आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अचानक कसरी फैलियो कोरोना ? विज्ञ भन्छन्– अब केही भन्न सकिन्न

अचानक कसरी फैलियो कोरोना ? विज्ञ भन्छन्– अब केही भन्न सकिन्न

संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरमा ३१ जना उपचाररत छन् भने विरगञ्जमा २६ जना, नेपालगञ्जमा २३ जना उपचाररत छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, वैशाख २५, २०७७

नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना संक्रमण देखिइसकेको छ। तीमध्ये २२ जना निको भएर फर्किए पनि संक्रमण मुक्त भएका ३ जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्। हाल संक्रमणमुक्त हुनेको संख्या १९ रहेको छ।

संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरमा ३१ जना उपचाररत छन् भने विरगञ्जमा २६ जना, नेपालगञ्जमा २३ जना उपचाररत छन्।

नेपालगञ्ज, विरगञ्ज र उदयपुरमा एकैपटक ठूलो संख्यामा संक्रमितहरु बढ्न थालेपछि यसले भयावह स्थिति सिर्जना गर्ने आंकलन जानकारहरुले गरेका छन््।

नेपालगञ्जमा एक जनामा संक्रमण देखिएपछि उनको नजिक सम्पर्कमा रहेका व्यक्तिहरुमा कन्ट्याक्ट ट्रेसिङमार्फत् ९० जनाको परीक्षण गर्दा थप २२ जनामा कोरोना पुष्टि भयो।

भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापा भन्छन्, ‘अब २२ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा कतिमा देखिने भन्ने यकिन छैन। अहिले स्वास्थ्य मन्त्रालय, डब्लुएचओ, स्थानीय निकायले ट्रेसिङ सुरु गरिसकेका छन्। कन्ट्याक्ट ट्रेसिङ गर्दा नेपालगञ्जमा लोकल ट्रान्समिसन भएको डा. थापा बताउँछन्।

तर पनि नेपालमा कोरोनाको दोस्रो चरण हो वा तेस्रो चरण भन्न नसकिने अवस्था रहेको उनको भनाइ छ। परीक्षणको दायरा बढाउँदा संक्रमितहरुको संख्या अवश्य बढ्ने डा.थापा बताउँछन्।

नेपालगञ्जमा बुधबारसम्ममा जम्मा ४ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ।

उता विरगञ्जमा पनि बुधबार एकैपटकमा १७ जनामा कोरोना पुष्टि भयो। मंगलबारसम्म ९ जनामात्रै उपचाररत नारायणी क्षेत्रीय अस्पतालमा बुधबार संक्रमितको संख्या २६ पुग्यो। सुरुमा स्क्रिनिङ गर्दा एक दुई ‘केस’हरु देखिए पनि पछिल्लो दिनको नतिजाले अबको अवस्था भयावह हुने नारायणी क्षेत्रीय अस्पताल विरगञ्जका मेसु डा. मदनमणि उपाध्याय बताउँछन्।

उनी भन्छन्, ‘संक्रमणको अवस्थाको दर यस्तो हो भनेर आंकलन गर्न सक्ने अवस्था भएन। अहिले एकै परिवारका १७ जनामा देखियो, अब परीक्षणको दायरा नबढाउने हो भने भयावह स्थिति आउन सक्छ।’

विरगञ्जमा अहिलेसम्म जम्मा साढे सात सयकोे हाराहारीमा परीक्षण गरिएको छ। सर्लाही, बारा, रौटहटको ‘केस’ गर्दा ७ सय ४० जति परीक्षण गरिएको मेसु उपाध्यायले जानकारी दिए।

उनी भन्छन्, ‘परीक्षण बढाउँदा संक्रमणको दर बढ्छ भन्ने संकेत स्पष्ट देखिएको छ। अहिले सीमित परीक्षण भएको छ। यतिको संख्यामा परीक्षण गर्दा त २६ जना संक्रमित देखिएका छन् भने परीक्षण बढाउँदा अवश्य बढ्छ।’ उनी थप्छन्, ‘विरगञ्जको वडा नं ३ को मात्रै केस भन्दा पनि हुन्छ, अन्य वडाहरुमा पनि संक्रमित हुन सक्छन्।’

विरगञ्जमा पोजेटिभ देखिएका केसहरुको नजिक सम्पर्कमा रहेकाको मात्रै स्याम्पल लिएर परीक्षण गरिएको छ। तर विरगञ्जको अवस्था हेर्दा कन्ट्याक्ट ट्रेसिङ गर्नु, र्‍याण्डम स्याम्पलिङ गर्नु समयको बर्बादी मात्रै हुने उनी बताउँछन्। उनी भन्छन्, ‘कन्ट्याक्ट ट्रेसिङ एकदमै महत्वपूर्ण छ, तर विरगञ्जमा प्रत्येक घरमा र्‍याण्डम स्याम्पलिङ गरी परिक्षण गर्नु जरुरी छ।’

उनका अनुसार विरगञ्जमा किटको अभाव भएकाले ठूलो संख्यामा परीक्षण गर्न सकिएको छैन। ५ हजार किट मगाएकोमा जम्मा ४ सय मात्रै किट अस्पताललाई प्राप्त भएको उनले बताए। ‘हामीले प्रत्येक घरको परीक्षण गर्नुपर्ने अवस्था देखिएको छ। अहिलेसम्म ८ सय परीक्षण गरिसकेका छौं,’ उनले भने।।

जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित पनि कोरोनाको हटस्पट बनेका ठाउँहरुमा परीक्षणको दायरा नबढाई यसको संकेत के हो भन्न नसकिने बताउँछन्।

नेपालकोे कोरोना दोस्रो चरणमै छ भने पनि यो तेस्रो चरण हुनसक्ने उनी बताउँछन्। उनका अनुसार एकै व्यक्तिले त्यति धेरैमा संक्रमण फैलाएको भन्न गाह्रो छ।

‘सायद अझै संक्रमण फैलन सक्छ। यो लोकल ट्रान्समिसन हो, तर अझै कसरी भयो भन्न सक्ने अवस्था छैन। नेपालको संक्रमणको फैलावट, मृत्यदर कस्तो छ भन्ने अझै एकिन नभएको हुँदा संक्रमणको हटस्पट बनेको उदयपुर, विरगञ्ज, नेपालगञ्जमा अझै पनि कम्तीमा ३ हप्ता मानिसलाई आवतजावत गर्न दिनु हुँदैन। परीक्षणको दायरा बढाउनुको विकल्प छैन।’

प्रकाशित: May 07, 2020| 14:00 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।