काठमाडौं । आर्थिक वर्ष २०७९/८० को चार महिनामा वस्तु आयात र निर्यात दुवै घटेको छ। कात्तिक मसान्तमा वस्तु आयात १८.१ र निर्यात ३३.३ प्रतिशतले घटेको हो।
यस अवधिमा वस्तु निर्यात ३३.३ प्रतिशतले घटेर ५४ अर्ब ७७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो। त्यसैगरी वस्तु आयात १८.१ प्रतिशतले घटेर ५ खर्ब ३२ अर्ब ६९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले घटेको छ। अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टीकल बोर्ड, ऊनी गलैंचा, चिया, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडालगायतका वस्तुको निर्यात घटेको छ।
मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ ।
यस्तै सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस विलेट, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात घटेको छ। निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ जलेश्वर बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात घटेको छ।
कात्तिकसम्म कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेर ४ खर्ब ७७ अर्ब ९२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६.८ प्रतिशतले बढेको थियो। त्यसैगरी निर्यात–आयात अनुपात १०.३ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.६ प्रतिशत थियो।