सोमबार, जेठ २७, २०८२

बिनाहतियार कर्णालीले कसरी जित्ला कोरोनासँगको युद्ध ?

कर्णालीमा पीसीआर परीक्षण मात्रै होइन, कोरोनाको द्रुत परीक्षण अर्थात् र्‍यापिड टेष्ट पनि किट अभावकै कारण प्रभावकारी बन्न सकेको छैन । लकडाउनकै अवधिमा ५० हजार बढी नागरिक गाउँ फर्किंदा समूहमा र्‍यापिड टेष्ट गर्नुपरेको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

देव राना

देव राना

आइतबार, वैशाख २८, २०७७

विश्व समुदाय नै कोरोना भाइरससँग लडिरहेको छ अहिले । लडाइँको अग्रमोर्चामा छन् स्वास्थ्यकर्मीहरु । नेपाल पनि कोरोनाबाट अछूतो छैन। अहिलेसम्म ११० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ र संक्रमितको संख्या बढ्दो क्रममा पनि छ।

कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा उपकरण उपलब्ध छैन। कर्णालीका स्वास्थ्यकर्मीहरु त झन् हतियार बिनाका सिपाहीजस्तै बनेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन डेढ महिना नाघिसक्दा पनि कर्णालीमा किटको अभाव कायमै छ । कोरोना संक्रमित भए–नभएको चेकजाँच गर्ने तीनवटा हतियार अर्थात् पीसीआर मेसिन छन् । तर ती गोली सकिएको बन्दुकजस्ता भएका छन् ।

छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना संक्रमित भेटिएकै दिनदेखि कर्णालीमा भीटीएम (भाइरल ट्रान्सफर्म मिडियम) किट, प्रोसेसिङको लागि चाहिने आरएनए एक्स्ट्रयाक्सन किट र रिएजेन्ट किटको अभाव छ ।

जसले गर्दा हप्ता दिनदेखि सुर्खेतका पीसीआर मेसिनबाट नमुना परीक्षण हुन सकेको छैन । ‘कोरोनाको त्रास बढेकै बेला किटको अभाव भयो,’ प्रदेश स्वास्थ निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले भने, ‘समयमै किट व्यवस्थापन नहुँदा हामीहरु हतियार बिनाको सिपाहीजस्तै हुनुपरेको छ ।’ विदेशबाट सात हजारभन्दा बढी नागरिकहरु गाउँ फर्कंदा एक हजार ६९ जनाको मात्रै पीसीआर परीक्षण गरिएको उनले जनाए ।

त्यसो त कर्णालीमा पीसीआर परीक्षण मात्रै होइन, कोरोनाको द्रुत परीक्षण अर्थात् र्‍यापिड टेष्ट पनि किट अभावकै कारण प्रभावकारी बन्न सकेको छैन । लकडाउनकै अवधिमा ५० हजार बढी नागरिक गाउँ फर्किंदा समूहमा र्‍यापिड टेष्ट गर्नुपरेको छ ।

यता कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले भने अन्तर्राष्ट्रिय बजारमै किट अभाव भएका कारण खरिद गर्न समस्या भएको बताउँदै आएको छ । ‘भीटीएम, आरएनए एक्स्ट्रयाक्सन र रिएजेन्ट किट अन्तर्राष्टिय बजारमै अभाव छ,’ स्वास्थ्य निर्देशक रीता भण्डारी भन्छिन्, ‘प्रदेशले चाहेर पनि किटहरु खरिद गर्न सकेको छैन ।’

तर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना विरुद्धको लडाइँमा उच्च मनोवलका साथ सहभागी हुन चिकित्सकहरुलाई निर्देशन दिएका छन् । शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेर मुख्यमन्त्री शाहीले कोरोना विरुद्धको लडाइँ जित्न चिकित्सकहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवबिक्रम बुढाथोकीले दिएको जानकारीअनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकको उच्च सावधानीका कारण हालसम्म कर्णाली प्रदेशमा कोरोनासँगको लडाइँ जीत हासिल गरिरहेको बताए । देशभर कोरोना संक्रमित बढ्दै जाँदा कर्णालीमा हुन सक्ने चुनौतीलाई सामना गर्न निर्णायक भूमिका स्वास्थ्यकर्मीहरुको हुने तर्क गरे ।

‘सशस्त्र युद्धको अग्रमोर्चामा सिपाहीको जस्तो भूमिका कोरोना विरुद्धको लडाइँमा तपाईंहरुको छ,’ मुख्यमन्त्री शाहीले चिकित्सकहरुलाई भने, ‘तपार्इंहरु उच्च मनोवलका साथ आफ्नो भूमिका पूरा गर्नुस् ।’

कोरोनाले निम्त्याएको संकट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली गाउँ–गाउँमा पठाउने निर्णय गरेको बताउँदै मुख्यमन्त्री शाहीले हरेक वडा वडामा पुगेर जनचेतना निर्माण, कोरोना परीक्षण गर्नुपर्ने समय आएको बताए ।

छलफलमा चिकित्सकहरुले कोरोनाविरुद्ध लड्न चाहिने हतियार अर्थात् किटहरुको सहज आपूर्ति गर्न सल्लाह दिएको प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेलले जानकारी दिए ।

‘मुख्यमन्त्रीले कोरोना संक्रमति छन्–छैनन् भनेर यकिन गर्न गाउँ–गाउँमा गएर स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव सुनाउनु भयो,’ डाक्टर पौडेलले भने, ‘परीक्षणको दायरा बढाउन किट र सुरक्षा सामग्रीहरुको अभाव नहुने वातावरण बनाउन सुझाव दिऔँ ।’

अहिले कर्णालीको समग्र स्वास्थ्य अवस्था सुधार्ने उपयुक्त समय भएको बताउँदै स्वास्थ्य नीति नै बलियो बनाउनुपर्ने सुझाव दिएको डा. पौडेलेले बनाए । ‘कोरोना त्रास कर्णालीका लागि सरकारी स्वास्थ्यसंस्था सुधार्ने अवसर हो,’ चिकित्सकहरुले दिएको सुझावलाई उद्धृत गर्दै उनले भने, ‘तत्कालिन समस्या समाधानभन्दा पनि समग्र स्वास्थ्य नीति नै बलियो बनाउन सुझाव दिएका छौँ ।’ चिकित्सकको क्षमता अभिवृद्धि, अस्पतालको स्तरोन्नति र जनशक्तिको पद पूर्तिको व्यवस्था मिलाउन प्रदेश सरकारलाई सुझाव दिएका थिए ।

प्रकाशित: May 10, 2020| 17:05 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।