आइतबार, असार ८, २०८२

सम्झौताअनुसारको स्वास्थ्य सामग्री अझै आएन, कालोबजारी गरिएको आरोप

कोभिड– १९ को महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारले सम्झौता गरेका कम्पनीले तोकिएको समयभित्रै आपूर्ति गर्न सकेका छैनन्।
 |  सोमबार, वैशाख २२, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, वैशाख २२, २०७७

काठमाडौं- कोभिड– १९ को महामारीका बेला स्वास्थ्य सामाग्री आपूर्तिका लागि सरकारले सम्झौता गरेका कम्पनीले तोकिएको समयभित्रै आपूर्ति गर्न सकेका छैनन्।

यसअघि तोकिएको समयमा सामाग्री आपूर्ति गर्न नसकेको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँगको सम्झौता रद्द गरेपछि फेरि तीनवटा कम्पनीसँग सम्झौता गरेको थियो। ओम्नीले कम गुणस्तरका सामान ल्याएको आरोप समेत लागेपछि यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ।

५ वैशाखमा विभागले करिब ३० करोड रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री खरिदका लागि ओम सर्जिकल, हाम्रो मेडी कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सम्झौता गरेको थियो। तीनवटै कम्पनीले आइतबारसम्म सामान बुझाइसक्नु पर्ने भए पनि दुई कम्पनीले अझै बुझाउन सकेका छैनन्।

समयमै सामान बुझाउन नसकेका कम्पनीले विभागमा म्याद थपका लागि निवेदन दिएका छन्। तीनवटै कम्पनीले म्याद थपका लागि निवेदन दिए पनि लुम्बिनी हेल्थ केयरले भने आइतबार अबेर सामान बुझाइसकेको विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले आइतबार नेपालसमयसँग भने, ‘कम्पनीहरुले पार्सियल (केही) सामान बुझाएका छन्। उनीहरुले विविध कारण देखाई २४ गते बुधबारसम्म म्याद थपका लागि पत्र पठाएका छन्।’

ओम सर्जिकलका रामशरण भण्डारी पनि सम्झौता अनुसारका सामाग्री ल्याउन केही ढिलो भएको बताउँछन्। उनका अनुसार ढिलो हुनुको कारण सहित म्याद थपको पत्र विभागमा पठाइसकिएको छ।

कम्पनीहरुले २८ अप्रिलमा सामान ल्याउने तयारी गरिए पनि चीनको भन्सार नियममा संसोधन भएपछि चार्टर फ्लाइट रद्द भएकोले ढुवानीमा समस्या भएको पत्रमा उल्लेख गरेका छन्। 

डोटेलका अनुसार कम्पनीहरुले म्याद थपका लागि निवेदन दिएका छन्, बाँकी प्रक्रिया कानुन अनुसार अगाडि बढ्छ।

सामाग्री कालोबजारी गरेको आरोप

उता स्वास्थ्य सामाग्रीका केही खुद्रा व्यवसायी भने स्वास्थ्य सेवा विभागका लागि ल्याइएका सामान कम्पनीहरुले कालोबजारी गरिरहेको आरोप लगाउँछन्।

त्रिपुरेश्वरमा स्वास्थ्य सामाग्रीका एक व्यवसायीका अनुसार चीनमा ८४ सेन्ट पर्ने एन नाइन फाइभ मास्कलाई ओम सर्जिकलले बजारमा ३८० रुपैयाँमा थोक मूल्य कायम गरी बिक्री गरिरहेको छ।

ती व्यवसायीका अनुसार ओम सर्जिकलले त्रिपुरेश्वरस्थित उसको कार्यालयको पछाडिको गेटबाट मास्कदेखि थर्मल गन लगायतका सामान बिक्री गरिरहेको छ। उनी भन्छन्, ‘विभागमा नबुझाएर ओमले यस्ता सामाग्री बुटवल र धनगढीसम्म पुर्याएको छ’ उनले आरोप लगाए, ‘हामीले पनि ओम सर्जिकलबाट निकै महंगोमा मास्क लगायतका सामग्री किनेर ल्यायौं, बजारमा माग भएपछि आफ्ना ग्राहकका लागि महंगोमै भएपनि किनेर बेचेका छौं ।’

ओम सर्जिकलका रामशरण भण्डारी भने नियतबस फसाउन खोज्नेले यस्तो गलत आरोप लगाएको बताउँछन्।

भण्डारी भन्छन्, ‘यो सरासर गलत हो, हामीलाई फसाउन खोजिएको हो, नचाहिंदो आरोप लगाउनेलाई हामीले कारबाही गराउन पहल गरिसकेका छौं।’

अहिले ओमले बिक्री गरिरहेका सामान स्वास्थ्य विभागसँग सम्झौतामा उल्लेख सामाग्री नभई ह्याण्डस्यानिटाइजर, अस्पतालमा चाहिने फर्निचर लगायत रहेको उनले दाबी गरे। भण्डारीले भने, ‘गाउन, मास्क, सुज कभर, ग्लब्स लगायतका सम्झौता अनुसारका सामाग्री हामीले बेचेका छैनौ, अहिलेसम्म ल्याइएका सामग्री विभागलाई बुझाइसकेका छौं, बाँकी ६ तारिख (बुधबार)मा विभागलाई बुझाउछौं।’

विभाग व्यवस्थापन महाशाखाका निर्देशक डोटेल ओम सर्जिकलले सामानको कालोबजारी गरेको गुनासो आएपछि संवन्धित पक्षलाई सोध्दा सम्झौतामा भएको सामान विक्री नभएको भन्ने जवाफ आएको बताउँछन्।

सम्झौता अनुसार ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि झण्डै १९ करोड, हाम्रो मेडी कन्सर्नसँग ६ प्रकारका स्वास्थ्य सामग्रीका लागि ९ करोड र लुम्बिनी हेल्थ केयर प्राइभेट लिमिटेडसँग ३ प्रकारका स्वास्थ्य सामग्रीका लागि झण्डै २ करोड रुपैयाँको सम्झौता भएको थियो ।

प्रकाशित: May 04, 2020| 12:50 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्