आइतबार, असार ८, २०८२

भाइरसभन्दा भोक ठूलो, भोकभन्दा सन्तान

उनीहरु एक छाक खानाको लागि पनि सडकमा कहाँ खाना बाँडेको छ भन्दै भौतारिरहेका छन् ।
 |  मंगलबार, वैशाख १६, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, वैशाख १६, २०७७

कोरोनाको कहरसँगै सुनसान बनेका सहरका गल्लीहरुमध्ये काठमाडौंको बागबजार पनि एक हो। लाखौं नेपालीको आशाको केन्द्र काठमाडौं यतिबेला आफैँ मौन छ।

त्यहि मौनताको साक्षी हो बागबजारभित्रको एउटा साँघुरो गल्ली। बागबजारस्थित भक्तपुर बसपार्क नजिकैको गल्लीबाट पुग्न सकिन्छ शोभा कार्कीको कोठामा। यो कोठा र यसमा बस्नेहरुको पनि आफ्नै कथा छ।

मध्यम खालको एउटा कोठा, जहाँ ५ जनाको परिवार बस्छ। दोलखा स्थायी ठेगाना भएकी शोभाको दैनिकी काठमाडौंमा अर्काको घरमा कपडा धुने, सरसफाई गर्ने गर्दै गुजारा हुन्थ्यो, उनका श्रीमान् पनि मजदुरी गर्थे।

तीन छोराहरुको भविष्य बनाउनको लागि उनीहरु निरन्तर लागिरहे। तर यतिबेला उनीहरुको दैनिकी भताभुंग भएको छ। लकडाउन भएसँगै उनीहरुलाई खानकै लागि पनि समस्या भएको छ। खान भन्दा पनि अर्को ठूलो समस्या आइपरेको छ, उनीहरुको जिन्दगीमा।

७ वर्षदेखि थालेसिमीयाले थलिएका माइला छोराको उपचारको लागि निकै सकस भएको छ उनलाई। माइला छोरा अहिले जम्मा १४ वर्षका छन्। एक छाक खानाकै लागि संघर्ष गरिरहनुपरेको समयमा छोराको उपचारको लागि पैसा नहुँदा छोराको जीवन के हुने हो भन्ने छटपटी छ उनीहरुमा।

लकडाउनपछि श्रीमान् श्रीमती दुवैले दैनिक गर्ने कामबाट हात धुनुपर्यो। ‘एक महिना भन्दा बढी भइसक्यो, एक रुपैयाँ पनि कमाइ भएको छैन,’ शोभा भन्छिन्, ‘आफूहरुले काम नपाएपछि जेठा र कान्छा छोरालाई दोलखा पठाएर माइला छोराको उपचारको लागि काठमाडौंमै बसिरहेका छौँ। काम नभएको पनि एक महिना भन्दा बढी भयो, आम्दानीको कुनै श्रोत छैन। छोराको उपचारको लागि मासिक १० हजार बराबरको औषधि लाग्छ, कोठाभाडा तिर्नैपर्छ।’

उनीहरु एक छाक खानाको लागि पनि सडकमा कहाँ खाना बाँडेको छ भन्दै भौतारिरहेका छन्।।

केही दिनयता शोभा कार्की हरेक दिन बागबजारको सडकमा निस्कन्छिन् र विभिन्न संस्थाहरुले उपलब्ध गराएको खाना लिएर कोठामा पुग्छिन्। कोठामा पुग्दा छोरो खाना पर्खिरहेको हुन्छ। आँखाभरी आँशु बनाउँदै शोभा छोरालाई खाना खुवाउन थाल्छिन्– ‘यसकै जीवन बचाउन खेत बेचेर उपचार गरेँ।’

समय–समयमा शरीरमा रगत चढाइरहनुपर्ने भएकोले गाउँ पुगेर पनि काठमाडौं नै फर्किनुपर्यो। लकडाउनको अघिल्लो दिन राजधानी छाडेका उनीहरु जिल्लामा भनेजस्तो छोराको उपचार गर्न नपाएपछि बाध्यताको बन्धनमा बाँधिएर फेरि बागबजारकै साँघुरो कोठामा आइपुगे।

आर्थिक अवस्था कमजोर भएकै कारण जेठा र कान्छा छोरालाई भने गाउँमै छाडेर आएका छन्। माइला छोराको उपचारको लागि राजधानी आइपुगेका उनीहरुलाई छोराको उपचारले त सताएकै छ, कोठामा खाने अन्नसमेत नभएपछि हरेक बिहान–बेलुका विभिन्न संस्थाहरुले बाँड्ने खानेकुराले छाक टारिरहेका छन्।

शोभा भन्छिन्, ‘अहिले खानाकै समस्या पर्यो, झन् छोराको उपचार कसरी पो गर्ने ? डाक्टरले पनि छोराको बाँच्ने समय २० देखि ३० वर्ष भनि तोकिदिएका छन्, तर पनि सास रहुन्जेल आश मर्दो रहेनछ।’

उनी थप्छिन्, ‘खेतबारी सबै बेचेर उपचार गराएका छौँ, अब त बेच्ने कुरा पनि केही छैन। एक पटक औषधि नखुवाउँदा पनि बेहोस हुन्छ। औषधिले नै बाँचेको छ। भन्न त कान्छो छोराको पनि शरीरमा रगत कम छ भनेका छन्। उपचार गर्ने खर्च नहुँदा उसलाई जँचाउन पनि सकिएको छैन। कसैले आर्थिक सहयोग गरे भोक मेटाउन भन्दा पनि सजिलो हुन्थ्यो कि ?’

मान्छेलाई पीडाले पछ्याएपछि भोक र निन्द्राले पनि नपत्याउँदो रहेछ। हातमा दुई भागमात्रै खाना बोकेर कोठामा फर्कंदै गरेकी शोभाले भनिन्, ‘मलाई त न भोक लाग्छ, न निन्द्रा। रातदिन छोराकै पिरले अघाएको छु।’

प्रकाशित: Apr 28, 2020| 17:58 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।