काठमाडौं। आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा प्रदेश १ मा आउने पर्यटकको संख्या उलेख्य बढेको छ।
असार मसान्तसम्ममा यस प्रदेशमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या उल्लेख्य बढेको हो। प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदनमा आन्तरिक पर्यटकको संख्या ५८.४ प्रतिशत र बाह्य पर्यटकको संख्या ३०८.३ प्रतिशतले बढेको देखाउँछ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नम्बर १ मा कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेर १० लाख ४१ हजार १ सय ८६ हेक्टर कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १.५ प्रतिशतले बढेको थियो। असार मसान्तसम्ममा मकै, गहुँ र कोदोले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ।
असार मसान्तसम्ममा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.६ प्रतिशत, तरकारी बालीको ५.४ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७.० प्रतिशत रहेको छ। कृषि उपजले ढोकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६ प्रतिशत रहेको छ।
त्यसैगरी धान बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले बढेको छ भने मकै बालीले ढाकेको क्षेत्रफल २.२ प्रतिशत, गहुँ बालीले ढाकेको क्षेत्रफल ७.५ प्रतिशत र कोदो बालीले ढाकेको क्षेत्रफले ३.५ प्रतिशतले घटेको छ। असार ससान्तसम्ममा कृषि बालीको उत्पादन १.४ प्रतिशतले घटेको छ। विशेष गरी खाद्य बाली अन्तर्गतका धान, गँहु र आलुको उत्पादन घटेकाले समग्र कृषि बालीको उत्पादन घटेको देखिन्छ।
असारसम्ममा खाद्य तथा अन्य बालीको उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.९ प्रतिशतले घटेको छ। खाद्य बाली अन्तर्गत धान उत्पादन ३.३ प्रतिशत र गहुँ उत्पादन ९.६ प्रतिशतले घटेको छ भने मकैको उत्पादन १.६ प्रतिशते बढको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीे बाली उत्पादन ९.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तोउत्पादन १.२ प्रतिशतले घटेको थियो।
त्यसैगरी असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नम्बर को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले वृद्धि भई ५४ अर्ब ५२ करोड पुगेको छ। २०७९ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.० प्रतिशत रहेको छ।
त्यसैगरी यस प्रदेशको उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत छ। अघिल्लो वर्षको असारमसान्तमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो। असार मसान्तसम्ममा गार्मेण्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पल उत्पादन गर्ने उद्योगको क्षमता घटेको छ।
त्यसैगरी तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२ प्रतिशत र वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा २०७९ असार मसान्तमा कुल औद्योगिक कर्जा १६.५ प्रतिशतले घटेर १ खर्ब २१ कायम भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ११.५ प्रतिशतले बढेको थियो। निर्माण, खानी र विद्युत ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको देखिन्छ। २०७९ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहितकर्जाको अंश २२.३ प्रतिशत रहेको छ।
त्यसैगरी होटलहरुको अकुपेन्सी दर ४०.४ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशतले बढेको देखिएको छ।अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरुको औसत अकुपेन्सी दर १४.८ प्रतिशत रहेको थियो। सोही अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका थप १४४ वटा शाखा विस्तार भएका छन्।
२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा प्रदेश नम्बर १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा १३.२ प्रतिशतले वृद्धि भई कुल ५ खर्ब ४४ अर्ब रूपैयाँ पुगेको छ। २०७९ असार मसान्तमा प्रदेश नम्बर १ को कर्जा निक्षेप–अनुपात १४८.४ प्रतिशत रहेको छ। २०७८ असार मसान्तमा प्रदेश नम्बर १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३८.७ प्रतिशत रहेको थियो।
२०७९ असार मसान्तसम्म प्रदेश नम्बर १ मा पुनरकर्जा र सहुलियतपूर्ण कर्जाको बक्यौता रकम क्रमशः १३ अर्ब ३ करोड र ३६ अर्ब २ करोड पुगेको छ। असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६७.७ प्रतिशत छ।
त्यसैगरी असार मसान्तसम्ममा यस प्रदेशमा ९० कि.मि. सोलु कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजना र कोसी करिडोर अन्तर्गतको १०६ कि.मि. ईनरुवा—बसन्तपूर—बानेश्वर—तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजना र कोशी–तमोर कोरिडोर सडक आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ।