शुक्रबार, असार ६, २०८२

भेटियाे ‘लहरे सर्प’, अब नेपालमा ८३ प्रजातिका सर्प

नेपालमा सर्पकाे नयाँ प्रजाति भेटिएकाे छ। यसलाइ ‘लहरे सर्प नाम दिइएकाे छ।
 |  बिहीबार, वैशाख १८, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

बिहीबार, वैशाख १८, २०७७

काठमाडाैं- नेपालमा सर्पकाे नयाँ प्रजाति भेटिएकाे छ। यसलाइ ‘लहरे सर्प नाम दिइएकाे छ। लहरे सर्पसहित नेपालमा ८३ प्रजातिका सर्प अभिलेख भएका छन् । जसमा १७ प्रजाति विषालु छन् ।

‘यो प्रजातिको सर्प भारतमा गत वर्ष पहिलो पटक भेटिएको थियो,’ प्राणीशास्त्री प्राध्यापक करनबहादुर शाहले भने, ‘सुरुमा उडिसा र राजस्थानमा फेला परेको सो सर्प प्रजाति पछि गुजरातमा भेटिएको थियो।’

सर्प विज्ञ शाहका अनुसार सो सर्प लौकाको सुकेको डाँठजस्तै देखिन्छ । उडिसामा लौकालाई स्थानीय भाषामा लौडङ्का भनिने हुँदा सो प्रजातिको नाम अहेतुल्ला लौडाँकिया राखिएको छ ।

यो प्रजातिमा विषको मात्रा प्रखर नहुने भएकाले यसको टोकाइबाट मानिसको ज्यान नजाले शाहले बताए। ‘विषालु सर्प करेत कोब्राको अगाडि दाँत हुन्छ। यसको पछाडि दाँत हुने ब्याक फ्याङ भएकाले विष कडा हुँदैन,’ शाहले भने।

स्थानीयवासीले सुगा वा उडुवा सर्प भन्ने उक्त प्रजाति पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको प्राणी अद्यावधि अध्ययनमा संलग्न नेपाल प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले नेपाल समयलाई बताए।

‘सन् २०१७ देखि २०१९ सेप्टेम्बरसम्म भएको अध्ययनमा शुक्लामा ७१ नयाँ प्रजाति भेटेका थियौं,’ उनले भने, ‘त्यसमा एउटा प्रजाति भने देशकै लागि नयाँ भयो।’

अध्ययनमा शुक्लाफाँटामा १० प्रजातिका सर्प र ४ प्रजातिका भ्यागुतासहित भीर छेपारो, भालेमुङग्रो, कछुवाका एक एक प्रजाति थप भेटिएको उनले बताए। उक्त सर्पलाई रेञ्जर यामबहादुर रावतले फेला पारेका हुन्।

सो अध्ययनमा भट्टराईसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेन्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषकै अनुसन्धानकर्ता नरेश सुवेदी सहभागी थिए।

नेपालमा पहिलोपटक शुक्लाफाँटा निकुञ्जमा देखिएको यो प्रजाति पछि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि भेटिएको भट्टराईले बताए।

पछिल्लोपटक सो प्रजाति चितवन राष्ट्रिय निकुञ्जको पटना ताल र लामीताल क्षेत्रमा पनि देखिएको उनले बताए।

यो प्रजाति दिउँसो सक्रिय हुने, रुख, लहरा तथा अग्ला खर घारीमा बस्छ। सुकेको लहराजस्तै रंगरुपको हुने भएकाले यो प्रजाति सजिलै ठम्याउन सकिँदैन। ‘भर्खर भेटिएको प्रजाति भएकाले यसको बारेमा धेरै जानकारी उपलब्ध छैन,’ भट्टराईले भने, ‘घाँसे मैदान व्यवस्थापन गर्न आगो लगाउने गरेका छौं। त्यसो गर्दा यो प्रजातिलाई के असर परेको छ भनेर पनि अध्ययन गर्नुपर्ने देखिन्छ।’
नेपालमा हरियो लहरे सर्प मात्र पाइने गरेकामा यो खैरो लहरे सर्प नेपालका लागि नयाँ मानिएको छ। ‘यसअघि फेला परेको सर्पको रंग हरियो र मुख सुगाको जस्तै चुच्चो हुने हुँदा यसलाई सुगा सर्प नाम दिइएको थियो,’ सर्पविज्ञ शाहले भने, ‘योचाहिँ लहरामा बस्ने भएकाले लहरे सर्प नाउँ दिइएको छ।’

उक्त नयाँ प्रजातिको सर्प तथा शुक्लाफाँटामा भेटिएका नयाँ प्रजातिबारे ‘जर्नल अफ थ्रेटन टेक्सा’ मा २०२० अप्रिलमा अनुसन्धान लेख प्रकाशित भएको थियो।

प्रकाशित: Apr 30, 2020| 11:39 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।