काठमाडौं। अडिटर्स एसोसिएसन नेपाल (अडान) ले मुलुककाे आर्थिक समस्यालाई बुझेर सबैसँग समन्वय गरी समाधान गर्न सरकारसँग माग गरेकाे छ।
अडानकाे आइतबार बसेकाे दोस्रो केन्द्रीय कार्यसमिति बैठकले बैंक ब्याजमा भएको वृद्धि, आर्थिक मन्दी, जनताको जीवनयापनमा भएको कठिनाई लगायत अर्थतन्त्रका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको हो। अडानकाे छैटौं राष्ट्रिय महाधिवेशनपछि बसेको याे दाेस्राे बैठक हाे।
निर्वाचित सांसदलाई स्वार्थभन्दा माथि उठी जनतामूखी नीति बनाउन, देशको आर्थिक क्षेत्रमा व्यापक सुधारका कार्यक्रम गर्न आग्रह गर्दै अडानले वित्तीय विवरणउपर राय प्रस्तुत गर्ने लेखापरीक्षकलाई आयकर ऐन २०५८ (संशोधन सहित) को दफा १२७ ले मतियार भनी गरेको व्यवस्थालाई तत्काल हटाउन माग गरेको छ।
यस्तै अडानले ‘सहकारी ऐन, २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले देशभरका अन्य कुनै पनि सहकारीहरुमा समेत लेखापरीक्षण गर्न नपाउने भनी गरेको व्यवस्थाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने संवैधानिक र नैसर्गिक अधिकार समेत कुण्ठित भएको हुँदा र अन्य कुनै पेशामा यस्तो प्रकारको व्यवस्था नरहेकोले सो बन्देज तत्काल खारेज गर्न पनि माग गरेकाे छ।
त्यस्तै वरिष्ठ चार्टर्ड एकाउन्टेन्टलाई ‘एफसीए’ मान प्रदान गरिएजस्तै वरिष्ठ रजिष्टर्ड अडिटर्सहरुलाई पनि 'एफआरए'को व्यावस्था गर्न योग्यता र क्षमता भएका सम्पूर्ण दर्तावाल लेखापरीक्षकहरुलाई स्वतस् वर्ग वृद्धि गर्दै लैजान अडानकाे माग छ ।
अडानले अडिटिङ एकाउन्टिङ स्ट्यान्डर्डलाई सरलीकृत गरी सबै नागरिक, उद्योगी व्यवसायीले बुझ्ने बनाई, लेखापरीक्षण कार्यलाई सहज बनाउन पनि अडानले आग्रह गरेको छ ।