घटना धेरै हुने गरेको तथ्यांकले देखाएको छ । रासस