काठमाडौं। सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलमा लगाएकाे आयात प्रतिबन्ध फुकुवा हुने भएकाे छ। मंगलवार बसेको मन्त्रिपरिषदको बैंठकले मंसिर २९ देखि लागू हुने गरी आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे। यससँगै पुस १ गते बाट यी सामान आयात गर्न पाउनेछन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले पुसबाट आयात फुकुवा गर्ने गरी निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषदमा आयात प्रतिबन्धको विषयमा छलफल भएको र पुसबाट फुकुवा गर्ने गरी निर्णय गर्न सम्बन्धित मन्त्रालय र मन्त्रीहरुलाई अधिकार दिएको बताए।
सरकारले सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका वस्तुहरूको आयात प्रतिबन्ध यथावत राखिएको थियो।
आयात प्रतिबन्ध हटाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयात प्रतिबन्ध फुकुवा गर्ने विषयमा प्रस्ताव मन्त्रिपरिषदमा राखेका थिए।
मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ।